हाव ! ठुली हाव ! (कविता)

गुनासोको पोको त
पोल्टाभरि पो बोकेको रहेछौ
बोजु गुन्द्रुक लुकाए जस्तो

के थाहा उबेलाको मधुमास ?
तिम्रो चिठीभरि माया थियो होला
तर मैले नपढ्दै, कुतिसाप्माले पो
अनुत्तरित शब्दको तिम्रो आवाज
बाजेको अप्सानीसँगै
प्यार प्यार चुम्बन गरिरहन्थ्यो
लाचार म निर्भिक्क उभिएर
प्रेमको दफन हेरिरहन्थेँ

थाहा छ ?? ठुली
कक्षामा तिमीले उडाएका हवाइजहाज
मेरो आँखाको गेडीमा लेन्ड भएपछि
झन्डै पद्धसा निक्लेको
आम्मै ! जिउ सिरिङ्ग हुन्छ
“मेड इन फलना” लेखेको हवाईजहाजभित्र
मेरो निम्ति आशिम सौगातहरू
थिए होलान्, सायद !
तर पीडाले डाँको छोडेर रोएपछि
हेडसरले अफिसमा लगेर
भाटाले निस्तेज पारिदियो
तिम्रो फ्लाइटलाई
अनि त फेरि अवसान भयो प्रेमको

मनमा छाँद हाल्थ्यो ठुलीको मायाले
अनि त तल गुँरासेको मलिबाँसमा
खोपिराखेछौ नि प्रेमको निशानी तर के गर्नु ?
बाजेले बाँसै ढालेर पो मान्द्रो बुनेछन्
उसै गरी तरङबुङमा
चकले धस्काएछौ कोटेसन
त्यो पनि कादुरिहररूको इनामेलले
मेटाइदिएपछि
त्यहाँ पनि त दफन भयो तिम्रो प्रेमको उत्सर्ग

तिमीले नै कोरेका थियौ
शिलामा चार इन्चे काँटीले
तिम्रो अनि मेरो नाम बरढुङ्गामा
त्यो पनि ठेगदारहररूले
ढुङ्गै फुटाएर पो गाह्रो लाइपठाएछन्

हाव ठुली !
माया एकोहोरी होइन नि
मेरो पनि गाँसभरि याद थियो
सासभरि सम्झना थियो
ज्यानभरि तिम्रै मिङ्सो थियो
तर उल्का झर्यो र पो आकाशबाट

अनगिन्ती यादहरू थिए ठुली
तर नाम्लोले किचेपछि यादहररू
दबिएर गए
कैयौँ सम्झानाहरु च्याम्बिघाँससँगै काटिएर गए
अबिरल मायाहरू असारमासमा
खरिजुका सँगै
लाम्पातेको लबेटामा टाँसिएर गए
बाँजोघरामा खेतको आलीमा
कोदालीको चपरी सँगै ताच्छिएर झरे
भदौमा अँलैचीको थुँगासँग
छुरीले रोपिएर गए
मङ्सिरमा धानको निहानसँग बटुलेको यादहरू
बिटोसँगै चुटिएर झरे

ठुली हाव !
पयुँ फुल्दा त झन
हलोको फालीसँगै पो
बाँझोमा गाडिएर गए
चैत बैशाखको के कुरा
बीरकुहिरोको धुनमा
चिलाउनेको कचेटसँगै चिरिएर रहे

सुकमोल तिम्रो चेहेरा
मेरो क्यान्भासमा प्रसारित नभएका होईनन्
सपना साँचेर
स्वर्गको फिलुङ्गो
चोर्ने दाउमा हुँदो हुँ म
तर बाचा र कसमहरू
साथीभाइसँग बसेर चढाएको
छिप्पिएको हुर्लेसँगै
घुटुक्क निलिपठाएछु क्यार !

मुटुभरि तिमीलाई पुग्ने माया थियो ठुली
तर महादेउ मेलामा ढाइस खेल्दा
“झन्डितिन” भनेर छाँती हिर्काको
माया त तर्छेर मुटुमै पो मर्यो बरा !
अनि अन्तिम घुड्कोमा पिउनुलाई पिलाउनुलाई
माया फोक्सोमा साँचेर राखेको थिएँ
त्यो पनि चुरोटको लर्कासँगै
फोक्सै सुकेछ ठुलिउ !
फोक्सोसँगै चेप्टिएर
माया त अचार आफै बिचार

ताप्लेजुङ, हाल मोरङ

भोक (निबन्ध)

माघ महिनाको पारिलो घाममा पिठिउँ तताएर बसिरहेको थिएँ । मलाई एक्कासी भोक लागेर आयो । मुखमा पानी आयो । के खाऔँ के खाऔँ भयो । घर गएर खाजा खाएँ । भोक हरायो । भोक हराएपछि मलाई भोकको बारेमा जान्ने उत्कण्ठा जागेर आयो । बेलुकाको खानापछि नेपाली बृहत् शब्दकोश पल्टाएर हेरेँ । त्यहाँ भोकलाई यसरी चिनाइएको थियो ‘यो नाम वाचक शब्द हो, भुँडी काउकाउ गरी आहाराको आवश्यकता परेको अनुभव हुनु, क्षुधा, छुद्धे, आदि । ‘भोक’ शब्दमा ‘आइ’ प्रत्यय लागेपछि ‘भोकाइ’ भन्ने नयाँ शब्द बन्दोरहेछ । जसको अर्थ छः– भोकाउने भाव, क्रिया वा प्रतिक्रिया । ‘भोक’ शब्दमै ‘ओ’ प्रत्यय लागेपछि ‘भोको’ शब्दको निर्माण हुँदोरहेछ । भोको भनेको खाने कुरा नपाएको, भोकै रहेको, भोकको इच्छापूर्ति नभएको । भोक र भोगको लालसा जागेको । यस्तै यस्तै अरु पनि ।

के खाउँ ? के खाउँ ? हुनु पनि भोक । कुनै उत्कृष्ट वा आफू योग्य वस्तु वा व्यक्ति प्रतिको उत्कट अभिलाषा जाग्नु पनि भोक । अन्नको अभावमा भोकै मर्ने अवस्थाको कारक तत्व पनि भोक । कुनै वस्तु वा सुखदुःखका अवस्थाको भोग गर्नुकापछि पनि भोक । भोजन गर्ने, शासन गर्ने, आशन खोज्ने, वासन खोज्ने र राम्री रोज्नुकापछि पनि भोक । चाडवाड, मेला पर्व, विहे, व्रतबन्ध, वरखी, शुद्धाईँमा खाइने भोजनमा झन धेरै भोक । भेटघाट भोक । रमाइलो भोक । घमाइलो भोक । नुनिलो भोक । गुनिलो भोक । झुसिलो भोक । अझै अरु धेरै भोकै भोक । मलाई लाग्थ्यो खानेकुराको मात्र भोक हुन्छ । भोकका लागि म त विचरै पो रहेछु । मैले त भोकको अर्थ सङ्कुचन पो गरेँछु । अलिअलि बुझिल्याउँदा अब त झन शब्दकोशको अर्थ पनि साँघुरिए झैँ लाग्दै छ । मलाई अहिले झ्वाट्ट भोक शव्दको अर्थ विस्तार गर्ने भोक लागेर आयो । तर खै कस्ले ? म सक्दिन । विद्वानले म बबुराको कुरा के सुन्लान र ! भोक नमर्ने भो गाँठे । अब के गर्ने होला ? आखिर यो मेरो मात्र चिन्ताको विषय होइन । जेसुकै होस् ।

प्रत्येक मान्छेको आफ्नै भोक हुँदो रहेछ । मेरो भोक, तपाईँको भोक, हजुरको भोक, मै सापको भोक, भाइसापको भोक, सम्पन्न परिवारको भोक, गरीबीको रेखा मुनि रहेका परिवारको भोक । मेरो भोक एउटा, तपाईँको अर्काे, हजुरको झन अर्कै होला, कुरै नगरौँ सम्पन्न परिवारका भोकको । गरीबीको रेखामुनि रहेका परिवारको भोक झन कति होला । मैसाप र भाइसापका छेउ पुग्नै सकिन्न । निद्राको भोक, सिद्राको भोक, शिक्षाको, दीक्षाको, अनि खानाको, नानाको, छानाको, यी सबै भोक एउटै छाना मुनि हुँदा झन कस्तो होला । मलाई लाग्यो भोक हराएको पक्का पनि नहुनु पर्छ, यस चराचर जगतमा । लु हेर्नुस् हैन भने यहाँ कतिछन अझै भोक । न भनी साद्दे न गनी साद्दे । दरबारको भोक, घरबारको भोक, तरबारको भोक । शासकलाई सत्ताको भोक । गृहस्थीलाई घरबारको भोक । हत्या, हिंसा र आतङ्कमा रमाउनेलाई तरबारको भोक । कमिसनको भोक झन् कस्तो होला । प्राध्यापकको भोक प्राध्यापकीय होला । विद्यार्थीको भोक मलाई थाहा छ । व्यापारीको भोकको सम्बन्धमा विशेष गरी व्यापारीलाई थाहा होला, कता नाफा ? कता घाटा ? लुटाहा,फटाहाको भोक जान्न उनीहरुकै सङ्गत गर्नु पर्ला । नत्र नख्खु, भद्रकाली, डिल्लिबजार गए पनि हुन्छ । तर त्यहाँ जान झन ठूलो भोक चाहिन्छ । ती मैले लेखिन आफै खोज्नु होला । जुवाडेको भोक बुझ्न खालमा पुगे पुग्छ । पण्डितलाई पण्डित्याईँको भोक, कर्मकाण्डी ब्राम्हणलाई आज कसले पानी समाउलाको भोक । बाटाका ज्योतिषी बटुवा देख्नै हुन्न भोकले मरेर कराउछन्, “हात हेराउनुस् भाग्य बदल्नुस् ।“ सम्झिँए चुस्स हात हेराउँदा भाग्य बदलिने भए यी ज्योतीषी किन बाटामा बसिरका हुन् ? भोकका भकारीहरुबारे खै कति लेखौँ । कति हो कति आठै दिशा भोकै भोक ।

ज्ञान विज्ञानको भोक लागेर होला नाट्य सम्राट बालकृष्ण समले यसो भनेका “ज्ञान विज्ञानको हात जोडनु पर्छ कर्ममा ।” हामीले ज्ञान विज्ञानका पक्षमा कर्म गरे सबै भोकहरु हट्दछन् भन्ने व्याख्या नगरेर महान विचारको उपमा दियौँ कि रुपमा लियौँ ? यसबारे भोकै मरेन मेरो । ज्ञान विज्ञानका खातिर काम गरे कुनै पनि भोकले बास नपाउला जस्तो लाग्छ । पक्का पनि भोक हराउन सक्छ । मार्कण्डेय पुराण अन्तर्गतको दुर्गा सप्तशतीमा भोककै रुपमा देवीलाई यसरी पुकारेको पाइन्छः
“या देवी सर्व भूतेषु क्षुधा रुपेण संस्थिता ।
नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः ।।”
हामी सबैमा भोकको रुपमा रहेकी रहिछन् देवी भगवती, मैले यति बुझेँ “ज्ञानको भोकका रुपमा देवीलाई बझ्नु पर्ने होला” अरु केके बुझ्न मन छ हजुरहरुलाई जिम्मा । “जय भुँडी” लेख्दै जाँदा भैरव अर्याललाई पनि भोक लागेछ क्यारे, उने यस्तो लेखेः
“नमो देव्यै महाँ देव्यै सर्व देव्यै नमो नमो नमः ।
आन्द्रा अन्द्री समेतायै भुँडी देव्यै नमो नमः ।।”
यो व्यङ्ग्य मूलक भोक होला । यसले कता कता व्यङ्ग्यको भाइरस छर्याे मैले सबै खोजिन । राधालाई कृष्णको भोक लागे छ क्यार वैष्णवी रुप धारण गरी तिर्थाटनमा लागिछन् । कृष्णलाई राधाको भोक लागेर होला उनी पनि राधा खोज्दै सोह्र हज्जार एक सय आठ गोपीनीलाई जम्मा गर्न पुगेछन्, बुढाका आँटलाई मान्नै पर्छ । म कामना गर्छु, अबको हाम्रो भोक प्रगतिको होस्, उन्नतिको होस् अनि भन्ने गरिएका संमृद्धिको होस् । जय भोक ।

चार आली, झापा