दमक । कोरोनाको महामारीले विश्व हाहाकार अवस्थामा छ । अधिकांश देशहरू लकडाउनमा छन् । विश्वको शेयर बजार शुन्यमा झरेको छ, अर्थतन्त्र नकरात्मक अवस्थामा पुग्दै छ । र विश्वभरमा कोरोना संक्रमण हुनेको संख्या ४० लाख नाघेको छ । शनिबार बिहानसम्ममा जम्मा संक्रमितको संख्या ४० लाख १२ हजार ७६९ पुगेको छ ।

कोरोना संक्रमितको संख्या ४० लाख १२ नाघेसँगै संक्रमणबाट मर्नेहरूको संख्या पनि २ लाख ७६ हजार नाघेको छ । भने कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि १३ लाख ८५ हजार नाघेको छ । शनिबार बिहानसम्ममा मृत्यु हुनेको जम्मा संख्या २७६२१५ पुगेको छ भने निको हुनेको जम्मा संख्या १३,८५,१२४ पुगेको छ । यसरी हेर्दा जम्मा संक्रमित संख्याको ६.८८ प्रतिश मृत्यु भएको देखिन्छ । त्यस्तै बन्द भइसकेका केशमा भने १७ प्रतिशतको मृत्यु भएको छ र ८३ प्रतिशतले स्वास्थ लाभ गरिसेका छन् । बन्द भइसकेका केशको यो अनुपातलाई हेर्दा अस्ति भन्दा निको हुनेको प्रतिशतमा केही सुधार आएको देखिन्छ ।


अहिलेसम्मको अवस्थामा सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरैको मृत्यु पनि अमेरिकामै भएको छ । अमेरिकामा यो समाचार बनाउँदासम्ममा जम्मा संक्रमितको संख्या १३,२१,७८५ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ७८६१५ पुगेको छ । दोस्रो नम्बरमा रहेको स्पेनमा जम्मा संक्रमितको संख्या २,६०,११५ पुगेको छ भने मृत्यु हुनेको संख्या २६२९९ पुगेको छ ।

स्पेनपछि इटली सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा देखिन्छ । इटलीमा अहिलेसम्म संक्रमितको संख्या २,१७,१८५ पुगेको छ भने ३०,२०१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा इटली र स्पेनमा दैनिक औसत बृद्धिदरमा निक्कै कमी आएको देखिन्छ ।

सबैभन्दा धेरै संक्रमित हुनेको चौँथो नम्बरमा रहेको युके, सबैभन्दा धेरै मृत्यु हुनेको दोस्रो नम्बरमा रहेको छ । युकेमा अहिलेसम्ममा २,११,३६४ जनामा संक्रमण पुष्टी भइसक्दा ३१,२४१ जनाको मृत्यु भइसकेको छ । धेरै संक्रमण हुनेको पाँचौ नम्बरमा रसिया आइपुगेको छ । आलसम्ममा रसियामा जम्मा १,८७,८५९ जनामा संक्रमण भएको छ । संक्रमणको संख्यामा ह्वात्तै बृद्धि भएपनि अरुदेशको अनुपातमा रसियामा सारै धेरैको मृत्यु भएको छैन । रसियामा हालसम्ममा १,७२३ जनाको मृत्यु भएको छ ।


धेरै संक्रमित हुनेको छैटौँ नम्बरमा रहेको फ्रान्समा अहिलेसम्म १,७६,०७९ जनामा संक्रमण पुष्टी भइसकेको छ र २६,२३० जनाको मृत्यु भइसकेको छ । सातौँ नम्बरमा रहेको जर्मनीमा अहिलेसम्ममा १,७०,५८८ जनामा संक्रमण पुष्टी भइसकेको छ भने ७,५१० जनाको मृत्यु भइसकेको छ । त्यस्तै आठौँ नम्बरमा ब्राजिल रहेको छ । ब्राजिलमा १,४६,८९४ मा संक्रमण पुष्टि भइसकेको छ भने १०,०१७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै नवौँ नम्बरमा टर्की रहेको छ । टर्कीमा अहिले सम्ममा १,३५,५६९ जनामा संक्रमण देखिएको छ । दशौँ नम्बरमा रहेको इरानमा १,०४,६९१ जनामा कोरोना देखिएको छ । र कोरोनाको उद्गम देश मानिएको चिन भने अहिले एघारौँ नम्बरमा रहेको छ ।

धेरै मृत्यु हुने देशको १ नम्बरमा अमेरिका रहेको छ, दोस्रो युके रहेको छ भने तेस्रो इटली रहेको छ । त्यस्तै चौँथोमा स्पेन रहेको छ भने पाँचौमा फ्रान्स रहेको छ । छौटौँमा ब्राजिल रहेको छ र बेल्जियम सातौँ स्थानमा रहेको छ ।

छिमेकी देश भारत धेरै संक्रमित हुने देशको १४ औँ नम्बरमा रहेको छ । भारतमा हालसम्ममा ५९,६९५ जनामा कोरोना संक्रमण पुष्टी भइसक्दा १,९८५ जनाको मृत्यु भइसकेको छ भने १७,८८७ जनाले स्वास्थ्य लाभ समेत गरिसकेका छन् ।

नेपालमा पनि हालसम्ममा १०२ जनामा कोरोना प्रमाणित भइसकेकोमा ३१ जना निको भइसेका छन् भने नेपालमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । संक्रमितहरूको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ । संक्रमित मध्ये धेरै जसो भारतीय नागरिक रहेका छन् । नेपालमा ३ जनामा भने निको भइसकेपछि पनि पुनः संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस