“ज्वाइँ पुस्तकको काम कहाँ पुग्यो”
यो प्रश्नले मलाई खागोले जस्तो डसिरहन्थ्यो।
“अँ हुँदै छ, खटि रहेको छु । समय व्यवस्थापन गर्न गाह्रो भै रहेको छ । अब भै हाल्छ ढुक्क हुनु होस् ”

म हरेक पटक यसरी नै केही न केही भनेर आल टाल गरिरहन्थेँ । कोही बेला सातिर बुद्धि लगाएर ।
“ज्वाइँ पुस्तकको काम कहाँ पुग्यो ?”
भन्ने ताकेता आउनु पूर्व नै आफैँले म्यासेज गरेर भन्थेँ “साना बा, प्रेस गएको थिएँ बन्द थियो । केस्रालाई साफी गर्दै छु । हिजो गएर पुस्तक सम्बन्धी म्याटर छोडेर आएको छु, अब छिट्टै हुन्छ ।”

यती सोडा लगाउँदा पनि पत्याएन जस्तो लागे मेरो झुटलाई झुट होइन भन्ने दलिलको लागि निधर्क्क सगँले उचो स्वारमा भन्थे, “मलाई बिश्वास गर्नु होस् म खटिरहेको छु ।
तपाईंको जीवन कालमै पुस्तक निष्कियोस् भन्ने म पनि चाहान्छु । मैले जिम्मेवारी लिएको हुदा पुस्तकको काममा बिलम्ब भएकोमा मलाई पनि असजिलो लागि रहेको छ । अब लकडाउन खुल्ने बितिकै काम भै हाल्छ।

आफ्नो कमजोरी ढाक्नको लागि मसगँ केही बाहानाहरु थिए जस मध्ये सबैभन्दा गतिलो बाहना कोरोनाले ल्याइदिएको महाव्याधी थियो । मलाई भन्न सहज थियो, “चारैतिर सरकारले गरेको लकडाउनले गर्दा ठप्प छ बाहिर निष्किने वतावरण छैन । घरमा साना नानी, गर्भवती श्रीमती र बुढी आमा छिन् । म सक्रमित भए उनीहरुलाई अझ खतरा हुन्छ।
मलाई गफ जोत्न कुनै गाह्रो थिएन । आखिर राम्रो नभए पनि म झुर कवि न थिएँ।

ढाँट्न त म विभिन्न वाहाना गरेर ढाँटिरहेको थिएँ । तर आफ्नै मनलाई भने ढाँट्न सकिरहेको थिइन। इमान्दार भएर भन्नुपर्दा कोरोना, लकडाउन लगायतका कुराहरु सत्य भए पनि तिनै कुराहरुले गर्दा मात्रै पुस्तक निस्नुमा बिलम्ब भएको कुरा पूर्ण सत्य भने थिएन। बरु कोरोना र लकडाउन सगँसगैँ सायद मेरो गैरजिम्मेवारीपन पनि उनी जिवित छँदै पुस्तक ननिष्कनुमा जिम्मेवार थियो । यो सम्झिन्दा मलाई हरेक पटक अपराध वोध हुन्छ।

लुङ्माहिम काइलाको जीवनको सपनाहरू मध्ये एउटा चोखो सपना थियो । आफ्नो जीवन कालमै आफू द्वारा लिखित सिर्जनाहरुको कृति प्रकाशन गर्ने । उनी त्यही उध्यान्नले अस्वस्थताका बाबजुद पनि आफ्नो जीवनको अनुभूतिहरु कागजमा उतारिरहेको थिए । सायद मैले उनको त्यही सपनाको पनि हत्या गरिदिएँ। उनलाई कति धेरै चाहाना थियो होला आफ्नो जीवनकै पहिलो प्रकाशित कृति छातीमा राखेर सुमसुम्याउने। हुन सक्छ मैले त्योही उनको चाहानाको पनि कत्लेआम गरिदिएँ। यस अर्थमा म सानोतिनो अपराधी नै हुँ।

भिम इजमलाई म धेरै अघिदेखि चिन्थेँ । स्थायी ठेगाना ताप्लेजुङ भए पनि केही वर्ष यता उनी मोरङमा बस्दै आइरहेका थिए ।उनीसगँ मेरो पारिवारिक सम्बन्ध थियो । तर उनी लुङ्माहिम काइला उपनामले साहित्य पनि लेख्छन भन्ने कुरा थाहा थिएन । भेटहरुमा सामान्य साहित्य धर्म दर्शन राजनीति लगायतका कुराहरु हुन्थ्यो भने ज्यादत्तर कुराहरु पारिवारिक नै हुन्थे। फेरि उनी शारीरिक दुर्वलताका कारण लामो समयसम्म कुरा गर्न सक्दैन थिए। अब उनीसगँको सिमित कुराहरुबाट नै म कसरी उनलाई साहित्य लेख्छन् भन्ने कुराको अनुमान गर्न सक्थेँ र ? मलाई लाग्थ्यो उनी केही सुझबुझ पुर्ण ब्यक्ति हुन् बस् यति ।

लुङ्माहिम काइला विगत लामो समयदेखि फोक्सो सम्बन्धी रोगका कारण अस्वस्थ्य थिए । रोगकै कारण उनी सामान्य हिँन्डुल लेखपढ गर्न पनि सक्दैन थिए। उनको पृथ्वी खुमचिएर कोठामा सीमित थियो भने उनी एउटा त्यही कोठामा निष्क्रिय जीवन बिताइरहेका थिए। रोगका कारण शरीर अत्यन्तै नाजुक बनिरहेको थियो । झट्ट हेर्दा यस्तो लाग्थ्यो उनी बस् आफ्नो मृत्यु मात्रै पर्खिरहेका छन् । तर आफन्तहरू यस्तो अनुमान विपरित उनी सात–आठ वर्ष बोनस आयु बाँचे । सायद यस्तो हुनुमा उहाकी जीवन सगिनी सीता चोङ्बाङको प्रेम र समर्पणले नै सम्भव भएको थियो ।

म यो आलेख लेखीरहँदा उनको घरमा छु। उनको घरको पनि उनी सुत्ने कोठामा छु। हेर्छु उनी सुत्ने खाट, खाटमाथि भएका अव्यवस्थित सिरक डसना त्यसै माथि टाङ्गिएको झुल, भितामा झुन्डिएका लुगाहरु र माथि बिममा सिउरिएर राखिएका उनका पुराना जुत्ता चप्पलहरु हेर्दा यस्तो लाग्थ्यो, उनी एकै छिनको लागि सौच गर्न सौचालय गएका छन । यात बाहिर आँगनमा बसेर लामो लामो सास फेर्दै घाम तापिरहेका छन ।

अर्थात लुङ्माहिम काइला दिवङ्गत भएका छैनन्, उनी यतै कतै छन्। फेरि सोच्थे अहँ, होइन उनी दिवङ्गत भइसकेका छन्। अनि मन चस्सक हुन्थ्यो ।
बारम्बार एउटै अनुभूति आइरहन्थ्यो। उनले प्रयोग गर्ने लाठ्ठी, फोन, जुत्ता चप्पल, उनले सधैं ओड्ने टोपि सबै सबै यहीँ दुरुस्तै छन्, बस् लुङ्माहिम छैनन्। निर्जिव वस्तुहरुले पनि सजिवताको यति गहिरो अनुभूति गराउँदो रहेछ। उनले प्रयोग गर्ने सामाग्रीहरु सदर देख्दा उनी छैनन् भन्ने कुरा पत्याउनै गाह्रो । उनकी जीवन सङ्गिनीको खाली सिउदो अनि नानीहरुको नदिकिनारको पत्थर जस्तै भिजेका आँखाहरु देख्दा मात्रै साच्चै उनी छैनन् भन्ने कुरा सत्य लाग्थ्यो।

औपचारिकता पूरा गर्न होस् या “तिमी दुःखमा छौ तर एक्लो छैनौ” भनेर आडम्बरता प्रस्तुत गर्न हामी उनको घर गइरहन्थ्यौँ। यसरी भेट गर्न जाने क्रममा एकदिन उनले एउटा पाण्डुलिपि र केही रुपैयाँको थैलि दिँदै शिघ्र कृति प्रकाशनको लागि जिम्मेवारी दियो । सायद उनको अन्तर आत्मालाई अब धेरै बाँच्दिन भन्ने थाहा थियो त्यसैले मृत्यु पूर्व केही कृति छाडेर जाऊँ भन्ने लागेको हुनुपर्छ । अझ त्यसभन्दा पनि आफुले आजसम्म बाँचेको आयु बेर्थ भएन सार्थक नै भयो भन्ने आफ्नो आत्मा सन्तुष्टको लागि र लोकलाई देखाउनको लागि भए पनि उनी कृति प्रकाशन गरेर सार्वजनिक हुन चाहान्थे । त्यस बेलासम्म उनी भूमिगत शैलीमा रहेर सिर्जना कर्ममा जुटि हेका थिए, थिए छन् ।

पाण्डुलिपि हेरेँ गजलहरु रहेछन्। उनले पुस्तकको आवरणको खाका पनि कोरेका थिए भने नाम पनि जुराइसकेका थिए ‘मिक्वा’ अर्थात आँशु, त्यो बाह्य रुपमा हेर्दा गजलहरुको सञ्चयन भए पनि मुलतः अन्तर्यमा आँशुहरुको सन्चयन नै थियो । किन भने उनका सिर्जनाहरुमा पनि त्यो कुराको प्रतिबिम्बित हुन्थ्यो । आम मानिस र एउटा स्रष्टामा फरक सायद यो पनि हो । दुँख पर्दा आम मानिस आँखाले रुन्छ भने एउटा स्रष्टा कलमको आखाले रुन्छ र स्रष्टाको त्यो रुवाइ सिर्जना बन्छ। लुङ्माहिमले आशुँले लेखेका सिर्जनाहरु थिए ती।

एकछिन त आश्चर्यमा परेँ । मैले कहिले पनि सोचेकै थिइनँ कि उनी साहित्य पनि लेख्छन् भन्ने कुरा कहिलेकाहीँ भेटहरुमा उनले “मैले लेखेको गित हेरिदिनु पर्यो, भयो कि भएन” भनेर यसो दुईचार वटा खेस्रा देखाउँथे । मेरो अपुङ्गी मथिङ्गल लरतरो सिर्जनालार्इ सिर्जना मान्थेन र मान्दैन । तरै पनि मन राख्न भनी दिन्थे “अ सुन्दर छ”। कुरा गर्दै जाँदा थाहा भो उनमा मैले लेखेको सिर्जनाहरु कतै सिर्जना पो भएनन् कि ? भन्ने हीनभावना रहेछ । त्यसैले प्रायः उनी कसैलाई पनि आफ्ना सिर्जनाहरु देखाउन सङ्कोच मान्दा रहेछन् ।

तर त्यसदिन त उनले गजलहरुको सिङ्गो पाण्डुलिपि नै थमाए । म अत्यन्तै हर्षित भएँ । मलाई लेख्ने र पढ्ने स्रष्टा वा साधकसगँको साकक्षतकार बढो आनन्दप्रद लाग्छ। त्यस भन्दा पनि मेरो पारिवारिक सम्बन्धमा सिर्जनालाई प्रेम गर्ने भेटेको कोही थिए भने लुङ्माहिम नै प्रथम थिए । त्यसैले म रोमान्चित र आश्चर्यचकित एकै साथ थिए। मैले उनको प्रफुल्ल हृदयले प्रशंसा गरे। आफ्नो कलाप्रतिको प्रेम र सिर्जनाको प्रशंसा हुँदा उनी खुसी नहुने करै थिएन । तर विडम्बना मान्नुपर्छ हाम्रा ओठहरुमा फुलेका खुसीका घामफुलहरु यति शीघ्र मुर्झायो कि जसको हामीले कल्पनासम्म गरेका थिएनौं । संसार भरी कोरोनाले आफ्नो प्रभुत्व जमाएर त्राहिमाम बनाइरहेको बेला हामीले कसरी ‘कोरोनाको प्रभाव यता चै हुदैन’ जसरी सपनाहरुको खाका कोर्यौ । कतै हामीले बुनिरहेको योजनालार्इ महाब्याधीले त असर गर्दैन ? हामीले पूर्वानुमानसम्म गरेन छौँ।

जब लुङ्माहिमले गजलहरुको पाण्डुलिपि र रुपैयाँको थैली थमाएर कृति प्रकाशनको जिम्मेवारी दिए त्यसकै भोलिपल्टदेखि देशमा बन्दाबन्दी सुरु भयो । कलकारखाना बजार हाट यातायात विभिन्न सरकारी तथा निजी सघ संस्थाहरु सबै बन्द भए । महाब्याधीको त्रास यति थियो कि घर बाहिर निष्कौ भन्दा पनि कतै ढोकामै कोरोनाको जिबाणु ढुकेर बसिरहेको छ कि जस्तै भान हुन्थ्यो । यस्तो अवस्थामा बाहिर कामकाजमा कहीँकतै निष्किनु भनेको जानीजानी खतरा आमन्त्रण गर्नु जस्तै हुन्थ्यो ।

मान्छेको स्वाभाव नै सायद स्वार्थी हुन्छ यश अर्थमा म कसरी पो अपवाद बन्न सक्थेँ र ? आफ्नो खुसी मिटाएर अर्काको खुसी खोज्ने म कुनै सन्त वा महात्मा पनि त थिइनँ । यस अवधिमा मैले लुङमाहिमले दिएको जिम्मेवारी पूरा गर्न कति पनि काम नगरेको भने होइन । पाण्डुलिपिको अध्यान, टाइपिङ, आवरणको लागि कलाकारहरुको खोजि, कृति प्रकाशनको लागि स्रष्टाहरुसगँको छलफल र भरपर्दो प्रेशको खोजि गरिरहेँ, भने उनका सिर्जनाहरुको फैलावटको लागि विभिन्न अनलाइन तथा छापा पत्रिकाहरुमा गजलहरु छनौट गरेर प्रकाशित गर्ने काम पनि गरियो । हुन त चर्चाको अँध्यारोमा पुरिएको म नाथुले उनलाई के उज्यालोमा ल्याउन सक्थेर, यतिका व्यवस्थापन गरिसक्दा पनि बन्दाबन्दी खुकुलो हुने कुनै छाटकाट थिएन ।

उता लुङमाहिम काइलाको स्वास्थ्य अवस्था भने दिनुदिन नाजुक बन्दै गइरहेको थियो । यसबिचमा उनले मलाई बारम्बार फोन गरेर पुस्तक प्रकाशनको लागि ताकेता गरिरहे तर समय अनुकल थिएन । मलाई कता कता लागिरहेको थियो कतै यस्तै हुँदाहुँदै कृति प्रकाशन नभइ नै लुङमाहिम काइलाको निधन त हुदैन ? यदि यस्तो भए मैले कृति प्रकाशनको जिम्मेवारी लिएको हुनाले त्यो मेरा लागि पनि अफसोसको घटना हुनेछ । त्यसैले प्रतिकुल समयको बाबजुद भए पनि केही जोखिम उठाएर उनको कृति प्रकाशनको लागि जुटेँ। मेरो एउटै मात्रै ध्याउन्न थियो । उनी जिबित छँदै कृति प्रकाशन गरिसक्ने तर विडम्बना त्यो पूरा हुन सकेन । ‘हुने हार दैव नटार’ भने जस्तै भयो । जुनदिन सम्पूर्ण कामहरु सकिएर पुस्तक तयार भयो त्योही दिन नै लुङ्माहिम काइलाको निधन पनि भयो । उनको मृत्यु हुन केहिबेर अघिसम्म हामी फोनमा बोलिरहेका थियौँ । त्यस बेला उनी स्वास्थ्य उपचारको लागि काठमाडौमा थिए । उनले कृति विमोचन र कृतिको बितरण सम्बन्धी चासो राखेका थिए। उनी फोनमा निकै खुसी र प्रसन्न सुनिन्थे।

केही बेर अघिसम्म कुराकानी गरेको लुङ्माहिमको मृत्युको खबरले म वास्तबमै स्तब्ध भएँ । त्यसपछि मलाई लाग्यो कि यदि मैले थोरै हिम्मत गरेर यस अघि नै कृतिको काम अघि बढाएको थिए भने आज यसरी लुङ्माहिम आफ्नो पहिलो प्रकाशित कृति नै नदेखि मर्नु पर्थेन । कतै मैले कोरोनाको हाउगुजीदेखि डराएर समयको दुरुपयोग त गरिनँ ? मलाई कता कता अपराध वोध पनि भयो र अझै पनि पटकपटक हुन्छ ।

यसरी उनको अन्त्येष्टिको दिन पारेर हामीले झापाको दमकमा उनको कृति मिक्वाको लोकार्ण गर्यौ। कहिले पनि सार्वजनिक कार्यक्रममा देखा नपरेको र स्रष्टाहरुसगँ दोहोरो चिनजान नभएको भए पनि उनको निधनप्रति उक्त कार्यक्रममा उपस्थित स्रष्टाहरु गहिरो खेद प्रकट गरिरहेका थिए । सबैका गहहरु भावुकताले भरिएका थिए। सायद यही नै एक सर्जक हुनुको साइनो र सिर्जनाको शक्ति हो ।

भनिन्छ ‘स्रष्टा सर्जकहरु कहिले पनि स्वार्गीय हुदैनन्, उनीहरु आफ्नो विचार, दर्शन र सिर्जनाहरु मार्फत सधै बाँचिरहन्छन् ।’ त्यसो त लुङ्माहिमले साढे तीन दशक मात्रैको अल्प आयु बाँचे तर सार्थक जीवन बाच्नेहरुको लागि त्यति उमेर र समय नै पनि पर्याप्त हुन्छ भन्ने उदाहरण हुन मोतिराम, वार्डस्वर्थ लगायतका व्यक्तित्वाहरु । यदि लुङ्माहिम काइलाले पनि केही खास र सफल सिर्जनाहरुको रचना गरेका रहेछन भने उनी सधै हाम्रो हृदयमा स्मृति बनेर बाँचिरहने छन् । सधैं उनी आफ्ना जिउँदा सिर्जनाहरुमा श्वास फेरि रहने छन्।।

प्रतिक्रिया दिनुहोस