ग्लोबल युवा क्लबद्वारा उर्लाबारी नगरपालिकालाई सहयोग

उर्लाबारी । ग्लोबल युवा क्लब उर्लाबारीले उर्लाबारी नगरपालिकाको विपत व्यवस्थापन कोषमा १० हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।


आज नगर प्रमुख खड्ग फागोलाई क्लबका अध्यक्ष प्रेम याक्खालगायत पदाधिकारीले उक्त रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा क्लबका उपाध्यक्ष जीतेन्द्र गहतराज, सचिव नेत्र आपागाई, प्रमुख सल्लाहकार सर्वजीत भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
ग्लोबल क्लब उर्लाबारीले यसअघि उर्लाबारी–४ का विपन्न परिवारलाई पनि सहयोग गरेको क्लबका सचिव नेत्र आपागाईले बताउनुभयो । नगरपालिको एकद्वार प्रणालीबाट राहत संकलन र वितरण गर्न थालेपछि नगद सहयोग गरिएको प्रमुख सल्लाहकार सर्वजीत भण्डारीले बताउनुभयो ।

मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, १७ लाखको हाराहारी संक्रमित

दमक । विश्वमा कोरोना संक्रमणको संख्या तिव्र गतिमा फैलिरहेको छ । यससँगै विश्वभरमा कोरोना संक्रमण हुनेको संख्या अब १७ लाख हाराहारी पुगेको छ । शनिबार बिहानसम्ममा जम्मा संक्रमितको संख्या १६ लाख ९९ हजार ५८३ पुगेको छ ।


कोरोना संक्रमितको संख्या १७ लाख हाराहारी पुगेसँगै संक्रमणबाट मर्नेहरूको संख्या पनि १ लाख नाघेको छ । भने कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि ३ लाख ७५ हजार भन्दा माथि गएको छ । शनिर बिहानसम्ममा मृत्यु हुनेको जम्मा संख्या १०२७३४ पुगेको छ भने निको हुनेको जम्मा संख्या ३७६३२५ पुगेको छ । यसरी हेर्दा जम्मा संक्रमितको ६.०४ प्रतिश मृत्यु भएको देखिन्छ । त्यस्तै बन्द भइसकेका केशमा भने २१.४४ प्रतिशतको मृत्यु भएको छ र ७८.५६ प्रतिशतले स्वास्थ लाभ गरिसेका छन् ।
अहिले सम्मको अवस्थामा सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरैको मृत्यु इटलीमा भएको छ । अमेरिकामा यो समाचार बनाउँदासम्ममा जम्मा संक्रमितको संख्या ५०२८७६ पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १८७४७ पुगेको छ । दोस्रो नम्बरमा रहेको स्पेनमा जम्मा संक्रमितको संख्या १५८२७३ पुगेको छ भने मृत्यु हुनेको संख्या १६०८१ पुगेको छ ।


स्पेनपछि इटली सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा देखिन्छ । इटलीमा अहिलेसम्म संक्रमितको संख्या १४७५७७ पुगेको छ भने १८८४९ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुनेको दोस्रो नम्बरमा अमेरिका रहेको छ । सबैभन्दा धेरै संक्रमित हुनेको चौँथो नम्बरमा फ्रन्स रहेको छ । फ्रान्समा अहिलेसम्म १२४८६९जनामा संक्रमण पुष्टी भइसकेको छ र १३१९७ जनाको मृत्यु भइसकेको छ । पाँचौँ नम्बरमा रहेको जर्मनीमा अहिलेसम्ममा १२२१७१ जनामा संक्रमण पुष्टी भइसकेको छ भने २७३६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै कोरोनाको उद्गम देश मानिएको चिन छैटौँ नम्बरमा रहेको छ । सातौँ नम्बरमा रहेको बेलायतको मृत्युदर निक्कै उच्च रहेको देखिन्छ । बेलायतमा ७३७५८ जनामा संक्रमण पुष्टी हुँदा मृत्यु हुनेको संख्या ८९५८ गुगेको छ ।
धेरै मृत्यु हुने देशको १ नम्बरमा इटली रहेको छ, दोस्रो अमेरिका रहेको छ भने तेस्रो स्पेन रहेको छ । त्यस्तै चौँथोमा फ्रान्स रहेको छ भने पाँचौमा बेलायत रहेको छ । छौटौँमा इरान रहेको छ र चीन सातौँ स्थानमा रहेको छ ।

छैटौं कोरोना संक्रमित भेटिएका

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।

छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए ।
ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले भने, ‘पछिल्लो संक्रमित पुष्टि भएको विरामी हाम्रोमा भर्ना भएको हो कि अन्तको हो थाहा छैन । हामी खोज्दैछौं ।’

पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।

दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

वडा सचिव पक्राउ

दाङ | घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ । केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दैआएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका २ का वडा सचिव नारायण आचार्यलाई आज जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो ।


स्टाफ नर्स सिर्जना खड्कालाई उहाँका घरबेटी आचार्यले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालेपपछि उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

लकडाउनलाई परिपक्व कसरी बनाउने ?

कोरोनाले आफन्त चिन्दैन । धनीगरिब भन्दैन । ठूलोसानो देख्दैन । राम्रानराम्रा पनि छान्दैन । ऊबेलामा कल्पना गरेको साम्यवाद मानव सभ्यतामा सायदै आउला तर कोरोनाले त्यसलाई पूर्णता दिएको छ । कोरोनाले न सिमाना हेरेको छ, न जात, धर्म, वर्ग र राजनीति नै हेरेको छ । न सम्मान, न ओहोदा, न व्यवसाय, न पेशा ।


नेपाल विकासोन्मुख देश भएकाले विकासका पूर्वाधार पनि राम्रो तयारी भइसकेका छैनन् । त्यसमा पनि देश भ्रष्टाचारको चपेटामा गाँजिएको छ । उच्च ओहोदा र पदमा बसेका हरेक व्यक्ति भ्रष्ट छन्, यसअर्थ कि उनीहरू कसैको भ्रष्टाचारको विषय बाहिर आए, अरु कसैले पनि थाहा नपाए, नसुने जस्तो गर्छन् । राजनैतिक संस्कार यति कमजोर छ कि, मेरो पुस्ताका जति पनि राजनीतिज्ञहरू आउँदैछन्, उनीहरू देशमा केही नयाँ परिवर्तन गर्न, वैचारिक र प्रतिस्पर्धाको राजनीति गर्न आउँदैछनन्, बरु उनीहरू त छड्के बाटोबाट आलिशान जिन्दगी बिताउन नबधनाड्य बन्ने सपना देखेर यो बाटोमा लागेका छन् । मैले यो भन्ने हिम्मत किन पनि गरिरहेको छु भने, मेरो पुस्ताका राजनीतिका अनुयायीहरू आफ्नो पार्टीका अग्रज नेताहरूले जतिसुकै घिन लाग्दो काम गरेको होस्, जतिसुकै ठूलो भ्रष्टाचार गरेको होस्, आलोचना गर्ने हिम्मत गर्दैनन्, आरती गर्छन् । अरुले आलोचना ग¥यो भने त्यसमाथि शत्रुताभाव राख्छन् ।


यस्तो अवस्थामा देशका सबै अंगहरू समानान्तर रुपमा पुरापुर चलायमान हुन सम्भव छैन । एकले अर्कोलाई सहयोग गर्दैन । यस्तो अवस्था भएका कुनैपनि देशहरूमा सरकारी क्षेत्र र निजी क्षेत्रको तालमेल पटक्कै मिल्दैन । यो चरणमा रहेका देशहरूमा सरकार निकट मानिसहरूले नै निजी क्षेत्रको नेतृत्व गर्ने हुनाले निजीक्षेत्र यति बलियो हुन्छ कि यसले सरकारलाई चलाईदिन सक्छ । त्यसैले सरकार त्यसको विपक्षमा जान सक्दैन । खासमा भन्ने हो भने निजी क्षेत्रको पकड राम्रो रहेका देशहरूमा केही मुठ्ठीभरका मानिसहरू धनी हुन्छन् र राज्य भने गरिब हुन्छ । ती मुठ्ठीभरका मान्छेहरूमा पनि अधिकांस नेता र नेता निकट मानिस हुन्छ् ।

यस्ता देशहरूमा कुनै पनि महामारी आयो भने त्यसको नियन्त्रण एउटा चुनौति बन्न सक्छ । नेपाल ठीक यही अवस्थामा छ । नेपालमा विकसित देशमा जस्तो सबै प्रकारका आवश्यकीय सामग्रीको उत्पादन छैन । त्यसमा पनि भूपरिवेष्टित भएकाले सबै कुरा आफ्नो इच्छा अनुसार गर्न पनि सम्भव छैन । सबैकुरा खरिद नै गर्नुपर्ने भएकाले अर्थतन्त्रको ठूलो हिस्सा आयातमै खर्च हुन्छ । यसकारण नेपालमा कुनै पनि महामारी आइहाल्यो भने नियन्त्रण गर्न कठिन मात्रै होइन असम्भव पनि हुनसक्छ । त्यसैले कुनै पनि महामारीलाई आउनै नदिनु सबैभन्दा ठूलो बुद्धिमानी हुने छ । त्यसकै लागि हो लकडाउन । तर लकडाउन खेलाँची जस्तो भने हुनुहुँदैन । कुनै पनि नेताको कार्यकुशलता यस्तैबेलामा देखिने हो । यस्ता आपतकालले नै जन्माउन सक्छ नयाँ नेतृत्व पनि ।

नेपाल लकडाउन त छ तर धेरै जनताले सरकारले हामीलाई लकडाउन गरेर दुःख दियो भन्ने बुझेको पाइन्छ । यो बुझाइ सरासर गलत छ । “सुप्रिम पावर अफ द वर्ल्ड” भनेर गर्व गर्ने देशहरू यही कोरोनाको कारण धरासायी बनिसकेका छन् । कुनै पनि हालतमा लकडाउन नगर्ने भनेर बसेका देशहरू एकचौथाइ जनतामा संक्रमण देखिने भएपछि धमाधम लक डाउन गर्दै छन् । बरु हाम्रो जस्ता विकासशील देशहरूले सुरुमै लकडाउन गरेका कारण महामारी फैलने सम्भावना कम हुनसक्छ । त्यसैले जनताले पनि लकडाउनलाई दुःखको रुपमा भन्दा पनि सहयोगको रुपमा लिएर अन्य समस्याको सामना गर्दै खुसी हुनुको विकल्प छैन ।


लकडाउन भएको छ तर बेलुका ५ बजे सब्जी पसल खोल्ने र सबैजना एकैचोटी सब्जी किन्न जाने हो भने दिनभरि लकडाउनमा बस्नुको के अर्थ ? बेलुका किराना पसल खोल्ने र सबै जना किराना पसलमा एकैचोटी भेला हुने भए लकडाउनको के अर्थ ? जनता गरिब छन्, उनीहरूलाई राहत दिनु छ तर राहतको लागि फारम भर्न वडा कार्यालय बोलाउने र लाइन लगाएर राहत बाँढ्ने हो भने लकडाउनको के अर्थ ? यस्तो खालको लकडाउन झन खतर्नाक हुनसक्छ ।

विश्वको अर्थतन्त्र खस्किरहेको छ यो सत्य हो, तर एउटा मात्रै देशको अर्थतन्त्र डामाडोल भएको होइन । त्यसैले आत्तिनु पर्दैन । आत्तिनु त्यसबेला पर्छ जुन बेला एउटा, दुइटा देशको अर्थतन्त्र डामाडोल भएको हुन्छ र अरु देश झन सम्पन्न भएका हुन्छन् । तर यो बेला संसार समान रुपले स्तब्द छ र समान रुपले उठ्ने छ । कोही पनि आत्तिनु पर्दैन ।

सरकारले योजना बनाउनुपर्छ । सबै जनतालाई घरको चौघेरा भन्दा बाहिर निस्कन दिनु हुँदैन । पूर्ण रुपले सुरक्षाको व्यवस्था गरेर एकद्वार प्रणाली मार्फत प्रत्येक वडामा जनप्रतिनिध, सुरक्षाकर्मी र कर्मचारीहरूको सहायताले घरघरमै अवश्यकीय सामान पुराउने व्यवस्था गरिनुपर्छ । सामान गाडीमा लोड गर्दा होस् अथवा वितरण गर्दा अनिवार्य भाइरस निवारण गर्ने पद्धति अपनाउनुपर्छ । यस्तो अवस्था कि त कोरोनाको भ्याक्सिन आइन्जेलसम्म रहनुपर्छ कि त सामाजिक दुरी कायम गरेर कोरोनाको संक्रमण संसारबाटै शुन्य बनाइन्जेलसम्म रहनुपर्छ । नत्र सिंगो मानवजाति नै डाइनोसरको अवस्थामा पुग्ने छ । हामी सचेत हुन जरुरी छ ।

दमक, झापा

कोरोना कहर र जड बैँकहरू

डिसेम्बरको अन्तिममा जतिबेला चिनको बुहानमा कोरोना पहिलो पटक पत्ता लाग्यो त्यतिबेला कसैले पनि आजको अवस्थाको कल्पनासम्म गरेनन् । चीनमा कोरोनाका बिरामीहरू दिनप्रतिदिन बढ्दै जाँदा विश्वका अरु शक्तिशाली राष्ट्रहरू जो चिनको कुभलो समेत चाहन्छन् उनीहरू चिनलाई खुचिङ परो भनिरहेका थिए । त्यतिबेला पनि उनीहरूलाई लागेको थिएन कि यो भाइरस हो हाम्रो देशमा पनि कुनै न कुनैबेला आउन सक्छ । सबै राष्ट्रहरूले कोरोनालाई भूकम्प, बाढी पहिरो, आँधी अथवा कुनै समुद्री छाल जस्तो मात्रै सोचे । जस्ले जुनठाउँमा उत्पति भयो त्यही ठाउँमा मात्रै बिनाश गर्छ । तर कोरोना त्यस्तो सजिलो भाइरस रहेन, यसले आफ्नो पहुँच संसारभर फैलाइसक्यो । यो अब एउटा निश्चित देशको मात्रै समस्याको रुपमा रहेन । यो त संसारलाई चुनौति दिने एउटा छुट्टै शक्तिको रुपमा विकास भएर आइरहेको छ । अब भने कोरोनाको शक्ति एकापट्टि र सिङ्गो विश्वको शक्ति एकापट्टि भएको छ । विश्वभरमा मानवजातिले उत्पति गरेका कुनै पनि प्रविधी, आविष्कार, खोज र अनुसन्धानहरू कोरोनाका अघि नतमस्तक भएका छन् ।

बुहानमा रहेका नेपालीहरूलाई अपत्कालीन अवस्थामा उद्धार गरेर नेपाल ल्याउँदा हामीले ठुलो गर्व गरेका थियौँ । १४ दिनको क्वारेन्टाइन पुरा गरेर उनीहरू सकुशल घर पुग्दा हामी हर्षले गद्गद भएका थियौँ । हामीलाई लागेको थियो चिनले केही दिनमै यसको औषधी पत्ता लगाउँछ, त्यसै हात बाँधेर त बस्दैन नि । हुन पनि चिन हात बाँधेर त बसेन अरु धेरैथोक गर्यो तर कोरोनाको औषधी पक्ता लगाउन यो अवधीसम्म सफल भएन । भुसको आगो झैँ कोरोना सल्किँदै गयो । अन्य शक्तिशाली राष्ट्रमा पनि आफ्नो पराक्रम उसैगरी देखाइरहेको छ । चिनमा कोरोनाका बिरामीहरू त घटे तर निर्मूल भएका छैनन् । चिनले जनतालाई कडा अनुशासनमा राखेर फैलिन मात्रै नदिएको हो । तर औषधी पक्ता नलागेसम्म चिनमा फेरि पनि फैलिँदैन भन्न सकिने अवस्था चै छैन ।

यसरी फैलने कोरोना कडा अनुशासन भएका राष्ट्रहरूमा केही कम रफ्तार फैलँदै छ भने जहाँ स्वतन्त्रता धेरै छ त्यहाँ कोरोनाको फैलने रफ्तार तिब्र रहेको छ । यसको उदाशरण इटलीलाई लिन सकिन्छ । अर्को कुरा सरकारले हामीलाई केही हुन दिँदैन भन्ने विश्वास भएका देशमा भन्दा सरकारमा विश्वस कम भएका देशमा यसको फैलावट धेरै छ ।

“सरकारले हामीलाई केही हुन दिँदैन” भन्ने आशय कोरोनाले केही गर्ने भन्ने मात्र होइन त्यसमा अरु कुरा धेरै आउँदा रहेछन् । जस्तो कि आपतकालीन अवस्था भयो घरमै बसिरहँदा खान लाउनको खाँचो भए के गर्ने? त्यस्तो बेला सरकारले अभाव हुन दिँदैन, ब्यापार व्यवसाय ठप्प छ, आम्दानी नभएपछि कसरी ऋण तिर्ने, ऋणको ब्याजले डुबाउँछ, यस्तो बेला सरकारले केही गर्छ भन्ने व्यवासायीको दिमागमा छ भने उनीहरू घरैमा बस्न सक्छन् । यसर्थ सरकारप्रति जनता विश्वस्त भएको देशमा कम फैलने निश्चित छ ।


यी सबै प्रसंग उठाउनुको तात्पर्य हो त्रास । त्रास कोरोनाको त छ नै तर सानातिना व्यापारीहरूको दिमागमा त्यो भन्दा पनि ठूलो त्रास छ बैँक । कारोबार भएन भने बैँकको किस्ता कसरी तिर्नु ? कसरी ब्याज भुक्तान गर्नु ?

सरकारले १० गतेबाट सकेसम्म घरबाहिर ननिस्कन र अति आवश्यक नपरी कतै पनि नहिँड्न जनतालाई अनुरोध गरेको थियो । हामीले ९ गतेबाट बाहिर ननिस्कने निर्णय गरेर पसल बन्द गरेर घरैमा बस्यौँ । दिउँसो बुबालाई डेन्टलकोमा लानुपर्ने थियो र चौक जानुपर्ने भयो । मैले जानेका डेन्टलहरू पपुलर डेन्टल, कोशी डेन्टल, सयपत्री डेन्टल र फेमिली डेन्टल हुन् उर्लाबारी चौकका । तर अचम्म लाग्यो, कुनै पनि पसल बन्द छैनन् । सँधैजस्तै सुचारु छन्, मानिसहरूको आवतजावतमा पनि कतै कमी छैन । तर डेन्टल चै सबै बन्द रहेछन् । डेन्टलको बोर्डमा भएका नम्बरमा फोन गर्दा प्राय स्वीच अफ, बल्ल एउटा फोन लागेको पनि काटियो । सरकारले अति आवश्यक पर्ने पसलहरू खुल्ला गर्नु र अरु बन्द गर्नु भनेको छ । त्यसमा स्वास्थ्यसँग सम्बन्धित विषय पनि अति आवश्यकमा पर्छ तर अति आवश्यक चै बन्द छन् अरु चै सबै खाले पसलहरू खुल्ला छन् ।

मैले आश्चार्य लागेर केही पसलवालालाई सोधेँ । जवाफको शैली फरक भए पनि जवाफको भाव एउटै थियो । “बन्द गरेर घरमा बस्दा ऋण केले तिर्नु ? सरकारले तिरिदिन्छ र ?” मेरो पुरानो वाक्यांश यिनीहरूलाई पनि सुनाएँ “ज्यान रहे ज्ञानको काम आउँ छ, त्यसैले ज्यान बचाउनु पहिलो सर्त हो ।”

यति भइसकेपछि मेरो दिमागमा एउटा विषयले घन बजार्यो । मानिसहरूमा कोरोनाको भन्दा पनि ऋणको ठूलो डर छ । सरकारले यो बारेमा सोच्न नभ्याएको हुनसक्छ, सोच्ने समय नमिलेको हुन सक्छ, अथवा सोच्न बाँकी नै पनि हुन सक्छ तर संसारका जति पनि बैँकहरू छन् तिनीहरू सबै ग्राहकलाई लगानी गरेर र ग्राहकबाट अशुली गरेर नै कमाइरहेका छन् । बैँकहरू आफैँमा कुनै प्राणी होइनन् । बैँकहरू पनि कुनै मानिसहरूको समूहरूले संचालन गरेका हुन्छ । मानिसकै समूहले नीति, नियम र कानूनद्वारा तिनीहरूको प्राण बनेको हुन्छ । तर तिनै बैँकहरू आफ्ना प्राणदाता ग्राहकहरूलाई यत्रो आतेश र सकस पर्दा किन चुपचाप छन् ? यस्तो बेलामा त कुनै न कुनै निर्णय गरेर आफ्ना ग्राहकहरूलाई आश्वस्त पर्नु पर्ने होइन र ? उनीहरूले यो आपत्कालीन आस्थाको ब्याज मात्रै छुट गरिदिने हो भने लगभग साठी प्रतिशत जनताहरू घरबाहिर ननिस्कने रहेछन् ।

क्यानडामा सरकाले नै बैँकहरूलाई निर्देशन गरिसकेको छ, यो संक्रमणको अवधीको ब्याज नलिनु । जब ऋणीको कारोबार नियमित हुदैन तबसम्मको लागि यो निर्देशन दिएको छ । त्यतिमात्रै होइन कोठाभाडा समेत त्यो अवधिको मिनाहा गर्न निर्देशन दिइसकेको छ । उता अमेरिकाको सिनेटमा पनि यो विषयको प्रस्ताब गइसकेको छ ।

नेपालमा बैँकहरूको संगठन छ । त्यसमा सबै बैँकहरू सामेल छन् । देशभरका बैँकका ग्राहकहरूको कारोबार शुन्य हुँदै गएपछि पानीबिनाको माछा जस्तै भएका छन् । ग्राहकले तिर्न सकेन भने ग्राहकलाई कालो सूचीमा राख्न सक्ने बैँकहरूले ग्राहलाई आपत पर्दा सहयोगी बन्नु पर्छ कि पर्दैन ? बैँकका अन्नदाता नै ग्राहक हुन् । किन यस्तो बेला जड बनिरहेका छन् ? यस्तो बेलामा बैकहरूले तत्काल केही निर्णय गरेर सरकारलाई सहयोग गर्नुपर्छ कि पर्दैन ? ग्राहकहरूले काम गर्न नपाएर बसेको बेलाको अवधीको पनि बैँकहरूले ब्याज लिनु ग्राहकहरूमाथि अन्याय हुन जान्छ । ग्रहकहरूले यो बिचमा कमाउन नपाउने तर बैँकहरूको भने कमाइ भइरहने ? यो पाटोमा पनि गम्भीर भएर सोच्ने कि ?

ऋण लिनु अभिशाप होइन, ग्राहकले ऋण लिनु भनेको बैँकलाई सहयोग गर्नु हो । त्यसैले बैँकको ऋणी बन्नु अभिशाप नबनोस् ।

सिनेमा हल, खेलस्थल, जीम, डान्स बार तथा क्लब बन्द

काठमाडौं । सरकारले सिनेमा हल, खेलस्थल, जीम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिलसम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।


बुधबार गरिएको निर्णयको २ नं. बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।

निर्णयको १३ नं. बुँदामा होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ ।

साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।