तिमीले असार पन्ध्रका
अनेकन् परिकार सजाएर
अरुले ठिक्क पारेकाे हिलाेमा
सुसज्जित सजिएर
सेल्फी खिचेर पाेेष्ट गरेपछि
मैले पनि सम्झिएकी हुँ
असारकाे चटाराे।
साँच्चै असार त
पानी पिउन नपाएकाे खेतकाे तिर्खामा हुन्छ
या त पानी नै पानी भएर
समाहा भन्दा माथि भरिएर
खेतकाे आली नाघेर झर्ने
किसानकाे आँसुमा हुन्छ
गाेरु नारेर केहीछिन हिल्याएपछि
हिलाेमा फाली हराएर
खाेज्नुकाे दु:खमा हुन्छ
तिम्राे सेल्फीजस्ताे कहाँ छ र
असार पन्ध्रकाे ब्यथा?
धान राेप्ने याे बेलामा
हेर त यी खेतहरु पटपटी फुटेका छन्
जसरी फुटेकाछन् मेरा बाका कुर्कुच्चाहरु।
आफ्नै उर्वरताकाे रगत पिएर
आफू बाँझाे रहनुकाे पिडा
आकाससँगै राेएकाे छ
याे खेतकाे माटाे ।
वर्षाैं भयाे हलि बालुवा निचाेरेर
रेमिट्यान्स पठाइरहेछ
यता पहिराेले उसकै खेत
बालुवा बनाइरहेछ,
साेध उनकै गाउँलाई साेध
कस्ताे आएकाे छ तिम्राे
खेतमा असार पन्ध्रकाे बिऊ।
तिमीले खिचेकाे सेल्फीमा
कहाँ छ र मानाेकाे खेती?
कहाँ छ र मुरीकाे सपना?
असार भन्नु सपना पनि हाे
जहाँ चुलाेकाे भविश्य बाँचेकाे हाेस्
परिवारकाे खुसी हाँसेकाे हाेस्।
अचेल हाँस्दैनन् सपना
हिलाे आली बनेर
दाँदे फ्याउरी बनेर
राेपाहार बाउसेका पाखुराहरुमा
ब्याडे गह्राका खुसीहरुमा।
खेतकाे गह्राकाे नजीकैकाे ढुङ्गामा
बसाेस् काेही त
धमिलाे पानीले हात पखालेर
गुन्द्रुक र भुटेका मकै चपाओस् काेही त
र कल्पियाेस् मंसिरमा झुलेका
लहलह धानका बाला।
तिम्राे सेल्फी देखेपछि लाग्दैछ
बिऊ बाेकेर लैजादैगर्दा
हिलाेमा चिप्लिएर
बरु सुरक्षित लडाेस् खेतधनी
बरु फाली नै हराओस्
हल्लुड नै चुडियाेस्
कि त जुवा, हरिस,अनउ नै बाँचियाेस
तर कदापि नहराउन्
याे देशका हली, बाउसे र राेपाहार
बिदेशी रेमिट्यान्स बनेर।
– इटहरी
प्रतिक्रिया दिनुहोस