आफ्ना असङ्ख्य भोकहररू बन्धक राखेर
दिन भर ताता घाममा लामबद्ध बसी
तिम्रो भोक तृप्ति गरिदिए बापत
अचेल म सर्बाङ्ग भएको छु ।
अतृप्त चाहनाहरू अँगालोभरि सजाएर
तिम्रो भोक मेट्ने उही दिनको पर्खाइमा
हुस्सु ओढेर जुन बाल्दै
आकाशका तिरमिर तारा गनेर
हर रात काटिरहेछु
नितान्त आफ्नै लयमा ।

तिमी लड तिम्रालागि
म त आफू आफ्नै लयमा लडेको छु।
न हावाले उडाउँछ
न हुण्डरीले बटार्छ
न त झम झम वर्षाले भिजाउँछ
न त पोल्छ टन्टलापुर घामले
चाहे सुनामी आओस् चाहे भूकम्प
म त गजधुम्मे ‘सगरमाथा’ हुँ ।
सहन्छु मजाले सहन्छु
किनभने
मेरो आफ्नै लय छ ।
मेरो छातिमा टेकेर मेरै आमाको छातिमा भाला रोप्ने
तिमीलाई ‘पूजा’ गर्ने संस्कारमा हुर्केको मान्छे ।

‘सागरमाथा’ को मान्छे
सगरमाथा शीरमा राखेर बाँचेको मान्छे
सगरमाथाको ‘माथा’ मै लात मार
तर ऊ चुपचाप सहन्छ
म त्यही संस्कारको मान्छे
त्यसैले मेरो आफ्नै लय छ ।

राँको बालेर शान्तिको सन्देश छर्दै
विपुल ध्वानी गुञ्जाउने
तिम्रो लय मलाई साँच्चै ताजुब लाग्छ
किनभने म त ‘बुद्धभूमि’ नेपालको मान्छे
थर्काऊ, चर्काऊ, कलिला सडकका मुटुहररू
उदाङ्गो पार, ह्वाङ्ग पार वा रेखा कोर
अथवा
आफ्नो अस्तित्व जोगाउन
आमाको अस्तित्व दाउमा राख
‘म’ चुपचाप सहन्छु
किनभने
म त ‘सीता’ जन्मभूमिको मान्छे।

हो,
तिमी कलाकार हौ
सँच्चै कलाकार
म पनि कलाकार हुँ ‘ठुटे’ तिम्रो नजरमा
तर महाशय !
म त प्रवीण कलाकार हुँ
बुझ्छु तिम्रो कलाकारिता
किनभने म पनि ‘अरनिको’ देशको नागरिक हुँ
सिँगार्छु आफ्नै कुचिले
प्रिय मेरो देशका रङ्गिन भित्ताहरू
हो महाशय !
त्यसैले मेरो आफ्नै लय छ ।

प्रतिक्रिया दिनुहोस