स्वेता खड्काले माझी बस्ती निर्माण गर्ने भन्दा विदेशमा हप्तामा एक चोटी एउटा स्यान्ड्वीच र सोडा किनेर खान पनि लोभ गरी–गरी घरबाट लगेको भुटेको भात खाएर जोगाउने श्रमजिवी नेपालीहरूले स्वेतालाई पैसा दिएर हैंसेमा होस्टे गरे । ऊनी विरामी भइन् । ऊनको सत्कर्म र श्रीकृष्ण र उनको कलाकारिताबाट लोभिएकाहरू सबै चिन्तित भए र उनको निम्ति प्रार्थना गरे ।


त्यसपछि स्वेता खड्काले विहे गर्ने भन्दा सबै उनका प्रशंसकहरू खुसीले भक्कानिए । समाजको सोच परिवर्तन गर्नुपर्छ । स्वेता तिमीले विहे गर्नु नै पर्छ भनेर प्रोत्साहन गरे । शुभकामना बर्षाए । स्वेताका प्रशंसकहरू अझ लाखौंको संख्यामा थपिए । यतिसम्म कुरो ठीकठाक थियो । सब राम्रै चलिरहेको थियो । तर जब स्वेताको विवहाले दोस्रो विवाह जस्तो नभएर एकदमै राजसी शैलीको खर्चिलो र तडकभडक रूप धारण गर्यो । जब करोडौं खर्च गरेर निर्माण गरिने चलचित्र सुटिंगका दृष्यहरू जस्ता दृष्यहरू रियल लाइफमा देखिन थाले । तीं पनि विभिन्न चरणका पार्टिहरू हुँदै महिनौसम्म महँगा होटलहरूमा सम्पन्न हुन थाले र ती परिदृष्यहरू स्वेताका फेसबुक पेजबाट धारावाहिक रूपमा प्रसारण हुन थाले तब स्वेताका ती श्रमजीवी फ्यान प्रशंसकहरू भुटेको भात घाँटिमै रोकेर सोच्न थाले “कि मैले त्यस्तो दुःख गरेर कमाएको पैसा किन दिएछ ?” तिनीहरूले घरमा आमाले खर्च माग्दा झर्केर “छैन” भनेको सम्झे, स्वास्नीले सामान्य लेहंगा किनेर लाऊँछु यसपालको दशैंमा भन्दा “कति माग्दि र’छे पैसा कचकच नगर, पोहोरको साडी नयाँ छ त !” भनेको सम्झे । अरू धेरै कुरा सम्झे ।

एक किसिमले यतिसम्म पनि ठीकै थियो भनौं न, तर जब स्वेताले विहेको धङधङ्गे उत्रेपछि “धुर्मुससुन्तलीको रंगशालाको जस्तै छ हालत माझी बस्तीको” भनेर रंगसाला र माझी बस्तीको फोटो दुबै अपलोड गरेर राखिन् नि अनि उनका प्रशंसकहरू बुमेराग बनेर उनितिरै फर्किए । विहेमा उनले गरेको फजुल खर्चमा चित्त नबुझेर पनि केही नबोली टुलुटुलु हेरिरहेकाहरूले आफूलाई पोख्ने गतिलो स्थल बनाए त्यसलाई । र आफ्नो दुखेको मनको भारी विसाए । “विहेमा कस्लाई देखाउन त्यसरी खर्च गरेको ?” भनेर प्रस्न तेर्स्याए, अरूसँग मात्र माग्ने कि आफू पनि सहयोग गर्ने ? आदि विभिन्न प्रश्नहरू गरे । शंका उपसंकाहरू थपे ।

स्वेता लगायतकाले यसबाट सिक्नुपर्ने पाठ के हो भने समाज भन्दा माथिल्लो हैसियतको रबाफ बाँचेर कस्लाई देखाउनु ? किन देखाउनु ? देखाए पनि आफू बराबरकालाई देखाए भइगयो नि । जे जे गर्नु छ चुपचाप गरे भइगयो नि । तडकभडक देखाउनु चाहीं किन पर्यो ? कसैको १० लाखको जग्गा जमिन छैन, तिम्रो फ्यान भयो भन्दैमा, तिम्रो दुःखमा उसले पनि मानवीय संवेदना बगायो भन्दैमा उसले तिम्रा २५ लाख, ३० लाखका परीपरी लेहंगामा कसरी लाइक ठोकिरहनु ? पाँच वर्ष विदेश बस्दा १५ लाख कमाएको छैन उसले अब तिम्रो अभियानमा कति चन्दा दिनु ? अनि जवाफ फर्काइ हाल्छ नि, किन फर्काऊँदैन ? अझै उसकी आमा विरामी हुँदा ऊ एक्लो हुनेछ भन्ने उसले चाल पाउनु भने त कसो गर्दो हो ?

बरू नाटकै सही धुर्मुससुन्तलीबाट केही केही सिक स्वेता । तिम्रो प्रगतिप्रतिको जलन होइन यो, तिम्रो खुसीप्रतिको बेखुसी होइन । मैले पहिलेदेखि अहिलेसम्म तिम्रै वालमा देखेको दृष्य लेखेको मात्र हो ।
धन्यवाद ।

 

 

 

 

 

 

Other Link:

प्रतिक्रिया दिनुहोस