महाकवि लक्ष्मीप्रसाद देवकोटा(वि.सं. १९६६-२०१६) विशेषत कविता विधाका एक शिखर पुरुष हुन् । कविता विधामा प्रकृतिप्रेम, निर्धनप्रेम र आँशुप्रेम दर्शाउने उनी नेपाली साहित्य जगतकै मेरुदण्ड पनि हुन् । दश बर्षको(वि.सं.१९७७) सुकुमार उमेरमै दुई हरफे कविता (घनघोर दु:ख सागर भाइ) रचना गरी काव्यिक यात्रामा होमिएका देवकोटाका छ महाकाव्य, बाह्रखण्डकाव्य, बाह्र कवितासंग्रह, दुई निबन्ध संग्रह, दुई नाटक कृति, दुई कथा संग्रह, एक उपन्यास(चम्पा), एक समालोचनाआदि कृतिहरु पाइन्छन् । घरायसी संस्कारिक वात्सल्यमा हुर्किएका देवकोटामा संस्कृत भाषादेखि अंग्रेजी भाषासम्मको दख्खल देखिन्छ । पछिल्लो समय शूलको वहबाट प्रताडीत उनीमा नसोचेका स्वभावहरु बिजीत हुन थालेपछि जनमानसले उनलाई पागलको संज्ञा दिएको थिए । र, उनले एक दिन त्यो कुरा पत्रिकामा पढेपछि त्यसै रात पागल कविता लेखेका थिए । उनले समकालिन रैयतबाट पाएका कान तात्ने कुराहरुले उनीभित्र एक किसिमको अधीरता बढेको पाइन्छ । फलस्वरुप, उनले कविता विधामा, अनिरुद्द कविका रुपमा आफ्ना अनौठा भावनाहरुलाई अन्तिमकालसम्म काव्यिक यात्रामा आरुढ गराएका थिए । मुख्यतया: छैटौँ इन्द्रिय जागेर कवि चेतनाको सर्वोत्तम स्तरमा पुगेपछि उनी अमानुषी लोकसम्मको कल्पनामा हराएको उनका कवितामा देखिन्छ । उनका रचनाहरुमा कतै शान्त अब्धिझैँ उद्दिग्नता हराएको ऋषिचरित्र मुखरिछ त कतै बर्बर बिसम्भारता । उनी स्वछन्नदतावादी धारका कवि भएकाले उनका रचनामा आत्मापरकता र प्रकृतिप्रेमको समिश्रण झल्किन्छ ।

उनी प्रकृतिमा मधुमाधवको हरियो परिच्छन्नताले आफूलाई कविता यात्रामा जवान देख्छन् । उनी प्रकृतिको विचित्रता बढो गजबले शब्दमार्फत भावनाको लयमा उन्छन् र एक जीवन दिन्छन् । जबजब वसन्त ऋतु आउँछ तबतब उनीभित्र आविष्टता फाँचिलो भएर नवरंग पैदा हुन्छ ।कहिले कुसुमविशेष कुरा गर्छन् त कहिले सरिताविशेष । उनी कवितामा मधुमासको विलास प्रकृतिमा नै खोज्छन् र उनी भन्छन्, ‘सच्चा कवि वसन्तको फूलवारी हो ।’ (फूल निबन्धबाट)

यति मात्र हैन उनी सृजनाका अरु विधामार्फत नेपालका सबै भाग र क्षेत्रहरुमा पुग्न चाहन्छन् । र, त्यहाँको जनजीवनलाई टपक्क टिपेर उन्छन् । उनी ब्राम्हण कुलमा जन्मिए पनि सुटुक्क कुलवेत्तर साहित्यिक पयल चालेर दुनियाँले नसोचेको कुरा प्रकाशमा ल्याउँछन् । यस्तै शिलशिलामा उनी सिन्धुपाल्चोक जिल्लाको हेलम्बूका बासिन्दा सेर्पा जातीको जनजीवन नियाल्दै हेलम्बूदेखि ल्हासासम्म पुग्छन् । परिणामस्वरुप जन्मिन पुग्छ- लूनी ।

लूनी विधागत रुपमा हेर्दा नेपाली भाषाको एक खण्डकाव्य हो । मुख्य पात्र ‘लूनी’ मा आधारित यो खण्डकाव्यले हेलम्बूका सेर्पा समुदायको शताब्दीअघिको जनजीवनलाई लयात्मक रुपमा चित्रण गरेको छ । यो खण्डकाव्य सुखान्त खण्डकाव्य हो । यसमा हेलम्बूदेखि ल्हासा र ल्हासादेखि फेरि हेलम्बूसम्मको परिवेश चित्रण गरिएको छ । यहाँ प्रयुक्त शब्दहरु कतिपय अवस्थामा हामीलाई बुझ्न पनि कठिन हुन्छ । कतिपय ठाउँमा काल्पनिक नामहरु उदय गराएर देवकोटाले यसमा प्रेमी-प्रेमिकाको भेट गराएरै छाड्न सफल देखिन्छन् ।कूल ७६ पृष्ठमा संग्रहित यो खण्डकाव्य वि.सं. २००१ सालको आसपासमा रचना गरेको देखिन्छ । ’क’ देखि ‘द’ भागमा अर्थात अठार खण्डमा रचिएको यो खण्डकाव्यसँग जोडिएको एउटा सन्दर्भबाट यसभित्र पसौँ ।

कुरा २००१ सालतिरको हो । त्रिचन्द्र कलेजका बिध्यार्थीहरु एउटा गीत लय हालेर गाउँथे रे ।

रानी लूनी राम्री
शिरीष कोमल हाम्री”

त्योताका ठूला मसलाका रुख थिए त्रिचन्द्र कलेजको प्रांगणमा । हो, त्यही बृक्षमुनि महाकवि देवकोटा बस्नुहुन्थ्यो अनि वरिपरी बिध्यार्थीहरु झुम्मिन्थे । छात्रहरुले कौतूहलतापूर्ण पृच्छाहरु देवकोटालाई गर्थे।

 ‘केही कविता लेख्नुभयो कि कविजि ?आज के लेख्नुभयो कविजि ?

त्यतीखेर देवकोटा महाकवि त भइसक्नुभा हुनुहुन्नथ्यो । तर, उहाँका कवितामा जादु थियो भन्ने कुरा सबैलाई थाहा थियो । उनी बिध्यार्थीहरुले त्यसो भन्दा केही सन्तोषले त केही आविष्टले घनिभूत भएरगीत गाउनुहुन्थ्यो रे ।

‘आज क्यान(किन) लूनी रानी
आज क्यान लूनी
आधा बचन सुन्न छाड्यौ
आधा बचन सुनी ।’

 

त्यसपछि त सबैको मुखमा त्यही गीत झुन्डिन पुग्यो ।तर, लूनी खण्डकाव्य उनी बितेको ९ बर्षपछि, बि.सं. २०२५सालमा जन्मियो । साझा प्रकाशनले बजारमा ल्याएको त्यो खण्डकाव्यको मूल्य एघार रुपैया थियो । यसरी एक्काइस बर्षपछि लूनीलाई साझा प्रकाशनले परित्राण गर्यो । वि.सं. २०४६ सम्मआइपुग्दा यो खण्डकाव्यको पाँचौँ पटकसंस्करण भएको देखिन्छ ।

°°°°°°°°°°

लूनी खण्डकाव्य हेलम्बुको प्राकृतिक सजावटमा टुसुक्क बसेको एक सानदार दरबारबाट शुरु हुन्छ । त्यहाँको लोङ्गो दरवारमा बस्ने सोङ्गे राजा र दरवारका मानिसहरुको चित्रणबाट यसरी काव्य शुरु गरिएको छ ।

(क)
(
)
‘सेर्पा साम्बा सोङ्गो
राज्य दरबार लोङ्गो
सेर्पा हेलम्बू
चाँदी चूली झलझल
खोला नाला कलकल
सेर्पा झोलुङ्गो ।’

दरवारमा चाँदीको झलझल चूली छ । सुनको छानो, भुवादार खुड्किला, बुट्टे रेशम पर्दा, लख्खन् बुट्टे काठ, नागबुट्टे सिलिङ छ । र, साँझमा घूँ घूँ बाजा बजेर त्यो एकान्तको दरवारमा बेग्लै आन्नद पैदा हुन्छ । त्यहाँका मान्छेहरु हिउँझैँ सेता भएका, गाला गुलावि, अनुहारमा कोठी भएका, भोटो र बाघको छालाको कान चिरेको टोपी परिधान गरेका, ठूल्ठूला गरगहना लगाएर सिमल भुवाजस्तै ओछ्यानमा एकदमै एसको जीवन बिताइरहेका छन् । त्यस्तै, झल्लर सुनको छाताको मुन्तिर बुद्दको मूर्ति बिराजमान छ । त्यस मूर्ति अगाडि हिमालका पाटामा उब्जिएका वनस्पतिबाट बनाइएको एक धुपको हरहर वास्ना चारैतिर फैलिएको छ । थानमा ठूल्ठूला धौत्ताका मूर्तिहरु पनि छन् । बाजाहरु कर्णप्रिय बज्छन् । घ्याम्पो र ढ्याङ्ग्रो घट् घट् घन्किरहेछन् । झ्याली झ्याम्म झ्याम्म बजिरहेछन् । र, हेलम्बूका छोरीहरुले फूलमाथि टेकेर कोकिलकण्ठीमा गीत पनि गाइरहेछन् । साँझ भएकालेनौनीका दियाहरु झिलमिल छन् । फूलका झुप्पाहरु छेवैमा छन् । पुजा आरधनाको समय भएको छ ।

यतिकैमा बेल शिर(चिन्डे) भएका लामाहरु/गुरुहरु पुजा गर्न आउँछन् । घुँडा टेकेर भुइँमा शिर टसाएर पटक पटक प्रणाम गर्छन् । र, आर्शिर्वाद लिन त्यहाँका बालवनिता, ठिटाठिटी सबै पुजारीसामू आउँछन् । यसरी प्रथम खण्डमा हेलम्बूको सोङ्गो राजाको दरवार, त्यहाँको प्रकृति छटा, त्यहाँका मानिस र जीवनशैलिको चित्रण गरिएको छ ।

खण्ड ‘ख’ मा राजाकी छोरी लूनीको लोभन सुन्दरताको बारेमा बर्णन गरिएको छ । देवकोटाले उनलाई ‘हेलम्बूकी जून’ को संज्ञा दिएका छन् । छूँदा पाप लाग्ने उनको सुकुमार काय हुनुका साथसाथै उनको जोवन कलकलाउँदो रेशम मुना झैँ कुनै कुनामा टसक्क बसालेको अप्सराको मूर्ति झैँ देखिएको छ । हसिली, रसिली धपक्क बलेकी लूनीको शरीर फूलको थुङ्गोजस्तो छ । गुलाफ लालीमा भएकी, मोति झैँ झल्कने दन्त लहर, कर्णप्रिय आवाज, मलमल आँखा भएकी लूनीको खुट्टामा मणिक बाला लगाएर हातमा चाँदी डाँठे थाँक्रो ढल्काउँछिन् । आफ्नो सुन्दरता देखेर उनी नजिकको मानसरोवरमा आफ्नो प्रतिविम्ब देखेर मुसुमुसु हाँस्छिन् । उनी चढ्ने वाहन सुनले सजिएको छ र डोलेहरुको बथान पनि छ । उनको ओछ्यान ज्यादै कोमल छ । यसरी हेर्दा लूनी तीलको सिरानी हालेर लचकदार ओछ्यानमा सयन गर्ने हेलम्बूकी सुखी राजकमारी हुन् भन्न सकिन्छ ।

खण्ड ‘ग’मा बैशाख पूर्णिमाको दिनमा एक काल्पनिक जात्राको चित्रण गरिएको छ । सारा हेलम्बूबासिले घेरिएको चौरमा कुश्ती, तरवार, ढालको लडाइँ चल्दछ । घोडाहरु साथसाथै रहने त्यस स्याँवा मैदानमाथिको जात्राले काठमाडौँको घोडेजात्रालाई पनि माथ खुवाएको कुरा देवकोटा गर्छन् । जात्रामा धूँ धूँ बाजाहरु बजेका छन् । लडाइँको रौनक छ ।

(ग)
(८)
बीस बर्षको गोरो ठिटो डालडोलको क्या राम्रो।
सेर्पा हेलबूको शहरभन्दा चाङ्ना यो हाम्रो।।
कालो कपाल निधारबाट मन्टो हल्लाई फेक्दछ।
एउटा हातले पसिना पुछि कपाल सम्याइ राख्दछ।।

यसरी ‘मारदौर’ भन्ने जात्रामा बीस बर्षको कालो कपाल भएको गोरो ठिटो चाङ्ना नामको युवक विजय हुन्छन् । निकै सहासी ती युवा हसिलामात्र हैन सुन्दर देखिन्छन् । यतिकैमा लूनीको नजर चाङ्नाउपर पर्दछ । सबैको केन्द्रबिन्दु भएका चाङ्नालाई सबैले जयजयकार गर्छन् । विजयको ताज पहिरन्छन् । त्यसपछि त लूनी झन् झन् मोहित हुन्छिन्युवकप्रति, एकतर्फि रुपमा । त्यस दिनबाट उनी चाङ्नाको यादमा तड्पिन शुरु गर्छिन् । चाङ्नालाई प्रेम गर्न थाल्छिन् ।

खण्ड ‘घ’ मा लूनीको परिवर्तित स्वभावको बारेमा वर्णन गरिएको छ । यसमा लूनी चाङ्नाको मायामा एकोहोरो भएर कस्तूरीको रोग लागेजस्तो देखिन्छिन् । बादलपारि एकोहोरो हेरिरहने लूनी हरेक दिन खिन्न देखिन्छिन् । त्यही भएर उनकी सुसारे दिदी ‘जिन्जी’ ले उनलाई सोध्छिन् ।

(घ)
(९)
क्यान(किन) आज लूनी रानी हेलंबुको जल झैँ
खोजिहिँड्छ्यौ रुनलाई एकान्तको थल झैँ ?’

 

(१०)
जिन्जी दिदी कोमल बनिन् पग्लिएको हिउँ झैँ
चुम्बन दिई भन्छिन् कठै लूनी प्यारी जीउ झैँ।
हेलंबूको राज्य छोडी तिम्रो इच्छा धाउँला
तिम्रो निम्ति मर्नु परे प्राण लिई आउँला ।

 अन्त्यमा, जिन्जीलाई लुनीले चाङ्ना मन परेको कुरा सुनाउँछिन् र जिन्जीले चाङ्नालाई भेटाइदिने आश्वासन दिन्छिन् ।

 

त्यस्तै खण्ड ‘ङ’ मा लूनीले कल्पनै नगरेको कुरा हुन आउँछ । ल्हासाबाट किश्तीमा सजिएर त्यहाँका राजाले पठाएको एक पत्र आइपुग्छ । किश्तीबाट मगमग अत्तरको हरक पनि हावामा गाँसिदै हुन्छ । एकदमै आदर गरी किश्ती ल्याउनेले किश्ती राजालाई दिन्छन् ।

(ङ)

(६)
हामी सानो झासो ल्हामा
ल्हासा घरको साना छाना
बिन्ती आदर गर्दै आई
माग्न हजुरको छोरी लूनी
हाम्रो छोरा ल्हानीलाई

यसरी ल्हासाको राजाले राजकुमारी लूनीलाई आफ्नो छोरोसँग विवाह गर्न प्रस्ताव साजो ल्हामामार्फत पठाउँछन् । र, उक्त प्रस्तावमा हेलम्बूका राजाले निम्न लेखि पठाउँछन् ।

(९)
हामी साना सेर्पा साम्बा
आज्ञा जोहो पालन गर्छौ
मैन्हा(महिना) दिनमा ल्हानो‘(लिन) आए
फूलको शिरले स्वागत गर्छौ ।”

त्यसपछि लूनीले आफूलाई ल्हासाका राजकुमार ल्हानोलाई सुम्पन्न लागेको थाहा पाएपछि निस्तन्द्र हुन्छिन् । एक दिन छटपटिएर ह्मेन्दु वनमा पुगेर चाङ्नाको यादमा रुन थाल्छिन् । त्यो एकान्तको वन निर्जन भएकाले उनको रुवाई वनमा गुञ्जिन्छ । र, कोईलीले प्रश्न गर्छे- को हो ? को हो ?

त्यो हरितीमा वनकुञ्जमा बैँसले लठ्ठ भएको वसन्त ऋतुमा सबै वनप्राणि र वनस्पति रमाइरहेता पनि लूनी एकदमै बादल झैँ उदासी भएर ढिका ढिका आँशु चुवाइरहन्छिन् । यस्तै अवस्थामा उनकी सुसारे दिदी जिन्जी आइपुग्छिन् र सोध्छिन्, किन यति उदास भएकी ? प्रतिकृयामा लूनी भन्छिन् ।

(च)

(7)
ढुकुर एक जोडी
ह्मेन्दु वनमा बस्न खोज्थ्यो नछोडी।
एउटा शिकार खेल्ने टाढा डाडाँको
आई हान्छु भन्छ शरले काँढाको ।”

यति सुनेर जिन्जीले लूनीका आँशु पुछि केलेन्दीको तीरतिर लान्छिन् । सौभाग्य भन्नुपर्छ, लूनीले त्यहाँ, त्यही मन परेको युवक चाङ्नालाई एक तीरमा हृदय फुटि आँशु चुहाउँदै पूजा गरिरहेको देख्छिन् । ‘रानी हे लूनी’ भन्दै आँखा भरी आँशु पारेर खुकुरीको टुप्पोलाई फूलले सिँगारेर पूजा गरिरहेको चाङ्नालाई देखेर उनी आफूलाई सम्हाल्न सक्दिनन् । हो, चाङ्नाको आफूप्रतिको प्रेम देखेर लूनीले आफैँलाई सम्हाल्न सकिनन् र एक्कासि हाम्फालेर उसलाई अंगालिन् । उनीहरु दुवै रुन पुग्छन् त्यो प्रेमको मिलनमा । त्यो दृष्य पिंजडाबाट पोथी ढुकुर फुके झैँ, बनमा भाले ढुकुर लुकेको झैँ भयो भनेर देवकोटाले यसरी भनेका छन् ।

(च)

(१४)
रोए दुई बराबर प्रेमको मिलनमा
दुइटा फूल झैँ जोडी प्रेमको मिलनमा।।
पिजराको ढुकुर पोथि फुके झैँ
बनको हरा कूना भाले लुके झैँ।।

उडीजाँदी आँखा भरभर बोले झैँ ।

खण्ड ‘छ’ मा त्यो मिलनको खुशीयालिमा प्रकृतिले पनि साथ दिने कुरा उल्लेख छ । त्यो दुवैको अमर मायालाई कालले पनि भुल्न नसक्ने, यदि भुलेमा त्यो ह्मेन्दु वन कहिल्यै नफुल्ने कुरा गरिएको छ । तसर्थ ‘चाङ्नालाई लूनी’ र ‘लूनीलाई चाड़्ना’ भनि एकअर्काको आधार तय गरिएको छ । कस्तो गहिरो माया ! तर, अर्को डर यो छ कि उता ल्हासाबाट उनलाई मागिसकेका छन् र उनका पिताले हात दिने कुरा गरिसकेका छन् । यदि उनीहरु निर्धारित समयमा आए भने लूनीले त्यो हेलम्बूबाट ल्हासा सजिलै अन्मिनु पर्ने छ ।

खण्ड ‘ज’ मा राजाले आफ्नी छोरी लूनी र चाङ्नाको सम्बन्ध केलेन्दीको तीरमा झाँगिएको थाहा पाएपछि लूनी पिताको आदेश सुनेर थरथर हुन्छिन् ।

(ज)

(१)
लूनीमेरो खवरदार !!
चाड़्नात्यो हो चोर सरदार ।
जालिस् नाच्न ! केलेन्तिर ।
फेरि देखूँ लौ एकबार
बच्ने छैन घरबार
लेला मेरो तरवार
काटी तेरो चाड़्नाशिर ।

त्यसपछि लूनीका पिताले चाङ्नालाई धपाएर गुम्बा पस्न लगाउँछन् । तर, लूनीलाई चाङ्नाको याद बर्षा ऋतुमा सम्झनाको बिजूली झैँ आइरहन्छ ।

खण्ड ‘झ’ मा लूनीलाई सुनको डोलीमा चढाई हिमाल पारि भोटमा बोकेरअन्माउँदै गरेको चित्रण गरिएको छ । घूँ घूँ तुरही बजाउँदै र ‘ओमे पेमे’ पढ्दै हिमाल पारी भोटको बाटो उकालोज्यादैअसजिलो देखिन्छ । लूनी त्यो ठाढो बाटोमा रुन्छिन् पनि । र, उनका मोतिदाना जहाँ-जहाँ झर्छन् त्यहाँ फूल फुल्दछ भन्ने विश्वास पनि गरिएको छ ।

दशौँ खण्डमा देवकोटाले ल्हासाका राजाको सुन दरबार चित्रण गरेका छन् ।

(ञ)

()
ल्हासा सारा सुन घर छ
यूँका पहाड भरभर छ
पन्ना हाँगा हाँगामा
हीरा हीरा झर्छन् रे
छर छर छड़ छड़ छाँगामा ।।

ल्हासाका घरहरु सबै सुनले जडित भएका, वरपरका सारा पहाड हिउँले परिछन्न र वृक्षमा सेता पातहरु लर्किएका, छाँगाबाट छङ छङ गरेर हीरा झरिरहेका छन् । यसरी एकातिर चाँदीको पर्खालमा दिनको घाम र रातको जून टललल टल्किने र अर्कातिर वनजंगलमा चराचुरुङ्गी र जनावर रमाउने अनि राजहाँसको चालमा परी अप्सराहरु उकालि ओर्हालीमा नाच्ने गर्छन् । ल्हासाका लामाको भनाईअनुसार पृथ्वीको सुनको दरवार हिमालभन्दा गहिरो छ र खासाका मोती मुगाहरु दरवारको खम्बामा सुसज्जित छन् । त्यो हिउँको लुगामाथि सुर्य बहुतै सुहाएको र हिउँको पस्मिनाको सुन्दरताको वर्णन गरिएको छ।यहाँ ल्हासाको सिङ डोङ्गारमा रहेको सुनखानी र लुक्याँङको तलाउको समेत वर्णन गरेका छ । नजिकको सरोवरमा दरवार झलझल देखिने कुरा, दिनको टुनामा छाना टल्कने कुरा पनि उल्लेख छ तर त्यस्तो शानदार दरवारभित्र लूनीको अवस्था कस्तो छ त ?

(ञ)

(१०)
तर होस् ल्हासा सून सुनको
सुनको भेडा सुन उनको ।
लूनीलाई कठै ! आँसु छ ।
विषको वनमा गए झैँ
सिक् सक् लाग्दो मासु छ ।।”

यसरी दरवारमा सबै रमाउँदा लूनी भने मर्मान्तक पीडामा छिन् । उनका अगाडी कोयलकंठी गानामा बजेका झिनतारेमा चिनिया रेशम लाएका मानिसहरु आफ्ना खुट्टालाई फूलको थुँगा झैँ हावामा फ्याँकि-फ्याँकि मखमलमाथि नाचिरहेका छन् । नोकर चाकर हजारौँ भएकाले आ-आफ्नो काम गरी लूनीका इशारा बुझ्नमा तम्सिएका हुन्छन् । यस्तो अवस्थामा लुनीलाई चाङ्नाको झुपडीको फेरि संम्झना आउँछ ।

 

(ज)

               (१६)
संम्झिन उल्टो लूनीले चाड़्ना बस्ने झोपडि
तारा मंडल झ्यांगप्वाले खरको छाँनो आलटाले
बांङ्गोटिं कटेरो, स्याउलाको ओछ्यान लाएको
कम्बल पाखी झत्राको स्वर्ग जस्तो त्यो घडी ।

जहाँ गुड्थ्यो विट्विना घैटै जलको लडिबुडी ।”

 यसरी दश भागको आखिरमा सँगै रहेकी जिन्जीले पनि लूनीको आँखा हेरेर चिन्तित बन्न पुग्छिन् ।

खण्ड ट मा आएर चाङ्नालाई उनले सपनामा पनि देख्न शुरु गर्छिन् । र, यो कुरा जिन्जीलाई यसरी सुनाउँछिन् ।

 (ट)

()
जिन्जी मैले सपनामा
चाड़्नादेखेँ रोएको ।
बुद्द भगवान अगाडि,
शान्त सुन्दर ज्योतिको
बयान पारको स्वास्थको
पयर जलले धोएको ।

बुद्द भगवानको अगाडि शान्त र सुन्दर ज्योतिमा त्यहीँ केलेन्दी नदिको तीरमा खुट्टा धुँदै रहेको अवस्थामा चाङ्नालाई लूनीले सपनामा देखेको कुरा सुनाउँछिन् । सपनामा चाङ्ना पनि एक अकितार्थ प्रेमी भएकाले टलपल आँखाबाट मोति दाना पाउमा झार्दथ्यो । लूनी भने बुद्द भगवानको मूर्तिको सायामा लुकेर टाढैबाट हेर्ने गर्छिन् । उनले चाङ्नालाई’लूनी रानी हेलम्बू’ भन्दै रोएको देख्छिन् । फलस्वरुप कुमुदमा जून ओर्लिए जसरी उनका आँखामा भुलभुल अश्रु बग्न थाल्छन् । यति मात्र होइन, त्यस केलेन्दीको तीरमा चाङ्ना बस्ने गुम्वाभित्र हजारौँ लामाका पुस्तक उनलाई पढ्न लगाइन्थे । तर,उनको मनले ती पुस्तक छिचोल्नु भन्दा पनि लूनीलाई संम्झिरहे । यसरी बुद्दको मूर्ति अगाडि एक ज्योति बनेर लूनीलाई उनले सपनामा पनि देख्न थाले । आखिरमा, लूनीसँग उनको पनि मीठामीठा बातचित हुन थाले, सपनामा ।

खण्ड ‘ड’ मा आइपुग्दा लूनीको वैलिदो शरीरलाई देखेर उनका पति’ल्हानो’ राजकुमारले एकदिन सोध्छन् ।

              (ड)

              (६)
के चाहन्छ तिमीलाई ह्मोन्दो वन रानी”
ल्हानो सोध्छ जवाफ दिन्छन् आँखाभरि पानी ।
कल्ले बुझ्ने जिन्दगीको भित्री कहानी ?”

 खण्ड ‘ढ’ मा लूनीले जिन्जीलाई धेरै प्रश्न गर्छिन तर ती प्रश्नहरु सबै चिन्ताले रुग्ण भएर एकोहोरो गरिरहन्छिन् । र, उनका प्रश्नहरुले जिन्जी पनि रुन पुगीन । उनलाई एउटै रहर जाग्छ-कहिले लुनीलाई चाड़्नासँग भेटाउनु होला ? यहि कारणले जिन्जीले आन्जा भन्ने साथीको सहायता लिन्छिन् । आन्जा पनि लूनीलाई हेर्दै रुन्छिन् ।

खण्ड ‘ण’ मा आएर जिन्जी र आन्जाले आफ्नो बुद्दि घोटि जाल रच्न थाल्छन् र ल्हासाका ख्यातनाम लामाका गुरु ल्हूसिंगोलाई हात लिँदै लूनीलाई हेलम्बू पुर्याएमा मात्र ऊ ठिक हुन्छे भनि परिवञ्चना रच्न थाल्छन् । र, त्यही अनुसार….

  (ण)

  (5)
आञ्जा जान्छे वहाँ कथा सुनाउन
प्रेमको विजोग कथा कुरा घुमाउन।।

 त्यसपछि, ती लामा गुरुले आएर ल्हासाका राजा र रानीलाई भेटछन् र लूनीलाई केलेन्दीको तीरको गुम्बामा नलगी निको नहुने बताउँछन् । यसरी उनीहरु ती ल्हूसिंगोको कुरा मानेर किश्ती सरजाम बोकेर, लूनीलाई डोलीमा चढाई त्यो अपठ्यारो र पर्वते बाटो फर्काउँछन् । यसरि हेलम्बूमा राजकुमार ह्यानो, लूनी, जिन्जी,  आन्जा आइपुग्छन् । सर्वप्रथम राजकुमार ह्यानोले हेलम्बूका राजा आफ्ना ससुरालाई भेट्छन् । बुबाले जुन झैँ वैलिएकी आफ्नो छोरीको मुहार पात झैँ पहेलीएको देख्छन् । बल्ल बल्ल माइती घर आइपुगेकी लूनी लुसुक्क भित्र पस्छिन् ।

खण्ड ‘त’ मा आइपुग्दा राजा साम्बा र रानी हेलम्बाले आफ्नो छोरीको पतित अवस्था देखेर आश्चर्यचकित हुँदै अनेक प्रश्न गर्छन् ।

        (त)

         ()
गुलाफ खोई छोरी ! तिम्रो गालामा ?
रंग वैले जस्ती साँझको तालमा।

               (१३)
आँसु कोसले(कसले) सोध्छौ रानी वैलेको ।
कठै ! कस्ती दुब्दी छैनौ पैलेको ।

छोरीको रुग्णता देखेर रानी हेलेम्बा पनि रुन थाल्छिन् । उनले छोरी लूनीको केश मुसार्दै मुहार पनि बिचार्छिन् । तर ओठ ठप्प छन् । चुपचाप छन् सबै । यसको अर्थ राजा रानी एक किसिमले खुशी पनि छन् अर्को किसिमले दु:खी पनि ।

अन्तिम दोस्रो खण्ड ‘थ’ मा आएर सबैजना चाङ्नालाई भेट्न भनि जुनेली रातमा चाङ्ना बस्ने त्यस केलेन्दी नदिको तीरमा रहेको गुम्बमा पस्दछन् । र….

           ()
पस्दा पस्दै लूनी रानी
लूनी रानी फूलकी खानी
लूनी रानी पानी पानी
डाँको छोडेर
सेर्पा चाड़्नालाई
अंगालोले हाई!!
छोप्छिन गएर ।

 पुग्ने बित्तिकै लूनी पानी पानी हुन्छिन् । डाँको छोडेर रुँदै चाङ्नालाई अंगालो हाल्छिन् । खलबल खलबल भएपछि ध्यानमा बसेको चाङ्नाको गुरु ह्मोको पनि ध्यन भंग हुन्छ । लूनी चाङ्नाको अंगालोमादेखेपछि उनको पती ह्यानो छक्क पर्छ । चाङ्नाका आँखा टलपल टलपल देखिन्छन् । लूनी लहरा झैँ चाङ्नाको काँधमा झुन्डिन्छिन् । अनिमात्रा, लूनीका बुबा साङ्बालाई होश फिर्छ । उनलाई गल्तिको प्रायश्चित पनि हुन जान्छ । लूनी यहि चाङ्नाकै रहिछे भनेर ढुक्क हुन पुग्दछ । यहाँ बुद्दले पनि लूनीलाई चाड़्नाकै हो भनेर भनिएको कुरा त्यस ह्मो लामाले बताउछन । यसरी त्यस रात केलेन्दीको तीरमा सबै सेर्पा र सेर्पीनीले नाचगान गर्छन् । यस खण्डमा ईश्वरले सधै सत् बाटो देखाउने कुरा उल्लेख छ । त्यस्तै,उल्टोबाट भलो नहुने,मानव जिउ चिहानको धुलो हो भन्ने सत्य,संसारमा प्रेमी प्रेमीकाको प्रेम नै ठूलो हो भन्ने यथार्थसन्देश पनि दिइएको छ ।

र, अन्तिम खण्ड ‘द’ अर्थात 18 औँ भागमा आएर पनि सन्देश नै दिइएको छ ।

 (४)

बाहिरी रीति झुटा सारा
दिलको बाटो सतको प्यारा
आखिर सतको सबको चारा
श्यावा! श्यावा, श्याब्बो !”

 सुगन्धित अत्तरभन्दा काँडा भएपनि गुलाफ नै मीठो, मखमलभन्दा पाखि प्यारो, सिटारको आवाजभन्दा वनको चरोको आवाज मीठो भनि चाङ्नाको पक्षमा उदाहरण दिइएको छ । त्यस्तै, सुनैसुनको दरवारभन्दा झुप्रो नै ठिक,बाहिरी चलेका चलनहरु भन्दा आफूले, आफ्नो हृदयले रोजेको वाटो नै सत्यको प्यारो हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । र अन्त्यमा, यो खण्डकाब्य यसरी टुंगिएको छ ।

(७)
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
प्रेमको कथा झल्की ज्वाला
सकिदैमा आइजाला ।
श्यावा!श्यावा श्याब्बो

 यसरी खण्डकाव्य लूनी कुल अठार खण्डमा आएर सकिन्छ । यो खण्डकाव्यमा हेलम्बूकी राजकुमारी लूनीलाई पहिलो प्रेमि चाङ्ना नै प्यारो लाग्छ । चाङ्नाले झुप्रोमा बसेर रात काटे पनि उनीउसको जीवनसाथी हुन पाए झुप्रोमै रमाउने सपना देखेबाट उनीहरुको मिलन भएको हो भन्न सकिन्छ ।यसको अर्थ यो हो कि सुनै सुनको दरवार भएपनि साँचो मायाको अगाडि त्यो बिझाउँने गर्दछ । यो त भयो साँचो मायाको सिद्दान्त ।

यो खण्डकाव्यले प्रकृतिको अनुपम छटाको गजवले महिमागान गाएको छ । अनेक बाग बाटिका, छटा, गुल्म हरितिमा, लता, वन कुसुम, तरङ्गिणी, पहाड पर्वत, हिउँ, सरोवर आदिको चर्चा छ । त्यस्तै, मधुमाधव, घनगटा, एकान्तको ठाउँ(निराला), पूर्णिमाको दिन आदिको चर्चा गरिएको छ । त्यसैले, यी यावात कुराहरुको बयानले यस काव्यलाई उपल्लो दर्जामा पुर्याएको छ । अर्कोतिर, सेर्पा राजाको सुनचाँदीको सभ्य र भव्य दरवारको बयान, त्यतिकै संख्यामा सेवा सुसारे,उनीहरुको जीवनशैली आदि पनि सुक्ष्म रुपमा केलाइएको छ । त्यस्तै,देवकोटाले एक काल्पनिक मेलाको(मानदौर) कल्पना गरेर एक हसिलो र सहासि युवकलाई विजय गराउन सफल भएको कथा पनि चाखलाग्दो छ ।

अर्कोतिर सबैभन्दा ठूलो पक्ष प्रेमलाई अन्त्यमा आएर सफल गराउनु पर्दा यस बीचमा धेरै ठूलो षड्यन्त्र लूनीका साथीहरुले रच्नु परेको यथार्थ पनि नलुकाई भनिएको छ । यी यावत कुराहरुका आधारमा के भन्न सकिन्न सकिन्छ भने,

लूनी खण्डकाव्य एउटा साँचो प्रेमको प्रतिक हो । लूनी खण्डकाब्य प्राचीन सेर्पा जातीको चिनारी हो ।
लूनी खण्डकाब्य नेपालको हिमाली जिल्ला सिन्धुपाल्चोक हेलम्बूको एउटा शानदार दरवारीया राजकुमारीको प्रेमकथा हो । अत: यस भुतलमा रहेका प्रेम जोडिहरुको वास्तविक चित्रण हो र साँचो प्रेमको विजय हो ।

 

प्रतिक्रिया दिनुहोस