कथा

“साला पहाडमे क्या हे ?” सायद पहाडमा जीवनको इन्द्रेणी सपनाहरू फुल्ने सम्भावना नदेखेरै हुन सक्छ, मानबहादुर र उनको भाइ टेकबहादुरले ‘साला पहाडमे क्या हे” भन्दै हाँस्दा–हास्दैको कन्चनजङ्घा, फुल्दा–फुल्दैको गुराँस, पाउलिँदा–पाउलिँदैको टाँकी र किम्बुको वृक्ष, बग्दा–बग्दैको पेक्वाखोला र रुँदारुँदैको आमाको आँशुलार्ई परेलीमा चिसै छाडेर वर्षाैँअघि मुग्लान छिरेको हुनुपर्छ । अर्थात हरेक झरी चुइने छानो, हरेक साँझ–बिहान चिसिने चुलो, हरेक मुस्कान देखिने आमाको थोते दाँत र हरेक हुरी ढल्न तयार गाईगोठलार्ई नयाँ जीवन दिन पनि “मलार्ई पनि सँगै लैजाउन भन्ने मेन्छ्याइन, नजाउन भन्ने सक्रान्ते डाँडा, सबै–सबैलार्ई छाडेर दशैँमा घर फर्किने बाचा बाँधेर गएका थिए मानबहादुर र टेकबहादुर । तर कैयौं वर्ष बितिसक्यो उनीहरू दशैँ लिएर घर फर्किएकै छैनन् । साँच्चै कैयौं वर्ष बितिसक्यो मानबहादुर र टेकबहादुर पेक्वाखोलाको पानी पिउन, रवि बजारमा हाट भर्न, फुङ्सेङ मेलामा हाक्पारे गाउन र बग्दा–बग्दैको आमाको आँशु पुछ्न उनीहरू घर फर्किएकै छैनन् । के साँच्चै नै उनीहरूले पहाडमा जीवनको इन्द्रेणी सपनाहरू फुल्ने सम्भावना नदेखेकै हो त ?

आमा सधै पहाडको कुरा गर्दा भन्नुहुन्थ्यो “पहाडको त पानी नै मिठो” । दिदीहरू पनि पहाड गएर आएपछि सुनाउनु हुन्थ्यो “चैत बैशाखमा त कति राम्रो गुराँस फुलेर वन नै ढकमक देखिन्छ । बतास चल्दा धुपी र सल्लाहरू स्वाँ… गरेर कति मज्जाले सुसाउछन् । अझै कोइली चरी कति बिरक्त लाग्दो गरी कुहुकुहु… गरेर कराउछन्, फेरि कति रहर लाग्दो बाटैभरि रानी कुसुम र काफल पाकेको हुन्छ । मावलको बारीभरि पाइने सुन्तला र नास्पातिको त झन कुरा गरेर साध्यै छैन । पहाडको आलु उसिनेर खायो भने त पेट अघाए पनि मुखै अघाउँदैन ।”

पहाड गएर आएकाहरूको यी र यस्ता कुराहरू सुन्दा र मेरा मित्र, प्रिय कवि मीन थापाको पहाड शिर्षकको कविता पढ्दा, कहिल्यै पहाड नदेखेको मान्छे अहिल्यै पहाड जाऊँ झै लाग्ने । पहाडमा आफन्तहरू भएर मात्रै नहुने रहेछ । पहाड जाने बाटो चिनेर मात्रै पनि नहुने रहेछ । मान्छेहरूमा इच्छा शक्ति जतिकै बाहाना पनि चाहिँदोरहेछ । हो सायद म त्यही बाहानाको प्रतिक्षामा थिएँ ।

अँ, बाहाना आउन त मसम्म आयो, तर दुखद्को अनुभूति भएर आयो । पहाड जाने बाहाना पनि मामाको मृत्युको बुइ चढेर आयो । विडम्बना मैले यतिका वर्षहरू र यतिका उमेर यस्तो अप्रिय बाहानाको लागि पर्खिएको हुँदै होइन ।

आमाको बृद्ध र रोगी शरीर अनि मेरो पहाडको सौन्दर्य हेर्ने तिब्र चाहानाले गर्दा अन्ततः मामाको फजेमा पहाड जान म नै तयार भएँ । म कल्पिन्थेँ, वन नै दुलही झैँ सिँगारेर फुलेका होलान बैँशालु गुराँसहरू, डाँडामा उभिएर आलाप तानि रहेका होलान् गायक धुपी र सल्लाहरू, पहाडको खबर बोकेर हतार–हतार मधेश दौडिरहेका होलान् तन्नेरी खोलाहरू, कटुस र रानिकुशुमको हाँगामा बसेर साल्सा नृत्य नाचिरहेका होलान् नतर्की जुरेलिहरू । उफ् ! सम्झेरै पनि मन कस्तो रोमान्चित हुन्थ्यो र सोच्थेँ कसो नलेखिएला र धुपि र सल्लाको फेदमा बसेर एउटा निबन्ध ,गुराँसको फेदमा बसेर एउटा गुराँसको कविता, हुँदै नभए कसो नलेखिएला र हाऊ पहाडको एउटा गीत !

“कता हिँडेको ?
कसलार्ई खोजेको ?
भनन भन ए बिरानो परदेशी !”
सायद यसै भनिरहेका थिए पहाडका ती नागी र भञ्ज्याङहरूले । यात्रा पैदल नै हुनेछ भनेर मैले नै ढिप्पी गरेको थिएँ तुम्बासगँ । हामी हिँड्न तम्सिएका थियौं । हाम्रो गन्तव्य थियो, पाँचथर जिल्लाको आरुबोटे गाविसको गैरीगाउँ । पहाडको कुमारी जवानीलार्ई चुम्दै–चुम्दै जाने मेरो इच्छाले मोटर नचडी पैदल कसिएका हामी जतिजति माथि जान्थौ उति–उति निराशाको भुमरीमा पर्थेँ म । न त त्यहाँ दिदीहरूले भनेको जस्तै वन नै श्रृङ्गारेर गुराँसहरू फुलेका थिए, न त मीन थापाको कवितामा जस्तै झर्नाहरूले गीत गाएको सुनियो, न त मयुरले नाचेकै देखियो । मैले निलो बह तुम्बा सामु पोखेँ । तर उहाँले त कति सजिलै शान्तवनाका पोचाले पुछ्दै भन्नू भयो “यो बेसिजन पो रहे छ ।” अब चै नढाँटी भन्ने हो भने मलार्ई बल्ल मामाको मृत्युको वेदनाले चेप्न थाल्यो ।

हिजो साँझ म घामभन्दा ढिलो सुतेकाले होला, श्रीअन्तुबाट शिशुघाम घर्षँदै घर्षँदै मेरो छेउमा आएर पनि घाम मलार्ई उठाउन सङ्कोच मानेर मलार्ई हेरिरहेको थियो । तर तुम्बाले कति पनि सङ्कोच नमानी उठाए “ए कान्छा उठ” म आङ तान्दै उठेँ । घाम मलार्ई हेरेर हाँस्यो । घडिफूल पनि मलार्ई हेरेर मुस्कुरायो । उठेर हातमुख धोएँ अर्थात नित्यकर्म सकाएर चनाखो हुँदै मैले मेरी आमालाईँ जन्माउने गाउँ हेर्दै, के आँखाले मात्रै सुमसुमाउदै थिएँ । उत्तरतर्फ पुतपुत धुवाँ पुतपुताईरहेको देखेँ । सोचेँ, केटाकेटीले तरेबाहरू बस्ने डेरामा आगो सल्काएका छन् । आतिएर हतार–हतार धुवा उडिरहेको ठाउँमा गएँ । डेरामा होइन रहेछ घरमा पो रहेछ । सबैभन्दा अफसोचको कुरा त के थियो भने अन्जान बस नभइ जानाजान समाजको पन्च भलाद्मीहरू बसेर मुचुल्का उठाइएर घरमा आगो लगाइएको रहेछ । त्यो यथार्थ थाहा पाएर मन आहात भयो । फेरि एकै छिनमा म भित्रको एउटा मान्छे त्यो समाजको एक्काइसौं शताब्दीको चेतना देखेर अट्टाहास गरेर हास्यो हा…हा…हा…

सायद त्यो जल्दै गरेको खम्बा चक्रबाजेले चिन्जुवा जङ्गलबाट बोकेर ल्याएका थिए । त्यो जल्दै गरेको बलो, हुन सक्छ मानबहादुर र टेकबहादुरले काँधमा एक–एकपट्टि बोकेर ल्याएका थिए । उनीहरूको घरको नाममा अब त्यही जल्दै गरेकोे खम्बा र बलो मात्रै थियो । त्यो पनि एकै छिनमा जलेर अब खरानीमा परिणत हुनेछ । यदि उनीहरू फर्केर आए भने कहाँ थियोे आफ्नो घर भनेर पनि अब ठम्याउन गाह्रो पर्ने छ । कहाँ ओत् लाग्लान् उनीहरू । त्यसबेला कसको घरलार्ई आफ्नो घर भन्लान् उनीहरूले ? गाउँ र माटोले जबाफ माग्यो भने के जबाफ दिन्छन् होला उनीहरूले अब ? हेरेँ, जल्दै गरेकोे घर अलि पर डिलमा छ उदास टाँकीको बोट, सोचँे त्यहाँ चढेर कति सोइसोला खेले होलान् ती दाजुभाइहरूले । हेरेँ घर मास्तिर थियो शोक मग्न गिदेरीको रुख । त्यसको हाँगामा बसेर ती दाजुभाइले कति सुसेले होलान् जीवनका पकन्दीहरू ।

मानबहादुर र टेकबहादुरको घरमा दैवले पर्दा उठाएर हेरेपछि, उनीहरूको बुबा भग्वानका जनिक भए । बुबा घोडाबाट आमचोङको भिरबाट लडेर बितेपछि गृहस्थीको सारा बोझ उनीहरूको काँधमा आइपर्याे । पाँच रोपनी जग्गामा उत्पादन भएको कोदो र मकैले वर्षदिन पनि थेग्न सक्दैन थियो । उनीहरूले देखेको एउटै मात्रै निर्विकल्प विकल्प थियो ‘मुग्लान’ । एक्ली आमालार्ई छाडेर जाने मन त काहाँ थियो र उनीहरूलार्ई पनि तर अभावको सेहेले घर बस्न नदिएपछि मुग्लान उनीहरूको वाध्यता थियो । कुनै बिहानको झिसमिसेमा उनीहरूले भालेको ढाकसँगै पेक्वाखोला तरे तर यता चक्रेनी बोजूलार्ई भने आफ्नै आँशुको भेलले बगाइरह्यो ।

चारदिनदेखि कुखुरा र फालेचाहरूले नारा जुलुस गर्दा पनि चक्रेनी बोजू कुनै अटेरी शासक झैँ चुपचाप रहिरहिन् । सधैँ घामलार्ई लोई..लोई… गर्दै सुताएर भोलि बिहानै फेरि झिस्मिसेमै ढिकी र जातोको झ्यार झ्यारले घामलार्ई उठाउने बोजू चार दिन यता सुतेको–सुतेकै छिन् । अँह तर कामको धावाले गर्दा छिमेकीहरू कसैलार्ई पनि कुनै चासो नै भएन ।

चक्रेनी बोजूको सबैभन्दा नजिकको छिमेकी हो माजनी कान्छो । चार दिन यता माजनी कान्छाले चक्रेनी बोजूकोमा जाँतोको हाक्पारे पनि सुनेन । ढिकीको पालम, ओख्लीको ख्याली र बोजूको रोगी खोकी पनि सुनेन । अँह, माजनी कान्छाले हरेक साँझ “आउन हाउ आऊ, ए मेरा छोराहरू काहाँ गयौ हाउ आसाऐ …” भन्ने बिरसिलो पकन्दी पनि सुनेन ।

चारपँच दिन यसरी नै बितेपछि एकदिन बिहान माजनी कान्छाले चक्रेनी बोजूको घरको बन्द ढोका घर्याक उधार्याे । जहाँ उसले बोजूको लास देख्यो । जो ढाडिएर जिलजिल थियो । आँखाहरू मुसाले खाएर टोड्का टोड्का थिए । गालाहरू कमिलाले खाएर छिद्रा छिद्रा थिए । माजनी कान्छाले यो दृश्य धेरै बेरसम्म हेर्नै सकेन र घर फर्किएर सोच मग्न भएर चुपचाप बसिरह्यो । खै के के सोचिरह्यो । अनि भरे मात्रै उसले चक्रेनी बोजूको मृत्युको खबर गाउँ गाउँ डुलेर सुनायो ।

छिमेकीहरू कोही मानबहादुर भए, कोही टेकबहादुर भए र यसरी माथि गाउँ सिरानको चिहानडाँडामा चक्रेनी बोजूको अन्त्यष्टी गरियो ।

चक्रेनी बोजूको मृत्युमा शोक माउने र दुख्मनो गर्नेहरू धेरै थिए । मलामीजनका अनुहारहरू पीडाले मलिन र आँखाहरू भिजेका पत्थर झैँ चिसा चिसा थिए । त्यसमा पनि सबैभन्दा धेरै शोक माजनी कान्छालार्ई परेको अनुमान गर्थे गाउँहरू । माजनी कान्छा त्यसयता एककोहोर्रिरहने, नबुझिने गरी एक्लै बरबराइरहने, कहिले हास्ने कहिले रुने गर्न थाल्यो । चक्रेनी बोजूको दाहसंस्कारकै बेला पनि रुँदै जङ्गलतिर दगुरेर अनौठो हर्कत देखाएका थिए । सबैभन्दा नजिकको छिमेकी भएको नाता र सबै भन्दा पहिला चक्रेनी बोजूको लास देखेकाले माजनी कान्छालार्ई परेको शोकलाई अन्य गाउँलेहरूले त्यस बेला स्वाभाविक रुपमा लिएका थिए । तर समय बित्दै जाँदा पनि उसमा आएको परिवर्तन सामान्य हुनुको साटो झन असमान्य बन्दै गइरहेको थियो । यस अवधीमा माजनी कान्छाले थुप्रै पटक पासो लागेर आफ्नो जीवनलाई विसर्जन गर्ने प्रयत्न पनि गरिसकेको थियो । त्यसै हुनाले हरबखत उसको रेखदेखका लागि परिवारको एकजना सदस्य साथै बस्नु पथ्र्याे । माजनी कान्छा यस्तो हुनुमा गाउँलेहरू विभिन्न अनुमान लगाउँथे ।

माजनी कान्छाको उपचारको लागि उसको परिवारले धेरै धामी– झाँक्री लगाए तर पनि माजनी कान्छाको समस्या बिसको उन्नाइस नभएपछि राम्रो अस्पतालमा देखाउने सल्लाह गरी परिवारले मधेश लाने निधो गरे ।

तर विडम्बना नै भन्नुपर्छ त्यसको केही दिनपछि उपचारको लागि मधेश झरेको माजनी कान्छा सडक दुर्घटनामा परेर मृत्यु भयो । चिन्ता राख्दा याबाले पहिलो चोटी चक्रेनी बोजूको लास देखेकाले उसैको भूत लागेर यस्तो भएको हो र यदि चक्रेनी बोजूको भुतलाई नखेदाए गाउँमा फेरि पनि यस्तै अनिष्ट हुन्छ है भनेर लोमा गरेपछि त के चाहियो र आरुबोटे टोलबासीको चेतना जुरमुराएर उठ्यो र चक्रेनी बोजूको भूत भगाउन घर नै आगो लगाउने मुचुल्का बनाए, अनि घरमा आगो झोसियो ।

माथि यतिबेरसम्म उल्लेख गरेको माजनी कान्छा नै मेरो मामा हुनुहुन्थ्यो, जसको फजेको लागि म पहाड गएको थिएँ । उनै मामाको बुहारीले चक्रेनी बोजूको घरमा आगो लगाउनु परेको कुरा यसरी बेलिबिस्तार लगाइरहँदा म भने भित्रभित्रै मुटु गाँठो परेर नुनिलो तमोर र पेक्वाखोला बगिरहेको थियो ।

मिक्लाजुङ, मोरङ

प्रतिक्रिया दिनुहोस