कोरिया । कोरोना सङ्क्रमण भई उपचारपछि निको भएर घर फर्किएका कोरियाका ११६ जनामा पुनः सङ्क्रमण देखिएको छ ।

यससँगै यहाँका स्वास्थ्य अधिकारीले भाइरस पुनः सक्रिय भएको हुन सक्ने र यदि पुनः सक्रिय भएको हो भने यो विश्वका लागि नै चिन्ताको विषय हुन सक्ने आशय व्यक्त गरेका छन् ।

पछिल्लो समय दक्षिण कोरियामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लागिरहेको छ । यसले कोभिड–१९ रोकथामका लागि कोरिया विश्वभर प्रशंसित हुँदैछ । तर पुनः सङ्क्रमितको सङ्ख्या देखिनु दुःखद् कुरा भन्दै यहाँका स्वास्थ्य अधिकारीले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमानसमेत गरेका छन् ।

यसका साथै यो भाइरस कसरी पुनः सक्रिय भयो भन्ने बारेमा पनि वैज्ञानिकले कारणको अध्ययन जारी नै रहेको जनाएका छन् । तर केही विज्ञहरुले भने गलत परीक्षणका कारण यस्तो भएको हुन सक्ने पनि शङ्का गरेका छन् ।

चीनको वुहान शहरबाट कोरोनाको महामारी फैलिएपछि लगत्तै सङ्क्रमण उच्च भएको मुलुक दक्षिण कोरियाले नेपालमा जस्तो लकडाउन नगरेरै कोभिड–१९ सङ्क्रमण रोक्न सफलता प्राप्त गरेको देखिन्छ । यहाँ हालसम्म १० हजार ५३७ जनाको सङ्क्रमण देखिएको छ भने २१७ ले ज्यान गुमाइसकेका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस