मेरो दिमागमा दिनहुँजसो
प्रश्नहरूको जालो बेरिँदै बेरिँदै
अणुबम बन्ने प्रकृयामा छ
र यो विष्फोट भएको बेला
सबभन्दा ठूलो क्षति
मेरो शासकलाई हुनेछ

विद्यालय पोषाकमा मेरी बहिनीलाई देखेपछि
मेरी आमा झस्किँदै भन्नू हुन्छ
“लामो जामा काटेर
छोटो मिनिस्कट बनाउने कैँची
कहाँबाट आयो ?”
बिहान बिहानै टुप्पी शिखा पारेर
शुद्ध जल आचमन गर्ने बेलमा
पण्डित बाजेको आचमनीले
हिजोआज किन रेड्लेभल उघाउँ छ?
मैले आफ्नो गाँस कटेर
हुर्काएको मेरो घरको पङ्ग्रे कुकुर
हिजोआज किन
मैले “चोए” भन्दा नजिक आउँदैन?
“आच्चे” भन्द पर भाग्दैन?

प्रदुषित पश्चिमी हावा
एउटा सानो बेलुनमा भरेर
मेरो स्वच्छ आँगनमा ल्यायो
र सानो सिन्काले घोचेर फुटाइदियो
त्यसैदिन देखि मेरो च्याब्रुङमा प्वाल परेको छ
मेरो मादलको खरी झरेको छ
मेरो पालाम र हाक्पारेको मूलखाँबोमा
धमिरा लागेको छ
मेरो बालन र मालसिरीको निदाल मक्काएको छ
धान नाच्चनेहरुका
खुट्टा लर्बरिन थालेका छन्
लोक गायकहरूको
स्वर सुक्न थालेको छ
सबभन्दा पहिला
मेरो आँगनमा त्यो बेलुन कस्ले ल्यायो ?

मेरो दिमागमा दिनहुँजसो
प्रश्नहरुको जालो बेरिँदै बेरिँदै
अणुबम बन्ने प्रकृयाम छ
र यो विष्फोट हुँदा
सब भन्दा ठूलो क्षति
मेरो शासकलाई हुनेछ

मैले हरेक दिन चढ्ने गाडीमा
कम्पनीको नाम किन मेरो देशको छैन ?
मैले प्रत्येक छाक भात पकाउने भाँडो
तिउन पकाउने कराई र खाने थाल
कुन देशमा बन्छ ?
मैले प्रत्येक बिहान मुख धुँदा
अनुहारमा दल्ने साबुन
मेरो देशमा किन बन्दैन सरकार? किन ?
मैले दैनिक लगाएर हिँड्ने कपडामा
किन अर्कै देशको स्टिकर टाँसिएको छ ?
किन अर्कै देशको जुत्ता चप्पल
मेरो देशको माटो र मेरा पैतालाबीच सिमाना बन्छ ?

मेरो दिमागमा दिनहुँजसो
प्रश्नहरुको जालो बेरिँदै बेरिँदै
अणुबम बन्ने प्रकृयाम छ
र यो विष्फोट हुँदा
सब भन्दा ठूलो क्षति
मेरो सरकरलाइ हुनेछ

प्रतिक्रिया दिनुहोस