उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी थालिएको छ ।


लकडाउनकै अवधिमा भुल्के मस्जिदमा आएर बसेका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुसँगै रहेका अन्य ४ नेपालीको पनि स्वाबको पिसिआर परीक्षण गरिएको थियो । उनीहरुमा भने पोजिटिभ देखिएको छैन ।

पर्सा जिल्लाको छपकैयाँस्थित मस्जिदमा बसेका तीन भारतीय धर्मगुरुमा संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी र्‍यापिड टेस्ट गरिएको थियो । उनीहरुको स्वाब कोशी अञ्चल अस्पतालमा परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई सिल गर्ने र संक्रमितलाई कोशी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताए । संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स खोजी भइरहेको उदयपुर प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस