ए विश्वकर्मा भाइ के तिमी अझै पनि
शाशकहरुकै लागि तरवार बनाइ रहेका छौ ?

के तिमीले बिर्सियौ
यहि आरनबाट बनाउथे तिम्रा पुर्खाहरु
शाशकहरुका लागि तरवार, खुडा र ढाल
तिम्रै पुर्खाहरुले आविष्कार गरेका हतियारबाट
आर्जेको हो यो राज्य
तर यही राज्यमा तिम्रा पुर्खाहरु, तिम्रै पुर्खाहरुले
बनाएका तरबारबाट काटिनु पर्यो
के अझै तिमी शाशकहरुकै लागि तरवार बनाइ रहेछौ ?

अब तरवार होइन
आरानबाट विचार उध्याउनु पर्ने छ तिमीले
किन कि तिमीले लड्नै छ
आत्मा स्वाभिमानको सिङ्गो लडाइँ ।

अन्तरा

ए सार्की दाइ के तपाईं अझै
शाशकहरुकै खुट्टाको नाप लिदै हुनुहुन्छ ?

आफ्ना सन्तान दरसन्तानहरु र यतिसम्म कि
आफ्नै श्रीमतीको छाला काड्नुभो र सिलाउनु भो
शाशकहरुको लागि सुहाउँदिलो जुत्ता

के तपाई फेरि आफ्नै छाला काढेर
शाशकको लागि जुत्ता सिलाउने सोच्दै हुनु हुन्छ ?
एक छिन पख्नुहोस्

सयौं चिरा परेका तपाईंको खुट्टालाई पनि त
चाहिन्छ जुत्ता
अब तपाई यसो गर्नुहोस् शाशकको छाला काडेर
सिलाउनु होस आफ्ना लागि
एकजोर सुरक्षित जुत्ता ।

अन्तरा

ए दर्जी दाइ के तपाईं अझै तुन्दै हुनु हुन्छ
तपाईंकै पुर्खाको रगतले पोतिएको
शाशकको अहम फरफराउने राष्ट्रिय झण्डा ?

तपाईंको पुर्खाले सियोको शक्तिले तुनेर आर्जेको
यो विशाल राज्य,
तपाईंले कहिल्यै मेरो हो भन्न पाउनु भएन
तरै पनि सद्भभावको सियोले सहिष्णुता तुनिरहनु भयो
सट्टामा उल्टै असमानताको ढिकिमा कुटिनु पर्यो

अब तिम्रो सियोको दुरबिनले ताक्नु पर्ने छ
शाशकको छाति नत्र त कति तुनि बस्छौं हौ ए दर्जि दाइ !
तिम्रो स्वाभिमान उचाल्न
असमर्थ शाशकको अहम फरफराउने यो राष्ट्रिय झण्डा ?

 

अन्तरा …. …… ….. …. …… …. …. ? .. ? ।।

 

मिक्लाजुङ माेरङ

प्रतिक्रिया दिनुहोस