शब्दकोशले भन्छ, आँखा, कान आदि ज्ञानेन्द्रियका माध्यमले कुनै कुरा बुझ्ने तथा सम्झने, अदृश्य तत्व तथा सुख, दुख, डर, त्रास, हर्ष, शोक आदिको अनुभव गर्ने र यस्ता भावनाबाट सतर्क र विचलित हुने वस्तु हो, मन । मेरो यो मन, अन्तस्करण, हृदय पनि सारै अनौठो भयो । यसका इच्छा, चाहना, कामना र रहरका कुरै नगरौँ । एक तमासले के के ल्याउँछ ल्याउँछ, दिमागमा । कहिले कहिले त्यसै–त्यसै थामिनसक्नु हुन्छ । शिरदेखि पाउसम्म एकै पटक खसखसाउँछ । कहिले यसै विचलित हुन्छ मन, डिप्रेसन नै पो निम्त्याउला जस्तो । कहिले फ्रायड आउँछन् त कहिने नित्से । बेला बेला चम्स्किले कुतीकुती लाउँछन् । कालिदास र देवकोटा एकै पटक आउँछन । कहिले बाइबाका शुन्यवादले सताउँछ त कहिले । राईका आयामले अलमल्याउँछन् । कहिले कृष्णले रुवाउँछन् अनि रामले राम राम भन्दै थुम्थुम्याउँछन् । खै के भा’को के भा’को केके भइ नै रहन्छ । मन फुट्ला जस्तो हुन्छ । फेरि सम्झन्छु, मन फुट्ने खालको भए पो फुटोस् । आउने त विचार हो आएकै छ, अलमल्याएकै छ । खै के भएको भनौँ समय र परिस्थिति अनुसार विचारहरु वर्षे भेल झैँ आइरहन्छन् । चिनको बुहानबाट फैलिएको कोरोना भाइरस कोभिड १९ को कहरले ल्याएका विभिन्न चिन्तन र यसले ल्याएको अभिवादनका शैली परविर्तनले खुब कुतकुती लाग्यो । विश्व स्वास्थ्य संगठन भन्छ हात मिलाउने, अँगालो हाल्ने नगरी परैबाट नमस्कार अभिवादन साटासाट गरौँ । व्यवहारमा यसो हेर्यो अभिवादनका नाममा कोही जुत्ता मिलाउँछन् । अनि फेरि हेर्यो अर्को दृश्य देखिन्छ । हग गर, आओ न यार गले लगाओ भन्दै आफूलाई आधुकिताको मसिहा ठान्ने वैज्ञानिक बुज्रुक पनि पाखे, खर्के, खरीगाँठेहरुले अभिवादनमा प्रयोग गर्ने भनिएको नमस्ते तर्फ लागेको । कोही कुइनो मिलाइ अभिवादनका शैली धज्जि उडाउँछन् । फेरि हेर्यो अचम्म लाग्छ हो चैँ के त सारै खुल्दुली भयो । हेर्दा हेर्दै एकोहोरिएँछु अकस्मात् मन ले भन्यो, “ए केटा ! लु यसरी हेरेर हुँदैन । अभिवादनको जेठो त नमस्कार हो । यसको खोज तलास गर ।” अनि लागे म पनि नमस्कार खोज्न ।

 
नमस्कार संस्कृत शब्द रहेछ । यसको पर्यायका रुपमा नमस्ते, नमनलाई लिन सकिने रहेछ । हामी एक अर्कासँग भेट्दा वा छुटिँदा अथवा कसैलाई आफूप्रति आकर्षण गर्न प्रयोग गरिने शिष्टाचार वोधक शब्द पो रहेछ, नमस्कार । संस्कृतको नमः शब्दबाट विकसित भएको नमस्कारले प्रणाम, अभिवादन गर्दै मानव मात्रमा आत्मीयता भर्दै मान्छे मान्छेमा निकटता र प्रेम पनि भरिदिँदो रहेछ । बडा मायालु शब्द पो रहेछ नमस्कार । उस्तै सजिलो पनि । दुईहात जोर्यो अलिकति निहुरियो बस् । हातका दश औँला नजोरी नमस्ते बन्दैन । भन्दा मात्रेै नमस्ते हुँदैन हात जोर्नै पर्छ । हातका औँला त्यसै जोडिएका होइन रहेछन् । दशवाटा औाला त पञ्चतत्व र पञ्चतन्मात्राका प्रतीक पो रहेछन् त । जसले यो पृथ्वी बनेको छ । कुरो बुझ्नु भो, नमस्कार त विश्व व्रह्माण्डकै सूचक पो रहेछ । विज्ञानले पनि मानेको । नमानेको भए किन विश्वस्वास्थ्य संगठनले किन नमस्कार गर भन्थ्यो । हात जोरेर नमस्कार गर्ने कुरालाई अझ प्रष्ट पादै धार्मिक आचार मूलक ग्रन्थ आचार–प्रदीपले यसो भनेको छ:–

कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती ।
करमुले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम् ।।

यो वैदिक संस्कार मान्नेहरुले बिहान उठ्नु अघि हातको दर्शन गर्ने श्लोक हो । यहाँ के भनिएको छ भने, हातका अग्र भागमा लक्ष्मीको बास हुन्छ भने मध्य भागमा सरस्वतीको बास हुन्छ तथा हातको मूल भागमा व्रह्माजीको बास हुन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छः– नमस्कार गर्नाले लक्ष्मी सरस्वती र व्रह्माजीको एक साथ प्राप्ति हुन्छ । हात नै विश्वव्रम्हाण्डको प्रतीक हो । जसले सच्चरित्रताका साथ आफ्ना कर्ममा लाग्न प्रेरित गर्दछ ।


नमस्कार र नमस्ते पयार्य भए पनि आध्यात्मिक रुपमा भने फरक–फरक रहेछन् । नमस्ते भन्दा पनि बढी सात्विक रहेछ नमस्कार । आफुले भेटेको मान्छे वा व्यक्तित्वमा दैवी गुण, शक्ति भनौँ वा देवत्वको भाव देखेर नमस्कार गरिँदो रहेछ । अजीव मान्छेमा कृतज्ञता र भक्तियुक्त भावनाको विकास गराउने र शिष्टाचार भरिदिने शब्द पो रहेछ नमस्कार । कसैले अभिवादन गर्ने बहानामा हात मिलाउँदा कर्याप्प पारेर हत्केलाका हड्डि पनि नदुख्ने आफुले दुखाउनु पनि नपर्ने । न त अँगालो मारेर पसिना साट्नु पर्ने न त अन्य अज्ञात फोहोर साटासाट गर्नुपर्ने । आहा ! कस्तो शिष्टाचार हाम्रो नमस्कार ।
हामीले नियमित जसो हेर्ने टि.भी सिरयिलमा “हजुर वरष्ठि हस्त नमस्ते” भन्दा हामी गाउँ सारा थर्काएर हाँस्थ्यौँ । बडा गलत गरिएछ गाँठे यतिन्जेल । कति पुण्य कमाएछन् ती पात्रले । देवत्व गुण भएको विज्ञ, बाठो सर्वज्ञ हुनुहुन्छ भन्ने भावनाको प्रतीकात्मक स्विकारोक्ति पो रहेछ, नमस्ते । हाम्रा दुर्भावना अहङ्कारका अनगिन्ति भकारीहरु र मैमत्ताको सगरमाथा तथा राम्रो म र कोदाली पाते तँ नामक भाइरस भगाउने एन्टीबायोटिक पनि हुने रहेछ हाम्रो नमस्कार ।
यसो उभियो ठ्याँस्स हात जोर्यो अनि प्याच्च भनिदियो नमस्ते । अहिलेसम्म कतिपय अवस्थामा हामीले गर्ने नमस्ते यस्तै हो । यसको सार त कडा रहेछ । खनी खोस्री गर्दा तीन ढाँचाका पाइयो नमस्कार । ती रहेछन्:– सामान्य नमस्कार, पद नमस्कार, साष्टाङ्ग नमस्कार ।

व्यक्ति व्यक्तिको भेटघाटको अवसरमा अलिकति दुरी राखेर आदर पूर्वक थोरै शिर निहुराई अभिवादन साटासाट गर्ने नमस्कार सामान्य नमस्कार । मलाई लाग्यो यो चैँ सर्वप्रिय नमस्कार हुनुपर्छ । आमा, बुबा, बाजे, बजु लगायतका नाता गोताका ज्येष्ठ सदस्य आदिलाई गच्छे अनुसार तथा परम्परा अनुसार खुट्टा छोएर गरिने नमस्कार चैँ पद नमस्कार रहेछ । संझनुस् त पाठकवृन्द कति सात्विक छ हाम्रो नमस्कार । झ्वाम्म निहुराउने दाम सहित । त्यसैले भौतिकवादी भएर हेर्ने हो भने अलि सामन्तवादी हो कि जस्तो लाग्यो यो पद नमस्कार । अर्को छ साष्टाङ्ग नमस्कार । यो चैँ साँच्चै आध्यात्मिक नमस्कार रहेछ । मठ मन्दिर, गुम्बा, चैत्य, मस्जिद, चर्च या देवी देवताका थानमा अथवा गुरु महाराजका रुपमा कहलिएका मठाधिस लगायतका प्रभुका चरणमा शरण परी जुत्ता चप्पल फुकालेर सरसफाई सम्पन्न गरी सम्पादन गरिने नमस्कार साष्टाङ्ग नमस्कार । वैज्ञानिक समाजवादी भनौँ या भौतिकवादीहरुले यसलाई लम्पसारवादी नमस्कारको एउटा चरम रुप मान्लान् । मलाई चैँ यो नमस्कार मान्छेलाई नैतिकवान बनाउने, आचरण सिकाउने विज्ञान मिश्रित आध्यात्मिक चेत दिलाउने नमस्कार जस्तो लाग्यो ।

आपसमा एक अर्कालाई आत्माबाटै प्रस्तुत गरिने भावमयी आदरनै नमस्कार रहेछ । कुरो बुझ्दा अत्याचारी, भ्रष्टाचारी, दुराचारी भावनालाई सात समुद्रपारी कटाएर नमनीय, वन्दनीय, आदरणीय, लचकदार बनाउने महामन्त्र पो रहेछ नमस्कार । अहिले मात्र प्रयोगमा आएको होइन नमस्कार । वैदिक कालमा रचिएको मानिएको महर्षी वेदव्यासको शुक्ल यजुर्वेदमा समेत यो शब्द प्रयोग भएको पाइन्छ । हैन भने हेर्नुहोस्:–

हरिः– ॐ नमस्तेरुद्रमन्न्यवsउतोतsकइषवेनम:–। वाहुभ्यामुतते नमः ।।

यस ग्रन्थमा थुप्रै ठाउँमा नमस्ते, नमः जस्ता शब्दको प्रयोग भएको पाइन्छ । जसले नमस्कारलाई नै प्रोत्साहन गरेको छ । यसैगरी पौराणिक कालमा आएर वेदव्यासद्वारा रचित मार्कण्डेय पुराण अन्तर्गतको दुर्गासप्तशतीको पाचौँ अध्यायमा पनि नमस्कार शब्दको व्यापक प्रयोग भएको छ । यो अध्याय जम्मै देवीकै नमस्कारमा खर्च भएको छ । देवी भन्या शक्ति, चेतना, बुद्दि, तृष्णा, श्रद्दा, शान्ती, लक्ष्मी, वृत्ति, मातृ, स्मृति, दया हो । आस्था हो । विस्वास हो । त्यसैले खुबै नमस्कार गरियो यहाँ । नपत्याए हेर्नुहोस्:–

या देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता ।
नमस्तस्यै ।। नमस्तस्यै ।। नमस्तस्यै नमो नमः ।।

यो त उदाहरण मात्र हो । लौकिक संस्कृतको युगमा आएर पनि नमस्कारलाई उत्तिकै स्थान दिएको पाइन्छ । उदाहरणका लागि महाकवि कालिदासको मेघदूत खण्डकाव्यको मंगलाचरणको श्लोकलाई लिन सकिन्छ । जुन यस्तो रहेको छ:–

विनायको योsखिललोकनायको यो विघ्नराजोsप्युत विघ्ननाशक:।
अनेकदन्ताsर्चितपादयुग्मकं तमेकदनतं प्रणमामि सनततम् ।।

यहाँ प्रणम शव्दले नमस्कारको नेतृत्व गरेको देखिन्छ । यसमा गणेशको प्रार्थना गरिएको छ । सुन्नु न मलाई पनि नमस्कार गर्न मन लाग्यो । किन भन्नु होला भने नमस्कार मात्र त्यस्तो एउटा अध्यात्म जडित अभिवादनीय शब्द रहेछ जसले सिङ्गो अध्यात्म र विज्ञानको लडाईमा एक्लैले युद्ध जित्यो । ऊ बेलादेखि यो बेलासम्म । नमस्कारलाई पच्छ्याउने हामी अभिवादन गर्न सकिने एउटा नयाँ शव्दसम्म जन्माउन नसक्ने सबै बाँझा मानव जातिको प्रतिनिधि पात्र मेरा तर्फबाट तँ, तिमी, तपाईँ, हजुर, अत्याचारी, दुराचारी, भ्रष्टाचारी, कुलाङ्घार, खुरापाती आत्मीय साथी सबै सबैलाई नमस्कार ।

 

मेनपा. १३, चारआली, झापा

प्रतिक्रिया दिनुहोस