लकडाउनलाई परिपक्व कसरी बनाउने ?

कोरोनाले आफन्त चिन्दैन । धनीगरिब भन्दैन । ठूलोसानो देख्दैन । राम्रानराम्रा पनि छान्दैन । ऊबेलामा कल्पना गरेको साम्यवाद मानव सभ्यतामा सायदै आउला तर कोरोनाले त्यसलाई पूर्णता दिएको छ । कोरोनाले न सिमाना हेरेको छ, न जात, धर्म, वर्ग र राजनीति नै हेरेको छ । न सम्मान, न ओहोदा, न व्यवसाय, न पेशा ।


नेपाल विकासोन्मुख देश भएकाले विकासका पूर्वाधार पनि राम्रो तयारी भइसकेका छैनन् । त्यसमा पनि देश भ्रष्टाचारको चपेटामा गाँजिएको छ । उच्च ओहोदा र पदमा बसेका हरेक व्यक्ति भ्रष्ट छन्, यसअर्थ कि उनीहरू कसैको भ्रष्टाचारको विषय बाहिर आए, अरु कसैले पनि थाहा नपाए, नसुने जस्तो गर्छन् । राजनैतिक संस्कार यति कमजोर छ कि, मेरो पुस्ताका जति पनि राजनीतिज्ञहरू आउँदैछन्, उनीहरू देशमा केही नयाँ परिवर्तन गर्न, वैचारिक र प्रतिस्पर्धाको राजनीति गर्न आउँदैछनन्, बरु उनीहरू त छड्के बाटोबाट आलिशान जिन्दगी बिताउन नबधनाड्य बन्ने सपना देखेर यो बाटोमा लागेका छन् । मैले यो भन्ने हिम्मत किन पनि गरिरहेको छु भने, मेरो पुस्ताका राजनीतिका अनुयायीहरू आफ्नो पार्टीका अग्रज नेताहरूले जतिसुकै घिन लाग्दो काम गरेको होस्, जतिसुकै ठूलो भ्रष्टाचार गरेको होस्, आलोचना गर्ने हिम्मत गर्दैनन्, आरती गर्छन् । अरुले आलोचना ग¥यो भने त्यसमाथि शत्रुताभाव राख्छन् ।


यस्तो अवस्थामा देशका सबै अंगहरू समानान्तर रुपमा पुरापुर चलायमान हुन सम्भव छैन । एकले अर्कोलाई सहयोग गर्दैन । यस्तो अवस्था भएका कुनैपनि देशहरूमा सरकारी क्षेत्र र निजी क्षेत्रको तालमेल पटक्कै मिल्दैन । यो चरणमा रहेका देशहरूमा सरकार निकट मानिसहरूले नै निजी क्षेत्रको नेतृत्व गर्ने हुनाले निजीक्षेत्र यति बलियो हुन्छ कि यसले सरकारलाई चलाईदिन सक्छ । त्यसैले सरकार त्यसको विपक्षमा जान सक्दैन । खासमा भन्ने हो भने निजी क्षेत्रको पकड राम्रो रहेका देशहरूमा केही मुठ्ठीभरका मानिसहरू धनी हुन्छन् र राज्य भने गरिब हुन्छ । ती मुठ्ठीभरका मान्छेहरूमा पनि अधिकांस नेता र नेता निकट मानिस हुन्छ् ।

यस्ता देशहरूमा कुनै पनि महामारी आयो भने त्यसको नियन्त्रण एउटा चुनौति बन्न सक्छ । नेपाल ठीक यही अवस्थामा छ । नेपालमा विकसित देशमा जस्तो सबै प्रकारका आवश्यकीय सामग्रीको उत्पादन छैन । त्यसमा पनि भूपरिवेष्टित भएकाले सबै कुरा आफ्नो इच्छा अनुसार गर्न पनि सम्भव छैन । सबैकुरा खरिद नै गर्नुपर्ने भएकाले अर्थतन्त्रको ठूलो हिस्सा आयातमै खर्च हुन्छ । यसकारण नेपालमा कुनै पनि महामारी आइहाल्यो भने नियन्त्रण गर्न कठिन मात्रै होइन असम्भव पनि हुनसक्छ । त्यसैले कुनै पनि महामारीलाई आउनै नदिनु सबैभन्दा ठूलो बुद्धिमानी हुने छ । त्यसकै लागि हो लकडाउन । तर लकडाउन खेलाँची जस्तो भने हुनुहुँदैन । कुनै पनि नेताको कार्यकुशलता यस्तैबेलामा देखिने हो । यस्ता आपतकालले नै जन्माउन सक्छ नयाँ नेतृत्व पनि ।

नेपाल लकडाउन त छ तर धेरै जनताले सरकारले हामीलाई लकडाउन गरेर दुःख दियो भन्ने बुझेको पाइन्छ । यो बुझाइ सरासर गलत छ । “सुप्रिम पावर अफ द वर्ल्ड” भनेर गर्व गर्ने देशहरू यही कोरोनाको कारण धरासायी बनिसकेका छन् । कुनै पनि हालतमा लकडाउन नगर्ने भनेर बसेका देशहरू एकचौथाइ जनतामा संक्रमण देखिने भएपछि धमाधम लक डाउन गर्दै छन् । बरु हाम्रो जस्ता विकासशील देशहरूले सुरुमै लकडाउन गरेका कारण महामारी फैलने सम्भावना कम हुनसक्छ । त्यसैले जनताले पनि लकडाउनलाई दुःखको रुपमा भन्दा पनि सहयोगको रुपमा लिएर अन्य समस्याको सामना गर्दै खुसी हुनुको विकल्प छैन ।


लकडाउन भएको छ तर बेलुका ५ बजे सब्जी पसल खोल्ने र सबैजना एकैचोटी सब्जी किन्न जाने हो भने दिनभरि लकडाउनमा बस्नुको के अर्थ ? बेलुका किराना पसल खोल्ने र सबै जना किराना पसलमा एकैचोटी भेला हुने भए लकडाउनको के अर्थ ? जनता गरिब छन्, उनीहरूलाई राहत दिनु छ तर राहतको लागि फारम भर्न वडा कार्यालय बोलाउने र लाइन लगाएर राहत बाँढ्ने हो भने लकडाउनको के अर्थ ? यस्तो खालको लकडाउन झन खतर्नाक हुनसक्छ ।

विश्वको अर्थतन्त्र खस्किरहेको छ यो सत्य हो, तर एउटा मात्रै देशको अर्थतन्त्र डामाडोल भएको होइन । त्यसैले आत्तिनु पर्दैन । आत्तिनु त्यसबेला पर्छ जुन बेला एउटा, दुइटा देशको अर्थतन्त्र डामाडोल भएको हुन्छ र अरु देश झन सम्पन्न भएका हुन्छन् । तर यो बेला संसार समान रुपले स्तब्द छ र समान रुपले उठ्ने छ । कोही पनि आत्तिनु पर्दैन ।

सरकारले योजना बनाउनुपर्छ । सबै जनतालाई घरको चौघेरा भन्दा बाहिर निस्कन दिनु हुँदैन । पूर्ण रुपले सुरक्षाको व्यवस्था गरेर एकद्वार प्रणाली मार्फत प्रत्येक वडामा जनप्रतिनिध, सुरक्षाकर्मी र कर्मचारीहरूको सहायताले घरघरमै अवश्यकीय सामान पुराउने व्यवस्था गरिनुपर्छ । सामान गाडीमा लोड गर्दा होस् अथवा वितरण गर्दा अनिवार्य भाइरस निवारण गर्ने पद्धति अपनाउनुपर्छ । यस्तो अवस्था कि त कोरोनाको भ्याक्सिन आइन्जेलसम्म रहनुपर्छ कि त सामाजिक दुरी कायम गरेर कोरोनाको संक्रमण संसारबाटै शुन्य बनाइन्जेलसम्म रहनुपर्छ । नत्र सिंगो मानवजाति नै डाइनोसरको अवस्थामा पुग्ने छ । हामी सचेत हुन जरुरी छ ।

दमक, झापा