कोरोना कहर र जड बैँकहरू

डिसेम्बरको अन्तिममा जतिबेला चिनको बुहानमा कोरोना पहिलो पटक पत्ता लाग्यो त्यतिबेला कसैले पनि आजको अवस्थाको कल्पनासम्म गरेनन् । चीनमा कोरोनाका बिरामीहरू दिनप्रतिदिन बढ्दै जाँदा विश्वका अरु शक्तिशाली राष्ट्रहरू जो चिनको कुभलो समेत चाहन्छन् उनीहरू चिनलाई खुचिङ परो भनिरहेका थिए । त्यतिबेला पनि उनीहरूलाई लागेको थिएन कि यो भाइरस हो हाम्रो देशमा पनि कुनै न कुनैबेला आउन सक्छ । सबै राष्ट्रहरूले कोरोनालाई भूकम्प, बाढी पहिरो, आँधी अथवा कुनै समुद्री छाल जस्तो मात्रै सोचे । जस्ले जुनठाउँमा उत्पति भयो त्यही ठाउँमा मात्रै बिनाश गर्छ । तर कोरोना त्यस्तो सजिलो भाइरस रहेन, यसले आफ्नो पहुँच संसारभर फैलाइसक्यो । यो अब एउटा निश्चित देशको मात्रै समस्याको रुपमा रहेन । यो त संसारलाई चुनौति दिने एउटा छुट्टै शक्तिको रुपमा विकास भएर आइरहेको छ । अब भने कोरोनाको शक्ति एकापट्टि र सिङ्गो विश्वको शक्ति एकापट्टि भएको छ । विश्वभरमा मानवजातिले उत्पति गरेका कुनै पनि प्रविधी, आविष्कार, खोज र अनुसन्धानहरू कोरोनाका अघि नतमस्तक भएका छन् ।

बुहानमा रहेका नेपालीहरूलाई अपत्कालीन अवस्थामा उद्धार गरेर नेपाल ल्याउँदा हामीले ठुलो गर्व गरेका थियौँ । १४ दिनको क्वारेन्टाइन पुरा गरेर उनीहरू सकुशल घर पुग्दा हामी हर्षले गद्गद भएका थियौँ । हामीलाई लागेको थियो चिनले केही दिनमै यसको औषधी पत्ता लगाउँछ, त्यसै हात बाँधेर त बस्दैन नि । हुन पनि चिन हात बाँधेर त बसेन अरु धेरैथोक गर्यो तर कोरोनाको औषधी पक्ता लगाउन यो अवधीसम्म सफल भएन । भुसको आगो झैँ कोरोना सल्किँदै गयो । अन्य शक्तिशाली राष्ट्रमा पनि आफ्नो पराक्रम उसैगरी देखाइरहेको छ । चिनमा कोरोनाका बिरामीहरू त घटे तर निर्मूल भएका छैनन् । चिनले जनतालाई कडा अनुशासनमा राखेर फैलिन मात्रै नदिएको हो । तर औषधी पक्ता नलागेसम्म चिनमा फेरि पनि फैलिँदैन भन्न सकिने अवस्था चै छैन ।

यसरी फैलने कोरोना कडा अनुशासन भएका राष्ट्रहरूमा केही कम रफ्तार फैलँदै छ भने जहाँ स्वतन्त्रता धेरै छ त्यहाँ कोरोनाको फैलने रफ्तार तिब्र रहेको छ । यसको उदाशरण इटलीलाई लिन सकिन्छ । अर्को कुरा सरकारले हामीलाई केही हुन दिँदैन भन्ने विश्वास भएका देशमा भन्दा सरकारमा विश्वस कम भएका देशमा यसको फैलावट धेरै छ ।

“सरकारले हामीलाई केही हुन दिँदैन” भन्ने आशय कोरोनाले केही गर्ने भन्ने मात्र होइन त्यसमा अरु कुरा धेरै आउँदा रहेछन् । जस्तो कि आपतकालीन अवस्था भयो घरमै बसिरहँदा खान लाउनको खाँचो भए के गर्ने? त्यस्तो बेला सरकारले अभाव हुन दिँदैन, ब्यापार व्यवसाय ठप्प छ, आम्दानी नभएपछि कसरी ऋण तिर्ने, ऋणको ब्याजले डुबाउँछ, यस्तो बेला सरकारले केही गर्छ भन्ने व्यवासायीको दिमागमा छ भने उनीहरू घरैमा बस्न सक्छन् । यसर्थ सरकारप्रति जनता विश्वस्त भएको देशमा कम फैलने निश्चित छ ।


यी सबै प्रसंग उठाउनुको तात्पर्य हो त्रास । त्रास कोरोनाको त छ नै तर सानातिना व्यापारीहरूको दिमागमा त्यो भन्दा पनि ठूलो त्रास छ बैँक । कारोबार भएन भने बैँकको किस्ता कसरी तिर्नु ? कसरी ब्याज भुक्तान गर्नु ?

सरकारले १० गतेबाट सकेसम्म घरबाहिर ननिस्कन र अति आवश्यक नपरी कतै पनि नहिँड्न जनतालाई अनुरोध गरेको थियो । हामीले ९ गतेबाट बाहिर ननिस्कने निर्णय गरेर पसल बन्द गरेर घरैमा बस्यौँ । दिउँसो बुबालाई डेन्टलकोमा लानुपर्ने थियो र चौक जानुपर्ने भयो । मैले जानेका डेन्टलहरू पपुलर डेन्टल, कोशी डेन्टल, सयपत्री डेन्टल र फेमिली डेन्टल हुन् उर्लाबारी चौकका । तर अचम्म लाग्यो, कुनै पनि पसल बन्द छैनन् । सँधैजस्तै सुचारु छन्, मानिसहरूको आवतजावतमा पनि कतै कमी छैन । तर डेन्टल चै सबै बन्द रहेछन् । डेन्टलको बोर्डमा भएका नम्बरमा फोन गर्दा प्राय स्वीच अफ, बल्ल एउटा फोन लागेको पनि काटियो । सरकारले अति आवश्यक पर्ने पसलहरू खुल्ला गर्नु र अरु बन्द गर्नु भनेको छ । त्यसमा स्वास्थ्यसँग सम्बन्धित विषय पनि अति आवश्यकमा पर्छ तर अति आवश्यक चै बन्द छन् अरु चै सबै खाले पसलहरू खुल्ला छन् ।

मैले आश्चार्य लागेर केही पसलवालालाई सोधेँ । जवाफको शैली फरक भए पनि जवाफको भाव एउटै थियो । “बन्द गरेर घरमा बस्दा ऋण केले तिर्नु ? सरकारले तिरिदिन्छ र ?” मेरो पुरानो वाक्यांश यिनीहरूलाई पनि सुनाएँ “ज्यान रहे ज्ञानको काम आउँ छ, त्यसैले ज्यान बचाउनु पहिलो सर्त हो ।”

यति भइसकेपछि मेरो दिमागमा एउटा विषयले घन बजार्यो । मानिसहरूमा कोरोनाको भन्दा पनि ऋणको ठूलो डर छ । सरकारले यो बारेमा सोच्न नभ्याएको हुनसक्छ, सोच्ने समय नमिलेको हुन सक्छ, अथवा सोच्न बाँकी नै पनि हुन सक्छ तर संसारका जति पनि बैँकहरू छन् तिनीहरू सबै ग्राहकलाई लगानी गरेर र ग्राहकबाट अशुली गरेर नै कमाइरहेका छन् । बैँकहरू आफैँमा कुनै प्राणी होइनन् । बैँकहरू पनि कुनै मानिसहरूको समूहरूले संचालन गरेका हुन्छ । मानिसकै समूहले नीति, नियम र कानूनद्वारा तिनीहरूको प्राण बनेको हुन्छ । तर तिनै बैँकहरू आफ्ना प्राणदाता ग्राहकहरूलाई यत्रो आतेश र सकस पर्दा किन चुपचाप छन् ? यस्तो बेलामा त कुनै न कुनै निर्णय गरेर आफ्ना ग्राहकहरूलाई आश्वस्त पर्नु पर्ने होइन र ? उनीहरूले यो आपत्कालीन आस्थाको ब्याज मात्रै छुट गरिदिने हो भने लगभग साठी प्रतिशत जनताहरू घरबाहिर ननिस्कने रहेछन् ।

क्यानडामा सरकाले नै बैँकहरूलाई निर्देशन गरिसकेको छ, यो संक्रमणको अवधीको ब्याज नलिनु । जब ऋणीको कारोबार नियमित हुदैन तबसम्मको लागि यो निर्देशन दिएको छ । त्यतिमात्रै होइन कोठाभाडा समेत त्यो अवधिको मिनाहा गर्न निर्देशन दिइसकेको छ । उता अमेरिकाको सिनेटमा पनि यो विषयको प्रस्ताब गइसकेको छ ।

नेपालमा बैँकहरूको संगठन छ । त्यसमा सबै बैँकहरू सामेल छन् । देशभरका बैँकका ग्राहकहरूको कारोबार शुन्य हुँदै गएपछि पानीबिनाको माछा जस्तै भएका छन् । ग्राहकले तिर्न सकेन भने ग्राहकलाई कालो सूचीमा राख्न सक्ने बैँकहरूले ग्राहलाई आपत पर्दा सहयोगी बन्नु पर्छ कि पर्दैन ? बैँकका अन्नदाता नै ग्राहक हुन् । किन यस्तो बेला जड बनिरहेका छन् ? यस्तो बेलामा बैकहरूले तत्काल केही निर्णय गरेर सरकारलाई सहयोग गर्नुपर्छ कि पर्दैन ? ग्राहकहरूले काम गर्न नपाएर बसेको बेलाको अवधीको पनि बैँकहरूले ब्याज लिनु ग्राहकहरूमाथि अन्याय हुन जान्छ । ग्रहकहरूले यो बिचमा कमाउन नपाउने तर बैँकहरूको भने कमाइ भइरहने ? यो पाटोमा पनि गम्भीर भएर सोच्ने कि ?

ऋण लिनु अभिशाप होइन, ग्राहकले ऋण लिनु भनेको बैँकलाई सहयोग गर्नु हो । त्यसैले बैँकको ऋणी बन्नु अभिशाप नबनोस् ।