कुनै पनि समस्याहरूको आयु उत्पतिको समय र आयामले निर्धारण गर्छ । कोरोनाको उत्पति विकासको धेरै नै फराकिलो आयतन भएको अवस्थामा भएको हुनाले यसले सारै छिटो मौलाउन पायो । कसरी भने अहिले संसारमा विकास हिँडिरहेको छैन उडिरहेको छ । कुनै पनि यात्री हिँड्दा भन्दा उड्दा धेरै छिटो टाढा पुग्न सक्छ ।


कोरोना उड्ने विकाससँगै उडेर संसारभर फैलियो । यदि यो उड्ने जमाना नभएर हिँड्ने जमाना थियो भने यति छिटो कोरोनाले संसार भ्रमण गर्न सक्दैन थियो । कोरोना उडेर नेपाल पनि आयो । संख्याको हिसाबले र क्षतिको हिसाबले त अरु देशको तुलनामा नेपाल सुरक्षित छ । तर नेपाल आफैमा आन्तरिक रुपमा मजबुत नभएको देश हुनाले यदि कोरोना जस्तो खतर्नाक बाह्य शक्तिले ठूलो आक्रमण गर्ने हो भने फेरि उभिन गाह्रो हुन्छ ।
हुन त नेपालले महाभूकम्पको हाहाकार सहेको चार वर्ष मात्रै बित्दै छ । भूकम्पले नेपालमा दशौँ हजार मानिस मा¥यो । लाखौँ मानिसलाई घरबारबिहीन बनायो । नेपालीहरू निक्कै कडाकडा चोट सहन अभ्यस्त पनि छन् । २०७२ सालको भूकम्पको हाहाकार, हाहाकारसँगै भारतले लगाएको नाकाबन्दी र नाकाबन्दीले सिर्जना गरेको अभाव समेत हामी नेपालीले हाँसीहाँसी सहेका हौँ । त्यसैले हामी सचेत हुन र समस्याको सामना गर्न अभ्यस्त छौँ ।
कोरोनाले संसार ग्रस्त छ । यसकारण कोरोना संसारको टाउको दुखाइको विषय बनेको छ । संसारले कोरोनाको पीडा खेपिरहँदा नेपालमा पनि त्यस्तो स्थिति आउँदैन भन्न त सकिँदैन तर पनि नेपालको असली र वास्तविक समस्या कोरोना होइन । नेपालको वास्तविक र असली समस्या भनेको मात्रै भ्रष्टाचार हो ।


कोरोना त संसारकै समस्या हो । यसको समाधान खोज्न त संसार लागेको छ । त्यसभित्र नेपालको पनि कोरोना समस्या समेटिन्छ । संसारले कोरोनाबाट मुक्ति पाउँदा नेपालले पनि पाउँछ । तर नेपालको भ्रष्टाचार नेपालीको मात्रै समस्या हो । यो समस्यामा संसारका अरु देशले साझेदारी गर्दैनन्, बरु यो कमजोरीलाई आफ्नो हतियार बनाउन सक्छन् । यो समस्याको हल पनि नेपालीले मात्रै खोज्ने हो, नेपालको भ्रष्टाचारको हल विदेशीले खोजिदिँदैनन् । अथवा स्पष्ट भनौँ नेपालको “भ्रष्टाचार” नामक रोगको आँैषधी विदेशबाट पैसामा किनेर ल्याएर प्रयोग गर्न सकिँदैन ।
यो भ्रष्टाचारको महामारी वर्षौदेखि चलिरहेको छ । यो महामारीले कतिको ज्यान खायो हिसाब किताब छैन । ग्रामीण विकासको स्नातकोत्तर तहको एउटा विषयको एउटा अनुच्छेदमा ‘भ्रष्टाचार गर्नु भनेको मान्छे मार्नु भन्दा ठूलो अपराध हो । हत्या गर्ने हत्याराले कतिजनाको हत्या गर्न सक्छ ? तर भ्रष्टाचारले एकै पटक सयौँजनाको हत्या गर्नसक्छ ।’ भन्ने आशय उल्लेख गरिएको छ । नेताहरू “भ्रष्टाचार हाम्रो शत्रु हो” भन्दै भ्रष्टाचार नै गरिरहेका छन् ।
साँच्चै कोरोना हाम्रो मात्रै समस्या होइन, यो संसारको साझा समस्या हो । यो छोटो समयमा सारै मौलायो त्यसैले पनि यसले सारै धेरै शत्रु पनि कमायो । अब संसार यसको विरुद्धमा छ । यसको आयु अब धेरै लामो रहने छैन । तर नेपालको भ्रष्टाचार सखुवाको रुख जस्तै हो । एउटा सालको विरुवा पलाएर, हुर्केर सखुवाको रुख हुन सयौँ वर्ष लाग्छ । त्यसरी नै नेपालको भ्रष्टाचार पनि सयौँ वर्षदेखि विस्तारै हुर्केर उमेर पुग्दै अहिले सखुवा जस्तै बलियो भएको छ । जसरी सालको बिरुवा सखुवा भएपछि मक्काउन वर्षौँ लाग्छ त्यसरी नै नेपालको भ्रष्टाचारको रुख मक्काउन त्यति सजिलो छैन ।
नेपालको भ्रष्टाचारको कुनै भ्याक्सिन छैन । भ्रष्टाचारको अनुगमन गर्ने संवैधानिक निकायहरू हुन् तर ती निकायहरूका पदाधिकारी फेरि राजनीनैतिक नियुक्तिबाट नै आउँछन्, प्रतिस्पर्धाबाट होइन । र तिनीहरू समेत भ्रष्टाचारी प्रकृयाबाटै आएका हुनाले तिनीहरूले रोक्दैनन्, बरु सहयोग गर्छन् ।
भ्रष्टाचारको चरम विन्दु भनेको इदिअमिनको स्थान हो । र इदिअमिनहरूलाई उनीहरूका अनुयायीहरूले काँधमा बोकेर यसका लागि प्रोत्साहन गरिहन्छन् । न त इदिअमिनहरू अनुयायीहरूको आलोचना सहन सक्छन्, न त अनुयायीहरू इदिअमिनहरूको आलोचना गर्ने हिम्मत नै राख्छन् ।
नेपालको भ्रष्टाचार र भ्रष्टाचारीहरूको अवस्था यो भन्दा कम छैन । नेताहरू खुलेआम भ्रष्टाचार गरिहेका छन् । करोडौँको बर्गेनिङ गर्नेहरू प्रतिष्ठित छन् । उनीहरूलाई कसैले छुँदैन । उनीहरूको आलोचना गर्नेका विरुद्धमा भ्रष्टाचारीका अनुयायीहरू खनिन्छन् । तर भ्रष्टाचार गर्नु अपराध हो भन्न सक्दैनन् । यसको एउटै कारण छ लोभ ।
यी अनुयायीहरू नेपालको राजनीतिलाई बुझेर नयाँ परिवर्तन र विकासका लागि राजनीतिमा लागेका छैन् । यिनीहरू नेताहरूका आलिसान घर, बङ्गला, ऐश्वर्य, देश विदेशको सरकारी भ्रमणको लालचा, ठेक्कापट्टा, कमिसन, तस्करी, गुण्डागर्दीलाई वैधानिक तरिकाले गर्न राजनीतिमा लागेका छन् । उनीहरूले अहिले ती नेताको विरोध गर्दा पार्टीबाटै निष्काशन हुनुपर्ने डर छ । त्यसपछि माथि उल्लेखित सपना कहाँबाट पुरा हुन्छ ?
भ्रष्टाचारलाई नियन्त्रण गर्ने सबैभन्दा ठूलो हतियार कानून हो । भ्रष्टाचार सम्बन्धि कानून नै नेपालमा सारै फितलो देखिन्छ । एक त भएको कानुन पनि निश्चित नेताहरूको पकडमा मात्रै छ । उनीहरूले जता पनि घुमाइदिन सक्छन् । भ्रष्टाचार बढेसँगै कानून र नियममा परिवर्तन गरेर कडा र प्रभावकारी बनाउनु पर्ने हो । तर उनीहरूलाई राम्रो थाहा छ कानून बनाउनु भनेको आफैलाई झुण्ड्याउने पासो बनाउनु हो । उनीहरू यस्तो गल्ती गर्ने पक्षमा देखिँदैनन् । सार्वजनिक अपराध संहिता पारित हुँदा सामान्य सामान्य बुँदाहरू समाबेस भए तर उक्त संहिता भित्र भ्रष्टाचार अटाउन सकेन । किन कि उनीहरूको नजरमा भ्रष्टाचार गर्नु एउटा उपलब्धि हो । पुरुषार्थ पनि हो । भ्रष्टाचार अपराध नै होइन ।
भ्रष्टाचारसम्बन्धि कडा कानून बन्नुको कुनै विकल्प देखिँदैन । भ्रष्टाचारलाई कानूनमा नै महाअपराधको रुपमा परिभाषित गरिनुपर्छ । भ्रष्टाचार प्रमाणित भए भ्रष्टाचारीको सबै सम्पति जफत गर्ने र जन्म कैद गर्ने सम्मको व्यवस्था हुनुपर्छ । असंवैधानिक व्यक्तिले गरेको भ्रष्टाचार प्रमाणित भए आवश्यकता अनुसार यी दुई मध्ये कुनै एक सजायको व्यवस्था हुनुपर्छ । र संवैधानिक व्यक्तिको हकमा यी दुवै सजायको व्यवस्था कानूनमा नै स्पष्ट उल्लेख गरिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस