एउटा भनाई छ, “मृत्यु जीवनको विपरित होइन, यो जीवनको एक भाग हो ।” एउटा भागको रुपमा मृत्युलाई बुझ्दा जीवन झन् सरल र फिसौटो बन्न जाँदैन, बरु झन जटिल तर जाजुल्य मार्गमा होमिन पुग्छ । कर्मको आयाम पहारझैँ(पहाड होइन) फैलदै ददिप्यमान भएर जान्छ यो सबै मृत्यलाई जीवनको एक हिस्साको रुपमा ग्रहण गर्नुको परिणाम हो जस्तो लाग्छ तर, के हामीहरु मृत्युको बारेमा सोचिरहेका छौ र ? के बाँच्दा बाँच्दै मृत्युलाई जीवनको एक काकतालिय प्राकृतिक प्रकृयाको रुपमा ग्रहण गरिरहेको छौँ र ? सायद बिरैलैले गरेका छौँ कि । मृत्युबारेको बुझाई विविध छ । यति भनिरहँदा मैले भन्नैपर्छ कि म मृत्युबारे लेख्न मजबुत छैन ।न त मसँग यसबारे तीतो अनुभव नै छ । तर, यो महामारीले गर्दा मृत्यु’ शब्दबारे म अलि बढी केन्द्रित भएछु । फलस्वरुप, मैले यस विषयमा खोज अनुसन्धान र साधना गरेर लेख्ने प्रयास गरेँ ।

लेखकलाई साहित्यको संसारमा पसेपछि मृत्युको कुरा बहुत आउँछ । पात्रलाई मृत्युदेखि टाढै राखौँ भन्ने लाग्छ । कतिपय लेखकहरु सफल पनि हुन्छन् । तर, पात्रहरुको कर्मले उनीहरुलाई डोहोर्याएर कालगति आफैँ निम्त्याउन पुग्दा लेखक रोकिन भने सक्दैन । शायद मैले पनि सकिनँ मेरो प्रकाशोन्मुख उपन्यासमा । यो सबै अधम कर्मको परिणाम हो जस्तो लाग्छ । र, यसप्रकार जीवनमा पनि ।

बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले मृत्युबारे भनेका छन्, “म मेरो निर्मातालाई भेट्न तयार छु, तर सवाल यो छ कि के निर्माता मलाई भेटने महान परीक्षाको लागि तयार हनुहुन्छ ?” यस भनाईलाई गाम्भिर्यता देखाउँदा मृत्युका लागि आफू तयारी मात्र पूर्ण होइन जब यमराज तयार रहनुहुन्र भने । अर्को अर्थमा बुझ्दा सत कर्ममा होमिएको मान्छेलाई के यमराजले चाँडै आँखा लगाउँलान् र ? तर, यो घामझैँ छर्लङ छ कि मृत्यु शास्वत सत्य हो, अकाट्य हो, अहार्य हो, चाहे मनुष्यले असल कर्म गरोस् या खराब ।

हालसालै राष्ट्रकवि माधवप्रसाद घिमिरेले मृत्युको यात्रा तय गर्नुभयो । साहित्यिक व्यक्तित्व कविवर घिमिरेको वि.सं. २०३३ सालमा एउटा गीतिकाव्य (किन्नरकिन्नरी) प्रकाशित भएको थियो । त्यस गीतिकाव्यमा उहाँले आफ्नो मृत्युबारे सुरम्य परिकल्पना गर्दै वि.सं. २०१६ सालमा रच्नुभएको एक गीत अहिले उहाँको मृत्युलगतै निकै गुञ्जिरहेको छ ।
“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा
गीतका चारू चरण ।”
कविहरु धेरै लामो माइलको काल्पनिक यात्रा मात्र गर्दैनन्, उनीहरु अमानुषी लोकसम्मको यात्रामा हराउँदा आउने मनसिजलाई कविता वा काव्यका माध्यमबाट व्यक्त गर्दछन् । जहाँ पुग्दैनन् रवी त्यहाँ पुग्छन् कवि भन्ने भारतीय कहाबत जे छ । आखिर हो पनि । बालकृष्ण समले मृत्युलाई बुझेरै ‘इच्छा’ कविता लेखेँ । लेखनाथ पौड्यालको ‘कालमहिमा’ कवितामा निम्न लेखे ।

“भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।”

महाकवि देवकोटा ‘वीरहरु’ शीर्षकको निबन्धमा लेख्दछन्, “मृत्यु नै संसारको विशाल त्रास छ ।” एब्स्ट्रयाक चिन्तन प्याजका लागि मदन पुरस्कार विजेता तथा निबन्धकार शङ्कर लामिछानेले एक निबन्धमा लेखेका छन्, “हो, मृत्युका अनेक रुप छन् : त्यतिकै तीव्रता र विविधता यसमा छ जतिको छ जीवनमा ।” प्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल तत्कालिन गोरखापत्र संस्थानलाई राजीनामा दिने सिलसिलामा मृत्युलाई आत्मासाथ गर्दै लेख्छन्, “गोरखापत्रको सेवा छड्नुको साथै म यो देश र धर्तिलाई पनि छाड्दैछु ।” (एक विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको घटनाबाट निकै विक्षप्त बनेका अर्यालले आफैं गोकर्णस्थित बागमती नदीमा हामफालेर जीवनको इहलिला समाप्त पारेका थिए ।)

यसबाट हामी के निर्क्योलमा पुग्दछौँ भने एकाध मृत्यु छाडेर भन्ने हो भने मृत्युदेखि मानिस हरहमेशा डराउँछ र जीवनमा फरक फरक नित्यतामा ऊ आफूलाई बसिभूत पारिरहन हतारिएको छ । मलाई यो अचम्म लाग्दछ कि मृत्युबारे घरायसी बहस चलायो भने यो बहस हाउगुजी भैदिन्छ र हावाको दरवारझैँ बनिदिन्छ । आखिर मानिसहरु यसबारे किन खुलेर कुरा गर्ने मन गर्दैनन् त ? मलाई त लाग्छ मृत्यु शत्रुभन्दा पनि भयांकर घाखतिलो छ । यो देखि मानिस चार कोश पर टाढिएर हिँड्दछ । तर, म भन्छु कि मृत्युबाट भागेर होइन चिनेर जीवन जिऔँ । मृत्युलाई नगिचबाट चिनेकी मनिसा कोइराला भन्छिन्, “कोही बोल्न नचाहने र प्रश्न नगर्ने बिषय मृत्यु हो ।” आखिर यो अभिव्यक्तिमा कति सत्यता लुकेको छ ? यो प्रश्न तपाईँहरुलाई नै छोडेँ ।

स्टिभ जब्स भन्दछन्, “म छिटै मर्दैछु भन्ने बोधले मलाई जीवनमा ठूला ठूला निर्णय लिन मद्दत गरेको छ ।” जब मानिसले मृत्यलाई चिन्दछ ऊ बाँच्नुको सार खोज्न थाल्दछ । यसको अर्थ कोही प्रणयनतिर वा कलातिर, कोही प्राप्तितिर, कोही अनुभूतिर त कोही वाकतिर लागेको अनुमान गर्न सकिन्छ । आखिर सोचिल्याउने हो भने जीवन एक शताब्दीभरिको यात्रा पनि होइन । यो विचरण, अनुभूति र हाँसिमजाक गर्दागर्दै पनि त फिस्स जान सक्छ । यसकारण यसबाट भाग्ने भन्दा पनि यसलाई बुझ्नेतिर लाग्दा बाँच्नुको गुञ्जायस तीब्रतर भएर जाने थियो । हुन त भोलि मरिन्छ भनेर आज गर्ने पनि होइन । तर, म ढिलो चाँडो ‘अमरपुर’ को यात्रा तय गर्दैछु भन्ने हेक्का चैँ हुनुपर्दछ भन्न खोजेको आशय हो जसरी कवि तथा साहित्यकार वा लेखकहरुले कल्पना गरे ।

जीवनको फरक बुझाईजस्तै मानिसको बिभिन्न वस्तु वा विषयप्रति पनि फरकफरक धारणा हुन्छ । यसको प्रमुख कारण भोगाईको विविधता हो । अमेरिकी लेखिका हेलेन केलरले ‘मेरो जीवनका कथाहरु’ मा लेखेकी छिन्, “मृत्यु भनेको एउटा कोठाबाट अर्को कोठामा गएभन्दा बढी छैन । तर, त्यहाँ मेरो लागि फरक छ, तपाईँहरुलाई थाहै छ त्यो कोठामा मैले देख्न सक्नेछु ।” उनलाई संसारमा दृष्टिविहिनतको पीढा मृत्युपछिको जीवनमा मेट्ने अभिलाषा थियो । त्यस्तै कतिपय लेखक/लेखिकाहरुले मृत्युपश्चात आफ्नो पार्थिव शरिरलाई गर्ने संस्कारमा, जनमानसमा आग्रह गरेका पनि पढ्न पाइन्छ । लेखिका केलरकै प्रसङ्गमा हाम्री मुलकी लेखिका झमक घिमिरेलेलाई पनि जोडिहालौँ । उनको मदन पुरस्कार कृति ‘जीवन काडाँ कि फूल’ को अन्तिम भागमा पढ्न पाइन्छ, “मृत्युले लगेपछि पनि लासलाई कुनै धर्मको कात्रो नओढाइयोस्, किरियापुत्री पनि नबसालियोस्, लासमाथि दागबत्ति नदियोस् ।” मृत्युसम्बन्धि यस्ता थुप्रै दृष्टान्तहरु हामी सृजनामा भेट्दछौ जुन मृत्युको आसपासमा घुमिरहन्छ ।

अमेरिकी नागरिक अधिकार आन्दोलनको अगुवा मार्टिन लुथर किङ भन्छन्, “हरेक मानिसले एक्लै दुइवटा चिज गर्नुपर्दछ ति हुन, आफ्नो विश्वास गर्नु र आफ्नो मृत्यु ।” त्यस्तै प्रसिद्द चित्रकार लियोनार्दो दा भिन्ची भन्छन्, “जब म कसरी बाँच्नु भनेर सोच्थेँ तब कसरी मर्नुपर्छ भनेर सिकेको छु ।” यसमा लेखक पाओलो कोएलोको फरक धारणा छ । उनी भन्छन्, “मानिस भनेको ऊर्जा हो । ऊर्जा मर्दैन, रुपान्तरण हुन्छ । त्यसलाई मृत्यु ठान्नुहुन्छ भने मेरो भन्नु केही छैन ।” वैज्ञानिक दृष्टिकोणमा, यो नै शक्ति रुपान्तरणको सिद्दान्त हो ।

म अनुभब गरिरहेछु, कुनै पनि साहित्यकारका लागि मृत्यु सामान्य प्रकृया हो । यस्तो निर्णयमा पाठक पनि पुग्न सक्छ यदि उसले मृत्युसम्बन्धी थुप्रै पुस्तकहरु अध्यायन गरेको छ भने । मृत्युलाई आत्मासाथ गरेर भनौँ या चिनेर हिँडेको छ भने । यसो भनिरहँदा तपाईँको मनमा एक भाव जाग्यो होला जुन मैले अनुमान गरेँ । यो भनाई वा भावमा मैले साहित्यकारलाई उँचो देखाउन खोजेको चैँ होइन । तर, उनीहरुले मृत्युसम्मको मात्र हैन त्यो भन्दा टाढाँसम्मको कल्पना गरिसके भन्न खोजेको हुँ, जस्तो माथि उल्लेख छ ।

मृत्युको रुप फरकफरक हुन्छ । कोही डाँडा पारीको घाम भएर अस्ताउँछन् भने कोही डाँडावारीकै । कोही दुर्घटित हुन पुग्छन् भने कोही अभिरु बनेर आफैँ इहलीला समाप्त पार्दछन् । मृत्युअगाडि हामी जोसुकै बाँच्नेहरुको, जानेहरुको क्षतिमा आङ सिरङ्ग हुन्छ । हामी दु:खी र शोकाकुल हुन पुग्दछौँ । कतिपय मानिसको मृत्यु हामीलाई पत्यार पनि लाग्दैन । यसका साथसाथै हामी अचिनारुहरुको मृत्युमा त्यति ध्यान दिदैनौँ जति चिनजानकोमा दिन्छौँ । यो मानविय प्रवृति हो । तर, एउटा कुरा यो सत्य हो कि यति सबै मृत्युहरुलाई प्रत्यक्ष र अप्रत्क्ष हेरिरहेका हामी ‘म पनि एकदिन मर्दैछु’ भन्ने चेत हुँदैन । आखिर मृत्युको घण्टि पनि हुँदैन । यहि सिलसिलामा प्राचिन ग्रिक नाटककार युरीपिडेस भन्छन्, “कसैले पनि आत्मविस्वासका साथ भन्न सक्दैनन् कि ऊ भोलि बाँचिरहनेछ ।” आखिर यो सत्य पनि हो ।

कवि तथा लेखकहरुले जीवनलाई एउटा फूलसँग वा नदीसँग दाँजिसकेका छन् । एउटा मैनवत्तीसँग या एउटा बृक्षसँग दाँजिसकेका छन् । यो दाँज्नुको पछाडि मृत्युकै शास्वत सत्य अकाट्य भएर हो । निकटमै मृत्युको सोपानले उनीहरुलाई वर्तमानमा ‘सत्यम्, शिवम् र सुन्दरम्’ को समिश्रणलाई आश्लेष गरिदियो । यो यहि इतिश्री को बुझाइले हो । तर, हामी मृत्युपछिको जीवनमा पनि सतर्क छौँ भने हामी सत् कर्ममा लाग्ने मानव पक्कै बन्ने थियौँ । हामीमा छलछाम, धोकाधडी, पूर्वाग्रह, दाउपेच, नियतकर्म या अमंगलकारी बिचार आरुढ हुने थिएन । हामी आस्तिक बन्ने थियौँ । फलस्वरुप, हामीमा ‘सु’ को कृपादृष्टि परिरहने थियो । अफसोच, हामी त्यो लयमा बग्न सकेनौँ । प्रसिद्द दार्सनिक प्लेटो भन्दछन्, “यदि मृत्युका लागि तयारी पुगेको छ भने हामी डराउनु हुँदैन ।”

हामीमा उमेर अनुसार मृत्युको विषयगत बुझाई हुन्छ । मनोवैज्ञानिकहरु वालवालिकमा मृत्युसम्वन्धी धारणा पाँच बर्षको उमेरदेखि आउँने कुरा गर्छन । उनीहरुका अनुसार यो धारणा किशोरअवस्थासम्म रातमा निदाउनुजस्तै अस्थायि कुराको रुपमा बुझाई रहन्छ र यसलाई औषधिमुलोबाट निको हुने सोच राखिन्छ । यस्ता कुराहरु हामी परी कथामा धेरै पनि पढ्दछौँ । मानिसमा त्यो भन्दा फरक बुझाई वा धारणा आफ्नो क्षेत्र अनुसार हुन्छ । जैविकशास्त्रीले मृत्युलाई शरीरिक अंगहरुको तालमेल समाप्तिको रुपमा ब्याख्या गछन् । मनोविज्ञानको क्षेत्रमा मृत्युलाई बुझ्दा मानविय व्यवहार र विचारको दुर्घटनाको रुपमा बुझिन्छ । दार्शनिक रुपमा यसको बुझाई अनगिन्ती रहँदै आएको छ । दार्शनिक प्लेटोले मृत्युलाई जीवनको प्राप्तिको रुपमा लिन्छन् । दर्शनले मृत्युको वास्तविकता अध्यायन गर्दैन । यसले मृत्युको कारणले विजित मानविय उहापोहलाई अध्यायन गर्दछ । त्यस्तै आध्यात्मकवादले मृत्युलाई असत्य भनि चिनाएको छ । आत्मा कहिल्यै मर्दैन भन्ने सवालमा कृष्णले अर्जुनलाई भन्दछन्, “तिमी भयभित नहोऊ । हामी धेरै अगाडिदेखि नै रहेकै छौँ । जगतमा कोही नष्ट हुँदैन । हामी अनन्तसम्म रहन्छौँ ।”

अत: जसले जुनसुकै दृष्टिकोणबाट चिहाएपनि मृत्यु अजिर छ । जीवन भंगी छ । यसै कारणले मजा पनि छ । हामीमा बाँच्ने र बाँचिरहनको इष्टि छ । असल कर्ममा आफूलाई स्तरण गर्नु र मृत्युलाई स्विकार्दै कलाको यात्रामा लागिरहनु नै बाँच्नुको सार हो । यसमा नै मृत्युपर्यन्तसम्म बाँचिरहने तत्व लुकेको हुन्छ । अन्त्यमा, क्षेत्रप्रताप अधिकारीको यो शब्दले भनेझैँ मृत्यु ठूलो कुरा हो जस्तो जीवन, भन्ने पनि लाग्दछ ।

“जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ ।”

प्रतिक्रिया दिनुहोस