“तपाईंको छोरी भयो ल ।”
नर्सले नवजात शिशु दिँदै सम्झाएको पारामा भनिन् । नर्स अनावश्यक रुपमा ज्यादै विनम्र र हार्दिक भएर प्रस्तुत भएकी थिइन् । सायद उनले नेपाली समाज र समाजको मनोविज्ञान राम्ररी बुझेकी थिइन्। छोरा भएको भए भन्थिन् होला “बधाई छ तपाईंको छोरा भयो” ।

अप्रेसन थिएटर बाहिर बसिरहेका कुरुवाहरुले मेरो अनुहारको भाव विचार गरे। सायद उनीहरु मेरो मनमा के बितिरहेको छ अनुहारबाट पढ्न चाहान्थे।
“तपाईंको छोरी भयो ल” भन्ने नर्सको उद्गार सुनिसकेका उनीहरु मलाई फेरि पनि सोध्न चाहान्थे।
“तपाईंको के भयो छोरा कि छोरी ?”
कसैले घुमाउरो पाराले सोध्थ्यो “पहिलो कि दोस्रो ?”
“दोस्रो ।”
“पहिलाको के छ ?”
“छोरी ।”
“अहिलेको ?”
“छोरी ।”
अनि केही नै बित्यास परेको जस्तो उनीहरु जिब्रो टोक्थे
“छोरी नै पो ?”

सायद उनीहरु मलाई पनि समाजका परम्परागत र रुढिग्रत मानसिकता भएको लोग्ने मान्छे ठान्थे । हो म जरुर यो समाजको हिस्सा त हुँ तर म प्रत्येकलार्इ कसरी सम्झाऊँ, कि म रुढीवादी लोग्ने मान्छे भन्दा अलिक फरक छु भनेर । उनीहरु मलाई शान्तवना दिन्थे।
“के गर्नु भनेको जस्तो हुदैन ।”
“छोरा र छोरी उस्तै हो।”
“अचेल त छोराले भन्दा छोरीले हेर्छ।”

यस्तो लाग्थ्यो कि म सम्पूर्ण गासबास गुमाएको सुकुम्बासी परेवा हुँ, वा पहिरोमा आफ्ना नातागोता, घरपरिवार सबै सबै गुमाएको अभागी पात्र हु। उनीहरु मलाई कुनै दयाको पात्र झै गरी सम्झाउँथे। एकजना यस्तै बृद्ध थिए। उनी मलाई भन्दै थिएः
“छोरा र छोरीमा फरक छैन दुःख नमान नानी ।”
“मैले दुःख मानेकै कहाँ छु र ?”
अझै ती बृद्ध सन्सारमा छोरा नहुने तिमी मात्रै कहाँ होर भन्ने भावमा अर्थ्याउँदै थिए ।
“मेरो पनि छ ओटी छोरी नै छोरी छन्।”
उफ् ती बृद्धको पाखण्डिपनप्रति दया लागेर आयो। छोरा र छोरीमा फरक छैन भन्ने अनि आफैले चै छ–छ ओटिसम्म छोरी जन्माउने ? के त्यो छोराप्रतिको लालसा थिएन ?

मान्छेहरु किन मलाई जिज्ञासु नजरले हेर्छन् ? मान्छेहरु किन मेरो खुसीमा शङ्का गर्छन्? के मेरो अनुहारमा प्रज्वालित आभा नै ती सम्पूर्ण जिज्ञासा र शङ्काको जवाफ होइन र ?

बरु मलाई चै के लाग्थ्यो भने पहिलो सन्तान जन्मिदा जस्तो खुसी दोस्रो सन्तान जन्मिदा हुँदैन। तर होइन रहेछ जब नुमाफुङको जन्म भयो सबै भ्रमको निवार्ण भएर गयो । सन्तानको लागि बाआमाको माया त बाडेर कहिल्यै नघट्ने रहेछ। उहीँ अवोधता उहीँ निश्चलता हुने भए त कलेजीमा गुटुमुटु पारे लुकाउँ जस्तो या त हृदयमा पोको पारे मायाले बेरिरहुँ जस्तो। सुगन्धित फूललार्इ झैँ सुघिरहुँ जस्तो । यति सुकोमल शिशुलाई पनि कसरी मान्छेहरु छोरी भयो भनेर उपेक्षा गर्न सक्छन् ? यदि उनीहरुको अनुहारमा मात्रै केही बेर हेरिरहने हो भने छिन छिनमै परिवर्तन भइ रहने शिशुहरुको भावभङ्गिले जो कोहीले जिवनको दुःख र तनावहरु उसै बिर्सिन्छ।

नानी बोकेर हस्पिटलको विभिन्न वार्ड र कुरुवा प्रतिक्षालयमा डुलिरहँदा मान्छेहरु उहीँ थेगो दोहोर्याउँथे
“छोरा कि छोरी ?”
छोरा जन्मिएका आफन्तहरु गर्वका साथ उच्च स्वारमा भन्थे, “हाम्रो त छोरा भयो ।”
अनि छोरी जन्मिएका आफन्तहरु निन्यारो अनुहार बनाउँदै भन्थे “हाम्रो पनि छोरी नै भयो।”
उनीहरुको आवाज उदासीनताले भरिएको हुन्थ्यो । मैले गाउँ समाजमा लैङ्गिक असमानता नदेखे होइन तर यति निकट गरेर अनुभूति गरेको चै हस्पिटलमै हो।

छोरी भयो भनेर मान्छेहरु कोही डाक्टर सगैँ बाझ्न बेर लाउँथेनन्। कसैको परदेश गएका लोग्नेहरु फेरि पनि छोरी नै जन्माइस भनेर फोन गरेर स्वास्नीहरुलाइ हकार्न पछि पर्थेनन् । सासू र आमाजूहरु त दुःखी हुने नै भए तर कोही स्वायम् छोरी जन्माउने आमाहरु पनि छोरी भयो भनेर रोइ रहेका हुन्थे। छोरीलाइ किन यो समाज मान्छे ठान्दैन हँ ? किन मान्छेहरु छोरीलार्इ महत्त्वहीन ठान्छ हँ ? के फ्लोरेन्स नाइटिगेल छोरी होइन ? मदरटेरेसा छोरी होइन ? म्याडम क्विरी छोरी होइन ? के अनुराधा कोइराला, पारिजात , झमक घिमिरे , छोरी होइन ? छोरी भएन भनेर दुःखी भएकाहरु के तिमीहरुलाई जन्माउने आमा पनि छोरी (नारी) होइन ? के गान्धी , माक्स, माओ, मण्डेला र अब्राहम जन्माउने पनि छोरी होइन ? तिमीहरुको इश्वर ? प्रभु राम, कृष्ण, जिसस, फाल्गुनन्द, बुद्ध , महावीर जन्माउने छोरी होइन ? के यो सृष्टीको निरन्तरता छोरीबिना सम्भव छ ?

वर्खाको समय खोला बाढीको बेला भएकाले उति बेल‌ै घरजान सम्भव नभएपछि हस्पिटलबाट डिस्चार्ज भएर हामी भुमिकाको माइतीघर गयौँ। त्यहाँ पनि के भने बलेसी कट्ने गरी अलि ठूलो स्वारले बोल्नै नहुने सासू आमा सजक गराउन आइपुगिहाल्ने
“नानी ठूलो स्वारले बोल्नु हुँदैन छिमेकीले सुन्यो भने फेरि छोरी जन्मियो र उनीहरु खुसी छैन, भनेर कुरा काट्छन्।
उफ् ! म हैरान भएँ । एउटी छोरी जन्मिँदै यति धेरै असमानता र टोकसोको सामाना गर्नु पर्दोरहेछ भने एउटी छोरी मान्छेले जीवन कालमा कति धेरै लैङ्गकि विभेद र उपेक्षा बेहोर्नु पर्ला ? म सोचेरै चिसो हिउँ जमे। महिलाहरुको हकहित अधिकारको बारे लेख्ने बोल्ने अधिकार कर्मी र लेखकहरुको कडा कडा लेख र सतोश्राप सुनेर, पढेर “ह्या यस्तो पनि..” भनेर चिढिने मलाई त्यसपछि लाग्यो । उनीहरुको नारा र भाषण अझै बुलन्द हुनुपर्छ। उनीहरुको कलमको धार अझै धारिलो हुनुपर्छ। किन भने कैयौं वर्षसम्म जरागाढेर बसेको पितृसत्तात्मक सोच उसै ढल्नेवाला छैन। त्यसकारण लाग्यो उनीहरुले मुठ्ठीलाई अझै कसिलो बनाउनु पर्छ।

हप्ता दिन पुगपछि टाँचा काट्नलाइ नजिकैको क्लिनकबाट घरमै स्वास्थ्यकर्मी बोलायौ। टाँचा काट्दै उ गफिन थाल्यो।
“डब्बल अप्रेसन हो ?”
“हो भन्ने जनाउको लागि भुमिकाले टाउको हल्लाइन्।
बहिनीको आगमनले खुसी भएर बुर्कुसी मारिरहेकी सेसेफुङ तिर देखाउँदै फेरि सोध्यो “यहि हो पहिलो सन्तान ?”
“अँ ।”
भुमिकाको जवाफ भुइँमा खस्न नपाउँदै ती स्वास्थ्यकर्मीले अफसोस जनाउँदै भने “ए बितिगए छ नि पहिलो पनि छोरी नै पो हो ?”
भुमिकाको अनुहार तिर हेर्दै बोल्यो
“अनि भन्नू पर्दैन मलाई, लिङ्ग पहिचान गर्नु पर्थ्थो नि, तिमारलाई त का भन्छ हामीलाई त भन्छ नि म ठाउँमा लाग्थे, थुक्का बिति गएछ नि ।”

“ए बितिगएछ नि” यो वाक्य मेरो कान हुँदै दिलमा गएर बिझ्यो । भुमिकालाई हेरे उदास थिइन् । सायद उनी टाका खोल्दाको दुःखाइले भन्दा पनि स्वास्थ्यकर्मीको वचनले मर्महात थिइन् । स्वास्थ्यकर्मीहरुलाई समाजमा शिक्षित र चेतनशील व्यक्तिको रुपमा लिइन्छ तर उनीहरु नै “ए छोरी पो ? एबोर्सन गरेर फ्याल्नु नि ” भन्दै हिँड्छन्। त्यसैले पढेर मात्रै कोही शिकक्षित हुँदैन भन्ने धारणा फेरि एक पटक प्रवल भएर आयो।

सुत्केरी हेर्न आउनेहरु प्रायः महिलाहरु नै हुन्थे । उनीहरु सामान्य स्वास्थ्य स्थितिको बारेमा सोधपुछ गरेपछि उहीँ रुढीबादी मानसिकताकै विकार टकटकाउँदै भन्थे “छोरी नै पो, यो पाल छोरा हुनु नि, एउटा छोरा एउटी छोरी ठिक्क हुन्थ्यो ।”
“यत्रो दुई दुई पटक पेट चिरेर पनि छोरी भयो भने त के गर्नु हौ।”
“जल्ले जे भने पनि छोरा भएको जस्तो चै हुदैन क्या”
“छोरा नहुनेलार्इ त अपुताली भन्छ”

यसो भनिराख्दा अप्रेसन गरेर बद्शालाको पशुलाई झै शरीर काटिएकी बिचरी भुमिकाको मनमा के बित्थ्यो होला ?
त्यस बेला जीवन मरणको स्थितिमा पुगेर फर्किएको हुन्छ एउटी महिला उनीहरुलाई हौसला र प्रेम त कता हो कता अझै छोरा जन्माइन भनेर टोकसो दिइन्छ । तन त दुखेको हुन्छ हुन्छ तर मन पनि हामी दुखाइ दिन्छौं । खटाइ खटाइ यस्तो उस्तो जन्माउनु भनेर दबाब दिनेहरुले एक पल्ट हस्पिटलको प्रसुति वार्डमा गएर उनीहरुको चित्कार सुने हुने।

मैले कहिले पनि उसलाई छोरा नै चाहिन्छ भनिनँ जे हुन्छ स्विकार्नु पर्छ भने। हामीले गर्ने मायामा कुनै विभेद छैन। हामीले दिने आशिर्वादमा कुनै कमी छैन। तर यो सामाज किन छोरा र छोरीमा विभेद देख्छ हँ ? किन छोरा छोरीमा घटिबढी देख्छ हँ ? मलाई लाग्थ्यो यो शताब्दीको हाम्रो समाज चेतनाको हिसाबले धेरै विकशित छ अहँ तर होइन रहेछ । हाम्रो समाजको चेतना देखेर म आहत भए ।

हस्पिटलबाट घरमा आइसके पछि आमाले सबैभन्दा पहिले सोध्नु भएको थियो
“फेरि अर्को जन्माउनु त मिल्छ नि होइन ?”
हामीलाई त लागेको थियो । बच्चा र आमाको अवस्था बारे सोध्नु हुन्छ होला भनेर तर आमाले त “फेरि अर्को जन्माउन त मिल्छ नि होइन” भनेर पो सोध्नु भो। बहुत नमिठो लाग्यो । किन महिलाहरु नै एउटी छोरीहरुको आगमनमा खुसी हुन सक्दैनन् हँ?

मान्छेहरुले नानाथरी भनी रहँदा यस्तो लाग्थ्यो कि छोरी मान्छे नै होइन जसको सन्सारमा कुनै महत्त्व नै छैन। मलाई दुःख भन्दा पनि समाजको चेतनाको स्तर देखेर बडो अच्चम्म लाग्थ्यो। उनीहरु छोरीलार्इ अतिरिक्त सामान वा बस्तु जस्तो ठान्थ्यो । हुँदा पनि ठीक छ नहुँदा पनि ठीक छ। जस्तो छोरी भनेको एक सयको रिचार्ज किन्दा दस रुपैयाँ बोनस पाए जस्तो वा कुकर किन्दा एक्ष्ट्र वासर पाए जस्तो । तर हाम्रा लागि यी दुबै छोरीहरु आकाश र धर्ती बराबर अमुल्य हुन् । यिनीहरु हाम्रा लागि आफ्नै मुटु जति नै प्रिय छन् र उनीहरुलाई हामी मुटुको टुक्रा भनेर सम्वोधन गर्छौं । सेसेफुङ र नुमाफुङ सृष्टीको यो सुन्दर फुलबारीमा फुलेको फुलहरु हुन्। जसले यो सृष्टीलाई अझै जगमग र सुन्दर बनाउने छन्।

प्रतिक्रिया दिनुहोस