काठमाण्डौ | चर्चित गीत उध्रेको चोलीको कथा : संगीतकार रोशन थापाबाट एउटा ‘आइटम’ गीत गर्ने भन्ने सल्लाह भएपछि मैले दुई तीनजना गीतकारहरूलाई भनेँ। सिनेमाको लागि बारमा नाच्ने किसिमको गीत गर्नु पर्ने भयो भनेर।

एकपछि अर्को गरेर लगभग आठवटा जति फरक-फरक गीत हेर्दा पनि चित्त बुझेन।

किन बुझेन त?

आइटम भन्ने बित्तिकै एउटा अदाकारिता महसुस हुन्छ नि! त्यही नै चित्त बुझ्दो आउन सकेन।

खोजी गर्दागर्दै फिल्मको छायांकन लगभग सकिन आँटिसक्यो।

गीतको सुटिङ सेड्युल नै आइसक्यो। तर, अन्तिम समयसम्म पनि शब्द नै ‘फिक्स’ हुन सकेन। टिमलाई नै एकदमै ‘प्रेसर’ भयो।

अनि, अब त अति भयो भनेर निश्चल बस्नेत दाइले आफैँ ट्राइ गरौँ है त भनेर हामी ढोका लगाएर बस्यौँ।

हामी (लेखक र संगीतकार मात्र)।

निश्चल दाइले ‘छुनलाई होइन हेर्न चाहिँ पाइन्छ’ भन्ने बित्तिकै सँगसँगै मैले गिटार लिडमै बजाउँदै धुन बनाएँ। लगभग ८ देखि १० मिनेटभित्रमा गीतको स्थायी तयार भयो।

अन्तरा बन्न धेरै समय लागेन। त्यत्रो समयदेखि एउटा स्थायी बन्न सकेको थिएन। अन्तिम समयको २५ मिनेटमा पूरा गीत नै तयार भयो।

आफैँलाई अत्यन्त खुसी र सन्तुष्टि मिल्यो। हामी उत्साहित भएर ‘क्रु’लाई सुनाउँदा सबैलाई एकदमै मन पर्‍यो। ल, बबाल राम्रो बन्यो गीत भन्ने भयो।

त्यसपछि, गोपाल रसाइलीसँग अरेन्ज गरेर ड्रिम्स स्टुडियोमा रेकर्ड गरियो। पहिला अरू नै गायिकाले गाउनु भएको गीत पनि फेरि गीतले खोजेको मुडअनुसारको अदा आएन भन्ने महसुस भएर इन्दिरा जोशीलाई गाउन लगाइयो। हिट नै होला भनेर लेखेको, बनाएको त होइन।

यस्तो गरौँ, राम्रो गरौँ न भन्ने भएर गरेका हौँ।

राम्रोसँगै केही फरक गर्नका लागि ध्यान दिएर लागि पर्दा दर्शक श्रोताको माया पनि यति धेरै पाइयो कि अहिले सम्झँदा साच्चै, एकदम आनन्द महसुस हुन्छ।

साभार:  newscastnepal.com

 

Another link:

प्रतिक्रिया दिनुहोस