विराटनगर/सकारात्मक सोंचले जहिले पनि भावनालाई तरंगित गरी सेवा र सहयोगको लागि उर्जावान बनाउँछ । समाज र समुदायमा आइपर्ने अपत–विपत तथा पीडितहरुलाई सहयोग गर्न उनीहरु सदैव अग्रपंक्तीमा रहन तत्पर रहन्छन् । यस्तै एउटा युवाहरुको समूह प्रवासमा रहेर आफ्नो समुदायका दुःखी, पीडित र समस्यामा परेकाहरुलाई हरेक प्रकारले सहयोग गरी समुदायप्रतिको आफ्नो कर्तव्य निर्वहन गरिरहेका छन् ।

वैदेशिक रोजगारमा रहेका युवाहरुको समूह ‘प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र, नेपाल’ले समस्यामा रहेका विभिन्न व्यक्ति वा परिवारलाई नगद, जिन्सी, खाद्यान्न, लताकपडा सहितका सहयोग गर्दै आइरहेका छ ।

 

संस्थाले गत आश्विन २६ गते भारतको पंजाबमा रोजगारीकै क्रममा मृत्यु भएका राम एकबाल सरदारको परिवारलाई २५ हजार बराबरको चामल, दाल, तेल, चिनी लगायतका खाद्यान्न सामग्री, लत्ताकपडा तथा २५ हजार नगद सहयोग गरेको छ ।

 

प्रदेश २ महोत्तरीको भंगहा नगरपालिका वडा नं. ३ सकरी निवासी सरदार भारतको पंजाबमा रोजगारीमा रहेका थिए । अचानक बेहोस भएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

स्थानीयका अनुसार सरदारले काम गर्ने ठाउँबाट कुनै किसिमको सहयोग गरेको छैन् । गाउँलेहरूले आपसमा चन्दा संकलन गरी सरदारको शव पंजाबबाट ल्याएका थिए ।

 

परिवारको एकमात्र साहार राम एकबाल सरदारको मृत्यु पश्चात १५ दिने शिशु सहित पाँच जना भाइबहिनी र श्रीमती बिचल्लीमा परेको खबरले दुःखी भएको र उनको काजक्रियामा केही मद्दतको लागि सानो सहयोग उपलब्ध गराएको संस्थाका सचिव चन्दन सरदारले बताए ।

 

सहयोग हस्तान्तरणको क्रममा संस्थाकी कोषाध्यक्ष सुनिता सरदारले तत्काल केही मद्दतको लागि संस्थाले सानो सहयोग गरेको र अगामी दिनमा समेत सहयोग गर्ने बताईन् ।

 

हिपमत मिडिया हाउस प्रा. लि.को संयोजकत्वमा प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालले सहयोग हस्तान्तरण गरेको थियो ।

वर्षतमा पनि चुहिने खपडाको समान्य घर बाहेक अन्य जग्गा जमिन, खेतबारी केही न भएको उनको परिवार बिचल्लीका परेको स्थानीयले चिन्ता व्यक्त गरे । सरदारको परिवारमा १५ वर्ष, १३ वर्ष, ७ वर्षको तीन छोरी, ५ वर्षीय र १५ दिने (शिशु) दुई छोरा र एक श्रीमती सहित छ जना रहेका छन् । उनको परिवारमा आमा बुवा दाइभाइ कोही छैन् । रोजगार गर्ने एक मात्र राम एकबाल सरदारको मृत्यु भएकोले उनको परिवारिक जीवन बेसहारा भएको स्थानीयले बताए ।

 

१५ दिने शिशुलाई काखमा बोकेकी मृतक सरदारकी श्रीमती मिनादेवीको आँशुले जो कोही द्रबित भएका छन् । उनीहरूको पारिवारिक जीवन संचालन गर्न स्थानीयले सबै संग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस