यतिखेर विश्व लक डाउनमा छ
र, पृथ्वीलाई उकुसमुकुस भएको छ ।

पृथ्वीको सुरक्षामा खटिएका
मान्छेहरु लक डाउन तोडेर
बाहिर निस्किएका छन्
र, कोरोना त्रासदी सहर सहरमा फैलिएको छ ।

यतिखेर
दिल्लीको निजामुद्दिनमा
मरकज तबलिगी जमात
र, कोरोना कनेक्शनको
बर्बर डण्डी बर्साइरहेछ समाचार ।

मानवता मरेको यो समय
मान्छे ईश्वरको अन्धभक्त भएको छ
र, ईश्वर मरेको छ यो समय
अर्थात् समय त्रासदी भएर बगेको छ
र, भिड जम्मा गरेर मान्छे धर्म बान्ता गरिरहेछ
अर्थात् भक्त भएर भिँड त्रास सारिरहेछ ।

आँखामा पट्टि लगाएपछि
टाङ्गामा छाँदेको घोडा पनि गधा बन्दोरहेछ
जब म भेट्छु भिँडको एउटा लस्कर
म्याद सकिएका सिटामोलको पछाडि
हामी मूर्ति झैँ मान्छे पो रहेछौँ ।।

हामी गधा मध्ये गधा पश्चिसी गधाहरु
अर्थात् हामी गणेशमानका भेडाहरु
पृथ्वी लक डाउनमा छ
र, हामी मानवता मरेको यो समय
लक डाउनको मजाक हेर्न रमितामा निस्किएको छौँ ।

पृथ्वी मान्छेहरु देखेर आजित भएको छ
र, ऊ मानवताको रक्षाका लागि
प्रकृतिसँग पुकारा लगाइरहेछ ।

प्रतिक्रिया दिनुहोस