विजेता बने भरतमणि पौडेल

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । आज राति भएको ग्रान्ड फिनालेमा उनले बाजी मारेका हुन् ।

फाइनलमा पुगेका भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका कमेडियन सन्तोष थापालाई पनि पार्दै ताप्लेजुङका भरतमणिले कमेडी च्याम्पियन सिजन–२ को उपाधि उचालेका हुन् । उपाधिको टाइटलसँगै उनले कार र २५ लाख उपहार पाएका छन् ।

फष्ट रनरअप बिक्की अग्रवाल बने भने सेकेन्ड रनरअप सन्तोष थापा बनेका छन् । फष्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः मोटरसाइकल र स्कुटर पाएका छन् ।

 

भरतमणिलाई नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता गगन थापाको साथ थियो ।

गत सिजनमा प्रत्यक्ष साथ नदिएका नेताहरुले यो पटक भने खुलेरै आफू निकट प्रतिभालाई साथ दिएका थिए । आ–आफ्ना जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई साथ दिएका हुन् । गगनले भने आफू सञ्चालक समितिमा रहेको कलेजको विद्यार्थी भएकाले भरतमणिलाई सहयोग गर्ने बाहना मिलेको बताएका थिए । भरतमणि जिपी कोइराला मेमोरियल कलेजका विद्यार्थी हुन् ।

गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथ थियो । सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ थियो । बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए । पछि फाइनलका लागि पनि भोटको क्याम्पेनिङमा उनले सहयोग गरेका थिए ।

भरतमणिलाई योगेशले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका थिए । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ ।

कमेडी च्याम्पियनको पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए । शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई थिए । शो निर्देशन विशाल भण्डारीले गरेका थिए ।

बाह्रखरी अनलाइनबाट साभार

फूलपातीको अघिल्लो दिन धन्दागिरी आउँदै

दमक | कोरोना महामारीअघि हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुन्थ्यो । किनकि, दशैं विदा फिल्म रिलिजका लागि सबैभन्दा राम्रो समय हो । तर, गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने नयाँ फिल्म रिलिज हुने भएको छ । फूलपातीपछिको दशैं विदा हत्याउन शुक्रवार फिल्म ‘धन्दागिरी’ ले रिलिज डेट घोषणा गरेको छ ।


असोज २५ गते (फूलपातीको अघिल्लो दिन) लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले शुक्रवार ट्रेलर पनि सार्वजनिक गर्‍यो । ट्रेलरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको छ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको यस फिल्ममा दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्व. दीपक क्षेत्री, स्व. बिएस राणा लगायतको पनि अभिनय देख्न पाइन्छ ।

नरेन्द्र भट्टराई (एन बी अन्जान)को कथा र निर्देशन रहेको फिल्ममा दिनेश खड्का एसोसियट निर्माता र कुमार प्रसाद ओझा कार्यकारी निर्माताको रुपमा छन् । कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ फिल्मका निर्माता हुन् । आरआर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् । फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन र सन्तुष्टि दिने निर्देशक भट्टराईको दाबी छ ।

यो फिल्मको डिजिटल राइट्स डिएआर मुभिज एन्ड फिल्म्सले लिएको छ ।

TEASER

श्रीकृष्ण लुइँटेलको ‘साली कमला–२’ सार्वजनिक

दमक | हाँस्य–व्यङ्ग्य गीत गाएर आफ्नो छुट्टै पहिचान बनाएका गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले साली कमला २ गीत बजारमा ल्याएका छन् । उक्त गीत उनले आफ्नै युटुब च्यानल बोकेदारी मिडिया अफिसियलबाट सार्वजनिक गरेका छन् ।

वि.सं. २०६२ सालमा सार्वजनिक भएको चर्चित गीत साली कमलाको अपार सफलता पश्चात गायक लुइँटेलले पुन ‘साली कमला २’ सार्बजनिक गरेका हुन !

उक्त गीतमा शब्द, संगीत र स्वर गायक श्री कृष्ण लुइँटेलको आफ्नै रहेको छ भने गीतको एरेज्न जोनी योन्जनले गरेका छन् । केशव रायमाझीको निर्देशन, सुमन योन्जनको छायाङ्कन रहेको उक्त म्युजिक भिडियोमा केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, सुश्मा सुवेदीको प्रस्तुती रहेको छ । म्युजिक भिडियोमा प्रतीक श्रेष्ठको सम्पादन र कलर ग्रेडिङ हेमन तामाङको रहेको छ ।

लुइँटेलका ‘ए बा किन्देउन भट भट भटे’, ‘डल्ले कि बहिनी’, ‘तेरो बाऊ थोते’, ‘सुनको सिक्री’, ‘ओके छ त’, ‘बाँके बर्दिया’, ‘केराको थम्बा’, गीत बज्यो ट्याक्सिमा..’ लगायत २०० भन्दा बढी गीतहरू सार्वजानिक भइसकेका छन् ।

उनले यस गीत मार्फत मनोरञ्जनका साथै केही सन्देश दिन खोजेको तिनजुरे अनलाइन लाई बताए ।

गीतको लिङ्क:

 

संगीता र तिलकको ‘मै घुमे फनफनी’ मा वर्षा र आकाशको छमछमी

दमक | विभिन्न चाडपर्वहरूको महत्व र गरिमालाई ती चाडपर्वहरू सम्बन्धी बनेका गीतसंगीतहरूले झन माथि उठाउने र आकर्षित गर्ने गर्छन् । नेपालमा पनि विशेष गरेर तीज, दशैँ, तिहार र होली सम्बन्धी प्रसस्तै गीतसंगीत बन्ने गरेका छन् । २ वर्षदेखि भने संसारभर आएको कोरोना महामारीका कारण अघिल्ला वर्षहरूमा जस्तो यस्ता गीतसंगीतहरूमा चापाचाप काम भइरहेको छैन । तथापि यस्ता चाडपर्वहरूको महतालाई उजागर गर्न केही कलाकर्मीहरू भने यस्तो चुनौतिपूर्ण समयमा पनि मिहेनत गरिहेका छन् ।

यसैबिच नेपाली नारीहरूको महान् चाड मानिने तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरू सार्वजनिक हुने क्रम सुरु भइसकेको छ । यही मेसोमा संगीता शिवाकोटी र तिलक बस्नेतको स्वरमा रहेको गीत ‘मै घुमें फनफनी’ सार्वजनिक भएको छ ।

तिलक बस्नेतकै शब्द र संगीत रहेको गीतमा सुदीप सागरको संगीत संयोजन रहेको छ । ‘वान डीबी’ स्टुडियोमा विमल छिनालले रेकर्ड गरेको गीतलाई एच.बी.एन. किस्मतले मिक्सिङ–माष्टरिङ गरेका हुन् ।

भिडियोमा आकाश श्रेष्ठ र वर्षा शिवाकोटीले नृत्य र अभिनय गरेका छन् । छमछमी नाच्न मिल्ने उक्त गीतको म्युजिक भिडियो ‘एट के एभरेष्ट मोसन पिक्चर’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

‘मै घुमे फनफनी’ गीतको म्युजिक भिडियो संगीता शिवाकोटीको पहिलो अफिसियल म्युजिक भिडियो हो ।

‘चक्रेनी बोजू’ को भूत

कथा

“साला पहाडमे क्या हे ?” सायद पहाडमा जीवनको इन्द्रेणी सपनाहरू फुल्ने सम्भावना नदेखेरै हुन सक्छ, मानबहादुर र उनको भाइ टेकबहादुरले ‘साला पहाडमे क्या हे” भन्दै हाँस्दा–हास्दैको कन्चनजङ्घा, फुल्दा–फुल्दैको गुराँस, पाउलिँदा–पाउलिँदैको टाँकी र किम्बुको वृक्ष, बग्दा–बग्दैको पेक्वाखोला र रुँदारुँदैको आमाको आँशुलार्ई परेलीमा चिसै छाडेर वर्षाैँअघि मुग्लान छिरेको हुनुपर्छ । अर्थात हरेक झरी चुइने छानो, हरेक साँझ–बिहान चिसिने चुलो, हरेक मुस्कान देखिने आमाको थोते दाँत र हरेक हुरी ढल्न तयार गाईगोठलार्ई नयाँ जीवन दिन पनि “मलार्ई पनि सँगै लैजाउन भन्ने मेन्छ्याइन, नजाउन भन्ने सक्रान्ते डाँडा, सबै–सबैलार्ई छाडेर दशैँमा घर फर्किने बाचा बाँधेर गएका थिए मानबहादुर र टेकबहादुर । तर कैयौं वर्ष बितिसक्यो उनीहरू दशैँ लिएर घर फर्किएकै छैनन् । साँच्चै कैयौं वर्ष बितिसक्यो मानबहादुर र टेकबहादुर पेक्वाखोलाको पानी पिउन, रवि बजारमा हाट भर्न, फुङ्सेङ मेलामा हाक्पारे गाउन र बग्दा–बग्दैको आमाको आँशु पुछ्न उनीहरू घर फर्किएकै छैनन् । के साँच्चै नै उनीहरूले पहाडमा जीवनको इन्द्रेणी सपनाहरू फुल्ने सम्भावना नदेखेकै हो त ?

आमा सधै पहाडको कुरा गर्दा भन्नुहुन्थ्यो “पहाडको त पानी नै मिठो” । दिदीहरू पनि पहाड गएर आएपछि सुनाउनु हुन्थ्यो “चैत बैशाखमा त कति राम्रो गुराँस फुलेर वन नै ढकमक देखिन्छ । बतास चल्दा धुपी र सल्लाहरू स्वाँ… गरेर कति मज्जाले सुसाउछन् । अझै कोइली चरी कति बिरक्त लाग्दो गरी कुहुकुहु… गरेर कराउछन्, फेरि कति रहर लाग्दो बाटैभरि रानी कुसुम र काफल पाकेको हुन्छ । मावलको बारीभरि पाइने सुन्तला र नास्पातिको त झन कुरा गरेर साध्यै छैन । पहाडको आलु उसिनेर खायो भने त पेट अघाए पनि मुखै अघाउँदैन ।”

पहाड गएर आएकाहरूको यी र यस्ता कुराहरू सुन्दा र मेरा मित्र, प्रिय कवि मीन थापाको पहाड शिर्षकको कविता पढ्दा, कहिल्यै पहाड नदेखेको मान्छे अहिल्यै पहाड जाऊँ झै लाग्ने । पहाडमा आफन्तहरू भएर मात्रै नहुने रहेछ । पहाड जाने बाटो चिनेर मात्रै पनि नहुने रहेछ । मान्छेहरूमा इच्छा शक्ति जतिकै बाहाना पनि चाहिँदोरहेछ । हो सायद म त्यही बाहानाको प्रतिक्षामा थिएँ ।

अँ, बाहाना आउन त मसम्म आयो, तर दुखद्को अनुभूति भएर आयो । पहाड जाने बाहाना पनि मामाको मृत्युको बुइ चढेर आयो । विडम्बना मैले यतिका वर्षहरू र यतिका उमेर यस्तो अप्रिय बाहानाको लागि पर्खिएको हुँदै होइन ।

आमाको बृद्ध र रोगी शरीर अनि मेरो पहाडको सौन्दर्य हेर्ने तिब्र चाहानाले गर्दा अन्ततः मामाको फजेमा पहाड जान म नै तयार भएँ । म कल्पिन्थेँ, वन नै दुलही झैँ सिँगारेर फुलेका होलान बैँशालु गुराँसहरू, डाँडामा उभिएर आलाप तानि रहेका होलान् गायक धुपी र सल्लाहरू, पहाडको खबर बोकेर हतार–हतार मधेश दौडिरहेका होलान् तन्नेरी खोलाहरू, कटुस र रानिकुशुमको हाँगामा बसेर साल्सा नृत्य नाचिरहेका होलान् नतर्की जुरेलिहरू । उफ् ! सम्झेरै पनि मन कस्तो रोमान्चित हुन्थ्यो र सोच्थेँ कसो नलेखिएला र धुपि र सल्लाको फेदमा बसेर एउटा निबन्ध ,गुराँसको फेदमा बसेर एउटा गुराँसको कविता, हुँदै नभए कसो नलेखिएला र हाऊ पहाडको एउटा गीत !

“कता हिँडेको ?
कसलार्ई खोजेको ?
भनन भन ए बिरानो परदेशी !”
सायद यसै भनिरहेका थिए पहाडका ती नागी र भञ्ज्याङहरूले । यात्रा पैदल नै हुनेछ भनेर मैले नै ढिप्पी गरेको थिएँ तुम्बासगँ । हामी हिँड्न तम्सिएका थियौं । हाम्रो गन्तव्य थियो, पाँचथर जिल्लाको आरुबोटे गाविसको गैरीगाउँ । पहाडको कुमारी जवानीलार्ई चुम्दै–चुम्दै जाने मेरो इच्छाले मोटर नचडी पैदल कसिएका हामी जतिजति माथि जान्थौ उति–उति निराशाको भुमरीमा पर्थेँ म । न त त्यहाँ दिदीहरूले भनेको जस्तै वन नै श्रृङ्गारेर गुराँसहरू फुलेका थिए, न त मीन थापाको कवितामा जस्तै झर्नाहरूले गीत गाएको सुनियो, न त मयुरले नाचेकै देखियो । मैले निलो बह तुम्बा सामु पोखेँ । तर उहाँले त कति सजिलै शान्तवनाका पोचाले पुछ्दै भन्नू भयो “यो बेसिजन पो रहे छ ।” अब चै नढाँटी भन्ने हो भने मलार्ई बल्ल मामाको मृत्युको वेदनाले चेप्न थाल्यो ।

हिजो साँझ म घामभन्दा ढिलो सुतेकाले होला, श्रीअन्तुबाट शिशुघाम घर्षँदै घर्षँदै मेरो छेउमा आएर पनि घाम मलार्ई उठाउन सङ्कोच मानेर मलार्ई हेरिरहेको थियो । तर तुम्बाले कति पनि सङ्कोच नमानी उठाए “ए कान्छा उठ” म आङ तान्दै उठेँ । घाम मलार्ई हेरेर हाँस्यो । घडिफूल पनि मलार्ई हेरेर मुस्कुरायो । उठेर हातमुख धोएँ अर्थात नित्यकर्म सकाएर चनाखो हुँदै मैले मेरी आमालाईँ जन्माउने गाउँ हेर्दै, के आँखाले मात्रै सुमसुमाउदै थिएँ । उत्तरतर्फ पुतपुत धुवाँ पुतपुताईरहेको देखेँ । सोचेँ, केटाकेटीले तरेबाहरू बस्ने डेरामा आगो सल्काएका छन् । आतिएर हतार–हतार धुवा उडिरहेको ठाउँमा गएँ । डेरामा होइन रहेछ घरमा पो रहेछ । सबैभन्दा अफसोचको कुरा त के थियो भने अन्जान बस नभइ जानाजान समाजको पन्च भलाद्मीहरू बसेर मुचुल्का उठाइएर घरमा आगो लगाइएको रहेछ । त्यो यथार्थ थाहा पाएर मन आहात भयो । फेरि एकै छिनमा म भित्रको एउटा मान्छे त्यो समाजको एक्काइसौं शताब्दीको चेतना देखेर अट्टाहास गरेर हास्यो हा…हा…हा…

सायद त्यो जल्दै गरेको खम्बा चक्रबाजेले चिन्जुवा जङ्गलबाट बोकेर ल्याएका थिए । त्यो जल्दै गरेको बलो, हुन सक्छ मानबहादुर र टेकबहादुरले काँधमा एक–एकपट्टि बोकेर ल्याएका थिए । उनीहरूको घरको नाममा अब त्यही जल्दै गरेकोे खम्बा र बलो मात्रै थियो । त्यो पनि एकै छिनमा जलेर अब खरानीमा परिणत हुनेछ । यदि उनीहरू फर्केर आए भने कहाँ थियोे आफ्नो घर भनेर पनि अब ठम्याउन गाह्रो पर्ने छ । कहाँ ओत् लाग्लान् उनीहरू । त्यसबेला कसको घरलार्ई आफ्नो घर भन्लान् उनीहरूले ? गाउँ र माटोले जबाफ माग्यो भने के जबाफ दिन्छन् होला उनीहरूले अब ? हेरेँ, जल्दै गरेकोे घर अलि पर डिलमा छ उदास टाँकीको बोट, सोचँे त्यहाँ चढेर कति सोइसोला खेले होलान् ती दाजुभाइहरूले । हेरेँ घर मास्तिर थियो शोक मग्न गिदेरीको रुख । त्यसको हाँगामा बसेर ती दाजुभाइले कति सुसेले होलान् जीवनका पकन्दीहरू ।

मानबहादुर र टेकबहादुरको घरमा दैवले पर्दा उठाएर हेरेपछि, उनीहरूको बुबा भग्वानका जनिक भए । बुबा घोडाबाट आमचोङको भिरबाट लडेर बितेपछि गृहस्थीको सारा बोझ उनीहरूको काँधमा आइपर्याे । पाँच रोपनी जग्गामा उत्पादन भएको कोदो र मकैले वर्षदिन पनि थेग्न सक्दैन थियो । उनीहरूले देखेको एउटै मात्रै निर्विकल्प विकल्प थियो ‘मुग्लान’ । एक्ली आमालार्ई छाडेर जाने मन त काहाँ थियो र उनीहरूलार्ई पनि तर अभावको सेहेले घर बस्न नदिएपछि मुग्लान उनीहरूको वाध्यता थियो । कुनै बिहानको झिसमिसेमा उनीहरूले भालेको ढाकसँगै पेक्वाखोला तरे तर यता चक्रेनी बोजूलार्ई भने आफ्नै आँशुको भेलले बगाइरह्यो ।

चारदिनदेखि कुखुरा र फालेचाहरूले नारा जुलुस गर्दा पनि चक्रेनी बोजू कुनै अटेरी शासक झैँ चुपचाप रहिरहिन् । सधैँ घामलार्ई लोई..लोई… गर्दै सुताएर भोलि बिहानै फेरि झिस्मिसेमै ढिकी र जातोको झ्यार झ्यारले घामलार्ई उठाउने बोजू चार दिन यता सुतेको–सुतेकै छिन् । अँह तर कामको धावाले गर्दा छिमेकीहरू कसैलार्ई पनि कुनै चासो नै भएन ।

चक्रेनी बोजूको सबैभन्दा नजिकको छिमेकी हो माजनी कान्छो । चार दिन यता माजनी कान्छाले चक्रेनी बोजूकोमा जाँतोको हाक्पारे पनि सुनेन । ढिकीको पालम, ओख्लीको ख्याली र बोजूको रोगी खोकी पनि सुनेन । अँह, माजनी कान्छाले हरेक साँझ “आउन हाउ आऊ, ए मेरा छोराहरू काहाँ गयौ हाउ आसाऐ …” भन्ने बिरसिलो पकन्दी पनि सुनेन ।

चारपँच दिन यसरी नै बितेपछि एकदिन बिहान माजनी कान्छाले चक्रेनी बोजूको घरको बन्द ढोका घर्याक उधार्याे । जहाँ उसले बोजूको लास देख्यो । जो ढाडिएर जिलजिल थियो । आँखाहरू मुसाले खाएर टोड्का टोड्का थिए । गालाहरू कमिलाले खाएर छिद्रा छिद्रा थिए । माजनी कान्छाले यो दृश्य धेरै बेरसम्म हेर्नै सकेन र घर फर्किएर सोच मग्न भएर चुपचाप बसिरह्यो । खै के के सोचिरह्यो । अनि भरे मात्रै उसले चक्रेनी बोजूको मृत्युको खबर गाउँ गाउँ डुलेर सुनायो ।

छिमेकीहरू कोही मानबहादुर भए, कोही टेकबहादुर भए र यसरी माथि गाउँ सिरानको चिहानडाँडामा चक्रेनी बोजूको अन्त्यष्टी गरियो ।

चक्रेनी बोजूको मृत्युमा शोक माउने र दुख्मनो गर्नेहरू धेरै थिए । मलामीजनका अनुहारहरू पीडाले मलिन र आँखाहरू भिजेका पत्थर झैँ चिसा चिसा थिए । त्यसमा पनि सबैभन्दा धेरै शोक माजनी कान्छालार्ई परेको अनुमान गर्थे गाउँहरू । माजनी कान्छा त्यसयता एककोहोर्रिरहने, नबुझिने गरी एक्लै बरबराइरहने, कहिले हास्ने कहिले रुने गर्न थाल्यो । चक्रेनी बोजूको दाहसंस्कारकै बेला पनि रुँदै जङ्गलतिर दगुरेर अनौठो हर्कत देखाएका थिए । सबैभन्दा नजिकको छिमेकी भएको नाता र सबै भन्दा पहिला चक्रेनी बोजूको लास देखेकाले माजनी कान्छालार्ई परेको शोकलाई अन्य गाउँलेहरूले त्यस बेला स्वाभाविक रुपमा लिएका थिए । तर समय बित्दै जाँदा पनि उसमा आएको परिवर्तन सामान्य हुनुको साटो झन असमान्य बन्दै गइरहेको थियो । यस अवधीमा माजनी कान्छाले थुप्रै पटक पासो लागेर आफ्नो जीवनलाई विसर्जन गर्ने प्रयत्न पनि गरिसकेको थियो । त्यसै हुनाले हरबखत उसको रेखदेखका लागि परिवारको एकजना सदस्य साथै बस्नु पथ्र्याे । माजनी कान्छा यस्तो हुनुमा गाउँलेहरू विभिन्न अनुमान लगाउँथे ।

माजनी कान्छाको उपचारको लागि उसको परिवारले धेरै धामी– झाँक्री लगाए तर पनि माजनी कान्छाको समस्या बिसको उन्नाइस नभएपछि राम्रो अस्पतालमा देखाउने सल्लाह गरी परिवारले मधेश लाने निधो गरे ।

तर विडम्बना नै भन्नुपर्छ त्यसको केही दिनपछि उपचारको लागि मधेश झरेको माजनी कान्छा सडक दुर्घटनामा परेर मृत्यु भयो । चिन्ता राख्दा याबाले पहिलो चोटी चक्रेनी बोजूको लास देखेकाले उसैको भूत लागेर यस्तो भएको हो र यदि चक्रेनी बोजूको भुतलाई नखेदाए गाउँमा फेरि पनि यस्तै अनिष्ट हुन्छ है भनेर लोमा गरेपछि त के चाहियो र आरुबोटे टोलबासीको चेतना जुरमुराएर उठ्यो र चक्रेनी बोजूको भूत भगाउन घर नै आगो लगाउने मुचुल्का बनाए, अनि घरमा आगो झोसियो ।

माथि यतिबेरसम्म उल्लेख गरेको माजनी कान्छा नै मेरो मामा हुनुहुन्थ्यो, जसको फजेको लागि म पहाड गएको थिएँ । उनै मामाको बुहारीले चक्रेनी बोजूको घरमा आगो लगाउनु परेको कुरा यसरी बेलिबिस्तार लगाइरहँदा म भने भित्रभित्रै मुटु गाँठो परेर नुनिलो तमोर र पेक्वाखोला बगिरहेको थियो ।

मिक्लाजुङ, मोरङ

‘माछी मार्न जाऊँ न दाजै’ गीत माछा ब्यापारीको विज्ञापन हो ?

क्षितिजमा मधुरो आवाजमा एउटा गित बज्छ “माछी मार्न जाऊँ न दाजै काला पानीमा” हाम्रा घरका २ जना नानीहरू छोरी बिनिषा र छोरो शिशिर त्यो क्षितिजमा बजेको गीत सुनेर भित्रबाट हतार हतार आँगनमा निस्कन्छन । त्यतिबेलासम्म क्षितिजमा बजेको आवाज नजिकै आइपुग्छ, मलाई छोरा छोरीले बोलाउँदै भन्छन “बाबा माछा आयो, माछा खाने नि !” म बाहिर निस्कन्छु र छोराछोरीको ईच्छा बमोजिम माछा किन्छु, । छोराछोरी त खुसी हुन्छन तर मेरो मनमा एउटा प्रश्न खुब खड्किन्छ ।


यो गीत यसरी जथाभावी किन प्रयोग भैरहेको होला ? यस्को भाव बुझ्न आम नागरिकले किन नसकेका होलान ? सम्वन्धित या हामीले आम नागरिकलाई यो गीत कसरी जन्मियो ? के को लागि जन्मियो ? यस गितले भन्न खोजेको बुझाउन खोजेको संदेश के हो ? बुझाउन किन नसकेका हौंला ? हाम्रा कलिला मस्तिष्कका छोराछोरीलाई यो मात्र थाह छ कि यो गित बजेपछि माछा आउँछ, माछा किन्न पाईन्छ । हाम्रा नानीहरुको बाल मस्तिष्क भ्रम छर्ने अधिकार यी ब्यापारीहरुलाई कस्ले दियो ? यो विज्ञापन बनाउने व्यक्तिले कसलाई रोयल्टी तिरेर वा कोसँग अुनमति मागेरे बनाए ? रेडियोमा यी र यस्ता विज्ञापन खुलेआम बज्ने गर्छन्, यिनीहरुलाई यस्ता गीतहरूको दुरुपयोग गर्ने अधिकार कस्ले दियो ? मेरो मस्तिष्क यी र यस्ता प्रश्नले भरिएर आउँछ तर उत्तर कस्ले दिने ?

“माछी मार्न जाऊँ न दाजै कालापानीमा” यो गीतका श्रष्टाले यो गीत ‘हाम्रो सिमानामा रहेको कालापनी हाम्रो हो, महाकाली हाम्रो हो’ भन्ने सन्देश दिएका थिए । यही कारण भारतले यो गीत भारतमा प्रतिबन्द समेत गर्याे । यस्तो गहिरो अर्थ बोकेको गम्भीर सन्देश दिएको गीत यसरी प्रयोग हुँदा ती श्रष्टाले के सोचिरहेका होलान ? यी श्रष्टाको मन कति दुखेको होला ? हामीले कहिल्यै सोचेका पनि छैनौँ । हामी त अरुको वौद्धिक सम्पतिको यति दुरुपयोग भएको टुलु–टुलु हेरेर बसिरहेका छौँ । तर यो मौनता हाम्रा लागि नै घातक छ । हाम्रा छोराछोरीको मस्तिष्कमा गलत र भ्रामक कुराहरू भरिदिने यस्ता विज्ञापनलाई निरुत्साहित कस्ले गर्ने र कसरि गर्ने ? बेलैमा ध्यान जानु आवश्यक छ ।

नत्र ‘माछी मार्न जाउँँ न दाजै काला पानीमा’, ‘माछी मार न हो दाइ हो आजलाई चटनी’ भन्दा माछा आयो भन्ने बुझिन्छ र ‘रेलको झ्याल समाएर सँगै भागौँला’ भन्दा कवाडी फलाम लिन आयो भन्ने मात्र बुझिन्छ ।

त्यसैले सम्बन्धित सबैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित सबैले ध्यान दिनु जरुरी छ । कसैको वौद्धिक सम्पतीबाट कुनै पनि ब्यापारिक लाभ लिनु गैह्र कानुनी छ । बेलैमा सचेत रहौँ सचेत बनाउँ ।

नोट: यी माथिका गित प्रतिनिधी मात्र हन्, यहाँ सयौँ गीतको दुरुपयोग देश भरका सयौँ रेडियो, एफ.एम स्टुडियोले गरिरहेका छन् ।

गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ सार्वजनिक

दमक | गायक सुरेश धिमालको दोस्रो गीत रिलिज भएको छ । म‌ंगलबार उनको ‘गाजलु आँखाको’ बोलको गीतको म्युजिक भिडियो युट्यबमार्फत सार्वजनिक भएको छ ।


यसअघि उनको ‘रोजेर तिमिलाई’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । ‘गाजलु आँखाको” गीतको म्यूजिक भिडियोलाई ‘ट्युन एन्ड टोन इन्टरटेन्मेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

पूर्वमा आफ्नो परिचय बनाइसकेका गायक धिमालको आवाज रहेको यो गीतको शब्द रचना उपेन्द्र अधिकारीको रहेको छ । शब्दहरूमा धुन भर्ने काम भने लेखराज ढकालले गरेका छन् । संगीत संयोजन अर्थात एरेन्ज भने अशोक थापाको रहेको छ । उक्त गीतलाई काव्या रेकर्डिङ स्टुडियो, दमकमा रेकर्ड गरिएको थियो ।

म्युजिक भिडियोमा भुवन खड्का र सीमा धिमालको अभिनय रहेको छ । मोरङ र झापका विभिन्न स्थलहरुमा छायाङ्कन गरिएको उक्त भिडियोको निर्देशन वियाल राईले गरेका छन् । मुह मगरले छायाङ्कन गरेको उक्त भिडियोका लागि सुमन मग्रातीले श्रृङ्कारको जिम्मेवारी सम्हालेका छन् ।

असार पन्ध्र

तिमीले असार पन्ध्रका
अनेकन् परिकार सजाएर
अरुले ठिक्क पारेकाे हिलाेमा
सुसज्जित सजिएर
सेल्फी खिचेर पाेेष्ट गरेपछि
मैले पनि सम्झिएकी हुँ
असारकाे चटाराे।
साँच्चै असार त
पानी पिउन नपाएकाे खेतकाे तिर्खामा हुन्छ
या त पानी नै पानी भएर
समाहा भन्दा माथि भरिएर
खेतकाे आली नाघेर झर्ने
किसानकाे आँसुमा हुन्छ
गाेरु नारेर केहीछिन हिल्याएपछि
हिलाेमा फाली हराएर
खाेज्नुकाे दु:खमा हुन्छ
तिम्राे सेल्फीजस्ताे कहाँ छ र
असार पन्ध्रकाे ब्यथा?
धान राेप्ने याे बेलामा
हेर त यी खेतहरु पटपटी फुटेका छन्
जसरी फुटेकाछन् मेरा बाका कुर्कुच्चाहरु।
आफ्नै उर्वरताकाे रगत पिएर
आफू बाँझाे रहनुकाे पिडा
आकाससँगै राेएकाे छ
याे खेतकाे माटाे ।
वर्षाैं भयाे हलि बालुवा निचाेरेर
रेमिट्यान्स पठाइरहेछ
यता पहिराेले उसकै खेत
बालुवा बनाइरहेछ,
साेध उनकै गाउँलाई साेध
कस्ताे आएकाे छ तिम्राे
खेतमा असार पन्ध्रकाे बिऊ।
तिमीले खिचेकाे सेल्फीमा
कहाँ छ र मानाेकाे खेती?
कहाँ छ र मुरीकाे सपना?
असार भन्नु सपना पनि हाे
जहाँ चुलाेकाे भविश्य बाँचेकाे हाेस्
परिवारकाे खुसी हाँसेकाे हाेस्।
अचेल हाँस्दैनन् सपना
हिलाे आली बनेर
दाँदे फ्याउरी बनेर
राेपाहार बाउसेका पाखुराहरुमा
ब्याडे गह्राका खुसीहरुमा।
खेतकाे गह्राकाे नजीकैकाे ढुङ्गामा
बसाेस् काेही त
धमिलाे पानीले हात पखालेर
गुन्द्रुक र भुटेका मकै चपाओस् काेही त
र कल्पियाेस् मंसिरमा झुलेका
लहलह धानका बाला।
तिम्राे सेल्फी देखेपछि लाग्दैछ
बिऊ बाेकेर लैजादैगर्दा
हिलाेमा चिप्लिएर
बरु सुरक्षित लडाेस् खेतधनी
बरु फाली नै हराओस्
हल्लुड नै चुडियाेस्
कि त जुवा, हरिस,अनउ नै बाँचियाेस
तर कदापि नहराउन्
याे देशका हली, बाउसे र राेपाहार
बिदेशी रेमिट्यान्स बनेर।
– इटहरी

आमाप्रति (कविता)

पहिला–पहिला आमा
रातभर कोल्टे फेरिरहनु हुन्थ्यो
चुर खाइरहनु हुन्थ्यो
एक्लै मनसगँ बात मार्दै
बरबराइरहनु हुन्थ्यो
पट्यार लाग्दा रातहरुलार्इ
कहिले ओख्लीभरि कुट्नु हुन्थ्यो
कहिले जातोभरि पिस्नु हुन्थ्यो

यसरी आमा प्राय अनिन्दा रातहरु
सुस्केरा हाल्दै काट्नु हुन्थ्यो
र झिस्मिसेमै उठेर आँखामा अर्धकल्चो
सपना मिच्दै मेलोमा लाग्नु हुन्थ्यो

आमाको आदतदेखि दिक्क म, कराउँथे
– भुत जस्तो रातभर जाग्नुहुन्छ
– कति चुर खानु भएको होला
– खानामा ध्यान दिनु थि र सिजवामा होइन
– कि छाडेर गएको बुवाको याद आयो

आमा आफ्ना चिसा आँखाहरु पुछ्दै फुस फुसाउथिन्
“कान्छा तँलाई पछिईईईई था, हुन्छ

अचेल घरब्यबहारको जुवा मेरो काँधमा परेको छ
जोत्नु छ मैले सिङ्गो धर्ती र
रोप्नु छ जीवन गरा–गरा

आमा अचेल मेरा अनिन्दा आँखाहरु देखेर
सम्झाइरहनु हुन्छ
“कान्छा पीर नलिई
मान्छेको दुख्ख त मरेपछि मात्रै सकिन्छ”

उसो भए म बाच्न चाहान्छु।।

प्रधानमन्त्रीले पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।