मैले मास कम्युनिकेशन पढेको छैन । पढेको भए यसको सिध्दान्त केही बुझिन्थ्यो होला । तर एकचोटी वरिष्ठ पत्रकार विद्वान देवप्रकाश त्रिपाठीज्युले कुनै प्रसङ्गमा मसङ्ग भन्नू भएको थियो कि “सुरेश जी मैले जन्मेदेखि अहिलेसम्म माछा मासु मुखमा हालेको छैन, तर म आफुलाई साकाहारी हुँ कहिल्यै भन्दिन, किन कि म पत्रकारिता गर्छु ! जान वा अन्जानमा कता कता हिंसा भै रहेको हुन्छ यो पेशामा ”। त्यसपछि मैले आफ्नो पत्रकारिता सम्बन्धि ज्ञानको हल्का जोहो भएको महसुस गरेर आफ्नै लाटो बुध्दिले दुईटा धारको सिध्दान्त निर्धारण गरें।
1) साकाहारी पत्रकारिता
2) मांसहारी पत्रकारिता


राज्यको चौथो अङ्ग अवस्य पनि साकाहारी बन्नुपर्छ । साकाहारी वा मांसहारी भने को के हो भनेर भनिरहनु नपर्ला यो बिम्बात्मक कुरा हो, यसलाई जसरी बुझ्दा पनि भयो । तर एउटा कुरा के सत्य हो भने साकाहारी पत्रकारिता गर्न धेरै कठिन छ एक अर्थमा असम्भव पनि ! तर प्रयास भएको हेर्न मजा लाग्छ मलाई चाहिँ किन कि यसको प्रभाव सिधै समाजको आचरण र ब्यवहारमा पर्न जान्छ । अर्कोतिर अहिले पत्रकारहरुसङ्ग मात्र सम्प्रेषण माध्यम छैन आजको डिजिटल युगमा यो विभिन्न सामाजिक सन्जाल मार्फत आम मान्छेसम्म पुगिसक्यो । सम्प्रेषण आखिर सम्प्रेषण नै हो, जोसुकैले गरोस त्यसको प्रभाव आम समुदायमा अवस्य परिहाल्छ । त्यसैले आम मान्छे पनि सम्प्रेषण को मामलामा साकाहारी बन्न जरुरी भै सकेको छ । साकाहारी या मांसहारी भन्ने कुरा संस्कार को कुरा हो । विकसित संस्कार र हाम्रो काँचो संस्कारबिच केही फरक छन् ।
सेप्टेम्बर 11 मा अमेरीकाको World trade center (tween tower) ध्वस्त भयो, त्यस घटनाको समाचार 10 मिनेट भित्र संसार भर फैलियो ! आतंकवादी सङ्गठन अलकायदाले जिम्मेवारी लिएको सो घटनामा हजारौं मानिस मारिए त्यो भन्दा बढि घाईते भए तर त्यहाँको मिडियामा न कुनै घाउ न कुनै लास प्रसारण वा प्रकाशित भए । उनिहरु आफुले मात्र प्रशारण नगरेका होईनन सन्सार भरका कुनै पनि मिडियालाई त्यस घटनाको कुनै यस्तो फुटेज उपलब्ध हुन दिएनन जसलाई हेर्दा सर्ब साधारण बिचलित होउन वा त्यसबाट आम मान्छेलाई मानसिक असर परोस अझ भन्नू पर्दा उनीहरूले आतंककारीहरुको त्यो कुत्सित मनसाय पूरा हुन दिएनन्, जहाँ योजना थियो कि एक ठाउमा हिंसात्मक घटना घटाएर विश्व भरका मानिसहरूमा भय, त्रास र आतङ्क सृजना गर्ने । विकसित र उन्नत मानसिकता बोकेको समाजले त्यस्ता नकारात्मक र पछिसम्म मानव मस्तिष्क मा आघात पुग्ने समाचार न संचारकर्मी भएर सम्प्रेषण गर्छ न आम मानिस भएर स्विकार्छ । त्यसको सट्टा केही रचनात्मक र कुनै सुकर्म गरिरहेको मान्छे वा समुहको आत्मबल र हौसला बढ्ने समाचारले स्थान पायो भने आज भै रहेको दश राम्रा कामहरू बढेर भोलि सय, हजार मा र पर्सि लाखमा सुरु हुन्छन् भन्ने मानसिकता हुन्छ त्यहाँ । विकसित भएर यो मानसिकता आयो भनेर सोच्नु हाम्रो पटमुर्खता हो, बरु यसलाई बुझ्दा उनिहरुको सकारात्मक मानसिकता ले गर्दा नै हामी भन्दा विकसित बनेका हुन भनेर सोच्न थाल्नुपर्छ । यत्ती सोच्यौ भने मात्रै पनि हामी आजैबाट सुधारोन्मुख मानसिकतामा प्रबेश गर्छौ । अब प्रसङ्ग उठि नै सकेपछि हाम्रो अहिलेको सम्प्रेषण शैली तिर एक छिन नियालौ न । … मुलधारका ठुला मिडियादेखि हामी आम नागरीकका ब्यकिगत वर्कत ले भ्याएसम्मका माध्यम मा सम्प्रेषित समाचार वा बिचार गाली गलौज, झुट्टा आरोप प्रत्यारोप,हिंसा र अस्लिल तस्वीर सामाग्री, जथाभावी !!!
चाहे जो सुकैलाई त्यसले असर पारोस हामी त्यसको जिम्मेवारी लिने वाला छैनौं । आफू अहिलेलाई हिरो भैयो सक्कियो देश र समाज हामीलाई के मतलब ? भविष्य ? कट्ठै !! के कुरा गर्नु भको , भविष्य भनेको त भोलि भनेको हैन ? भोलि कहिल्यै आउछ ? हामी त यस्ता बुध्दिमान !!! जय होस हाम्रो ।

प्रतिक्रिया दिनुहोस