रुनेहरूलाई हसाइँदोरहेछ
भोकाहरूलाई भोजनको कामना गरिँदोरहेछ
नाङ्गाहरूलाई टालाटुलीको व्यवस्था सोचिँदोरहेछ
साँच्चै पागल भएपछि
उज्यालो खोजिँदो रहेछ ।

सद्धेहरूको मुख थुनिएपछि
बोल्ने भनेकै पागलले हो
सद्धेहरू मोटाउन थालेपछि
भोजन त्याग्ने भनेकै पागलले हो
सद्धेहरूले धन चोर्न थालेपछि
मन चोर्ने भनेकै पागलले हो
झुटैझुटको साम्राज्यमा
सत्य बोल्ने भनेकै पागलले हो

पागल भएपछि मात्र
कालो र सेतो चिन्न सक्छ मान्छे
दूध र पानी छुट्याउन सक्छ मान्छे
सडकमा गीत गाउन थाल्यो भने पागलले
धेरैलाई पागल बनाउन सक्छ
महलहरूको निन्द्रा खोसिदिन सक्छ
सद्धेहरूको टाउको उल्टो घुमाइदिन सक्छ
मुण्ड–मुण्डहरू थर्रर्र….. थर्रर्र….. थर्किन सक्छन्
गिदी पातलिन सक्छ
रगत बाक्लिन सक्छ
सद्धेहरूको खुट्टा र जिब्रो
एकैचोटी लर्बरिन सक्छ

पागलले सुइया….. सुसेल्यो भने आँधी चल्न सक्छ

पागलहरूः–
सँगै हिँड्छन्, सँगै पुग्छन्
जे बोल्छन्, सत्य बोल्छन्
सँगै बस्छन्, सँगै उठ्छन्
अर्थात
पागलहरू जे हेर्छन् त्यो देख्छन्
जे देख्छन् त्यो हेर्छन्

ओ महासय इदि अमिन !
अब तिमी असुरक्षित छौ
यी पागलहरूले तिमीलाई नै हेरेका हुन्
र तिमीलाई नै देखेका हुन् ।

प्रतिक्रिया दिनुहोस