अब केही घडा र पलपछि दुई हजार बिस मे पन्ध्र सकिन्छ । फजुलमा एउटा दिन बित्छ । घटिमा एक दिन नजिक चिहान तिर म धस्केको छु । निधारबाट आफ्नो एक दिन आयु खसेको छ । अफसोस लागेको छ । मेरो हत्केलाबाट मे पन्ध्र पनि स्खलित भयो ।
मे पन्ध्र अतिरिक्त दिन भएर आएन । अघि मध्य रातमा ऊ सुटुक्क मेरो ओच्छ्यान आएकै हो । मेरो काखमा आएर थपक्क बसेकै हो । मैले मधुमासको दियो बालेको हुँदो हुँ र मबाट गर्भदान–कर्म भएको हुँदो हो । सायद हरेक दिन उज्यालो जन्मिएको हुन्थ्यो । धेरै पटक झलमल्ल बिहानसित भेट हुन्थ्यो । मे पन्ध्र पनि मे एक जस्तै विशेष दिन भएर क्यालेण्डरमा हरेक वर्ष बौरिएर ब्युँझन्थ्यो । मजदुरहरुको रगत पसिनाले पर्सिदै ।


(हो, रातभर बर्षात भएन र । उनको गर्भ भिजेन।बीजमा अंकुर पल्हाएन।)

फजुलमा मे पन्ध्र आयो र चुपचाप गयो । कारोबार केही भएन । अफसोस छ, मलाई अफसोस छ । मे पन्ध्र फजुल एउटा दिन गयो । सधैँ सम्झनु पर्ने विशेष पर्वको दिन ।

न त सुदुर खाडीबाट पहिलोपटक घरमा आई, एम, ई आएको दिन जस्तो भयो । कम्तीमा मरणोपरान्त आफ्नो सम्पति राष्ट्रलाई दान दिएको घोषणा सार्वजनिक गर्न सकिन्थ्यो । आजको दिन तर गरिएन ।

आजैको दिन मरणोप्रान्त सपरिवारले छालादान दिन फारम भरेर बुझाउन सकिन्थ्यो । छाला बैंकका अभियन्ता अनन्त भेटवाललाई तर फारम भरिएन । न अङ्गदान बारे सोचियो न त रक्तदान । बरु भोकले रोइरहेको नातिलाई रेल किनेर ल्याउने नातिनीलाई पानी जहाज । फकाउनु गरियो । थुईक्क ! मे पन्ध्र !

कम्तीमा सीमा विवादलाई लिएर दुई हरफ उदगार फेसबुकमा राख्नु थियो । राखिएन । देश बाहिर अलपत्र परेका आफ्ना नागरिकहरुप्रति संवेदनशील हुन सरकारलाई एउटा खुलापत्र लेख्ने काम समेत गरिएन । सत्तोशराप गरेर नेताहरूलाई मुखभरीको गालीगलौज भाखेर फेसबुकलाई रङ्गाउनु पर्दथ्यो हिलाम्य ! थुईक्क ! त्यसो पनि गरिएन ।
आजको दिन पनि जोगी आयो र जोगी गयो । बिगतका निम्छरो दिनहरु जस्तै आजको दिन पनि, ज्यू, हजुर र निगुरमुन्टी न भएर हिड्यो ।

क्रमशः

(१५ मे २०२०स नयाँदिल्ली )

प्रतिक्रिया दिनुहोस