भुई मान्छे ! तिम्रो भाषामा
जबजब भुईफुट्टा हुन्छ,
भुइमान्छे जबजब भुईंफुट्टा हुन्छ
तबतब तिम्रो सिंहासन कम्पित पाउँछु ।


भुईको मान्छे,
तिम्रो हाजिरी बजाउने हतारोमा,
तिमीलाई तिम्रो
दैनिकी सुरु गर्ने हतारोमा
इतिहासको छातीमा टाँगिएको
भित्ते घडी र यसका काँटामा उनिएका
अपराधी तिम्रा अनुहारहरु पढ्छु ।

तिम्रो तरवारदेखि दरवारसम्म,
भोटोदेखि सरुवालसम्म
भूईमान्छेको लाचार छायाँ र निष्ठा
पोतिएको होईन र ?
यात्राहरु कति प्रायोजन भए कति
आदिम गुफादेखि मैदान आजसम्म हरेक सभ्यतामा तिमीले,
उसको रहरमाथि टेकेर
उसका मखमली सपनालाई कुल्चेको होइनौ र?
भुईमान्छेको काँधमा सवार ओइ यात्री !
भेटियो जमिन बञ्जर कतै
भुइँ मान्छे नउम्रिएको ?

तुफानी इतिहासहरुले,
हरेक पटक,
भेट्यौ र उसलाई नबढारेको ?
भेट्यौ र यस्तो शताब्दी
उसलाई,
महामारीले नखाई उभारेको ?
रचिन्छन् युध्दहरु,
आउँछन् भूँईचालो र सुनामीहरु, अम्फानहरु
र भूँइमान्छेले आफ्नो छातीमा उमारेका
ती जङ्गली फूलहरु सोतर हुन्छन् ।

लाग्छ हरेक आपद हरेक विपदले
भुईमान्छेको अमिलो मासु मनपराउँछ,
मात्र उसको नुनिलो आँसु मन पराउँछ ।
नभए, लकडाउनमा,
आफ्नो घरभित्र लुकेर
कालो चश्मा लगाउनेहरुले
तातोतातो विरयानी खाएको बेला,
भोको नाङ्गो भूँइमान्छे
राजमार्गमा पुलिसको चिसो लाट्ठी किन खान्छ ?
भुईमान्छे आजभोलि,
यो निषेधाज्ञा लत्याएर,
सडकमा किन निस्कन्छ ?
ईतिहासका पानाहरु रक्ताम्य रङ्गाउँदै
भूँइमान्छे पटकपटक
भूँइफुट्टा बौर्हिन किन अभिशप्त छ ?
सावधान! ओई ईतिहास छाप्नेहरु हो !
कैफियत तिम्रो धेरै भयो,
अब तिम्रो इतिहास हल्लिने भएको छ ।

(नयाँदिल्ली भारत, २०२० मे २१)

(समर्पण महामित्र छिमेकी देस भारतका विशेष भुईमान्छेहरुमा ।)

प्रतिक्रिया दिनुहोस