लकडाउन छ, हामी कतिलाई बजार गएर तरकारी किनेर ल्याउन गारो होला, डर होला । कतिसँग थोरै बारी होला उत्पादन गर्ने तरिका थाहा नहोला । कतिले सब्जी रोप्नु भएको होला तर बिरुवाको लागि उपयुक्त मलजल गर्न नसकेर उत्पादन नभएको होला । यहाँ बिरुवा रोपेका तर मल के लगाउने भन्ने दुविधा भएकाहरूका समस्याको समाधान उल्लेख गरेको छु ।

 
जसरी मानिसलाई स्वस्थ रहन गुणस्तरीय खानाको आवश्यकता पर्छ बोट बिरुवालाई पनि त्यस्तै हो । मान्छेको जस्तै बोट विरुवाको पनि इम्युनिटी पावर हुन्छ । स्वस्थ बिरुवालाई किरा र रोगको अक्रमण पनि कम हुन्छ । हामीले बगैँचामा लगाएका फूलका बिरुवा हुन् अथवा तरकारी वा अरु कुनै, यी सबैलाई उपयुक्त खाद्यान्न दिनु अनिवार्य हुन्छ । बोट बिरुवालाई माइक्रो न्युट्रेसन सारै आवश्यक हुन्छ (हामी अहिले यसलाई युरिया भनेर बुझौँ, जैविक युरिया) । त्यस मध्ये हामीसँग उपलब्ध हुने, खर्च नलाग्ने र बनाउन सरल उपाएको बारेमा जानकारी गराउँछु ।

१. एउटा १५ लि. जति जाने माटोको घैला अथवा प्लाष्टिकको घैला लिनोस् । (धातुको बिलकुल हुनुभएन, सकेसम्म माटोको राम्रो)
२. गाईको गोबर ३ किलो जति लिनोस् (सकेसम्म गाईको, छँदै छैन भने भैसीको भए पनि हुन्छ)
३. २०० ग्राम बेसन
४. १५० ग्राम सखर लिनोस्
५. सकेसम्म १ लिटर गाईको पिसाप लिनोस् (भए धेरै राम्रो, हुँदै भएन भने फरक पर्दैन)
६. अमला, निम, पिपल, आँप मध्ये कुनै पनि रुख मुनिबाट २ किलोजति नरम माटो लिनोस् ।
७. यी सबैलाई पालै पालो पानीमा मज्जाले घोलेर घैलामा हाल्नोस् ।
८. सबैलाई घैलामा हालिसकेपछि घडीको सुइको दिशामा ५ मिनेट जति मज्जाले कुनै पनि भाटा वा काठले घुमाइदिनोस् । (त्यो चलाउने चिज धातुको बिलकुलै हुनु भएन ।)
९. घैलाको मुखबाट हावा पास हुनेगरी छोपेर घाम र पानीबाट जोगिने ठाउँमा घैलालाई राख्नुपर्छ ।
१०. दैनिक बिहान र बेलुका अनिवार्य घडीको सुइको दिशामा ५ मिनेट घुमाउँदै गर्ने ।
११. १० दिन पछि उक्त घैलाको घोल जैविक युरियामा परिणत हुन्छ ।
१२. त्यो घोललाई ११ दिनदेखि १५ दिन भित्रमा कपडछान गरेर बिरुवामा स्प्रे गरिदिने ।


माथि उल्लेखित मात्राको घोलले एकपटकमा ५ कट्ठामा रोपेको बिरुवामा स्प्रे गर्न पुग्छ (यही अनुपातमा आफ्नो ठाउँ अनुसार घोल तयार गर्ने) । यसरी स्प्रे गरेको २४ देखि ४८ घण्टामा बिरुवाको रङमा बदलाव आउन थाल्छ । यस्तो युरिया बिरुवामा हरेक १० देखि १५ दिनमा दिँदै जानुपर्छ । बिरुवाले हामीलाई खुसी बनाउने छ । फलफूलका बिरुवालाई हामीले माया ग¥यौँ भने बिरुवाले पनि हामीलाई माया गरेर फलफुल दिने छन् । बिरुवाको लागि माइक्रो न्युट्रेसन बनाउने अरु धेरै र प्रभावकारी तरिकाहरू पनि छन् । तिनीहरूको बारेमा पनि हामी चर्चा गर्दै जाने छौँ ।

प्रतिक्रिया दिनुहोस